काठमाडौँ, ५ साउन । प्रतिनिधिसभाको आइतबार बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएका छन् ।
संसद्मा कुनै पनि दलको बहुमत नभएको अवस्थामा दुई वा सोभन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले पदमा नियुक्त भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
आइतबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक राखिएको छ । उक्त दिनको बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न प्रधानमन्त्री ओलीले यही असार २ गते सङ्घीय संसद् सचिवालयलाई पत्राचार गरिसकेका छन् ।
नेपालको संविधानको धारा ७६ को उपधार (२) बमोजिम नियुक्त प्रधानमन्त्रीले धारा ७६ को उपधारा (४) बमोजिम त्यसरी नियुक्त गरिएको मितिले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान रहेको छ ।
नेपाली कांग्रेस र नेकपा (एमाले) बीच गत असार १७ गतेको सहमतिका आधारमा एमालेका अध्यक्ष ओलीले नेपालको संविधानको धारा ७६ (२) बमोजिम गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।
दुई ठूला दलबीचको सहमतिपछि अल्पमतमा परेका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले गत असार २८ गतेको संसद् बैठकमा विश्वासमा मत प्राप्त गर्न सकेनन् । नयाँ प्रधानमन्त्री ओलीको पक्षमा नेपाली कांग्रेस, नेकपा एमालेसहित अधिकांश दलले विश्वासको मत दिने देखिएको छ ।
विपक्षमा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) ले रहने बताइसकेका छन् ।
एमालेले आफ्ना अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको विश्वासको मतदान हुने दिन अनिवार्य उपस्थित हुन र पक्षमा मत दिन ह्विप जारी गरिसकेको छ ।
सोही विषयमा निर्णय लिन नेपाली कांग्रेस संसदीय दलको बैठक आइतबार बिहान बस्दैछ ।
View : 96
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved