Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

कोशीमा सवारी दुर्घटना १४ प्रतिशतले बृद्धि

प्रदेशका १४ जिल्लामा गत आर्थिक वर्ष ६ हजार ४१२ वटा सवारी दुर्घटना भएका छन् । यो अघिल्लो वर्षको ५ हजार ६२६ दुर्घटनाभन्दा ७८६ बढी हो ।  दुर्घटनामा मृत्यु हुनेको संख्या ४४० पुगेको छ, जुन अघिल्लो वर्षको ४१८ जनाभन्दा २२ अर्थात ५ प्रतिशत बढी हो ।
उद्‌घोष संवाददाता
४ साउन २०८३, सोमवार

Advertisement

सुनसरी । कोशी प्रदेशमा आर्थिक वर्ष २०८२–८३ मा सवारी दुर्घटना उल्लेख्य रूपमा बढेको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा दुर्घटनाको संख्या १४ प्रतिशतले बढेको छ । 

दुर्घटना बढेसँगै मानवीय क्षति पनि बढेको देखिएको छ । प्रदेशका १४ जिल्लामा गत आर्थिक वर्ष ६ हजार ४१२ वटा सवारी दुर्घटना भएका छन् । यो अघिल्लो वर्षको ५ हजार ६२६ दुर्घटनाभन्दा ७८६ बढी हो । 
दुर्घटनामा मृत्यु हुनेको संख्या ४४० पुगेको छ, जुन अघिल्लो वर्षको ४१८ जनाभन्दा २२ अर्थात ५ प्रतिशत बढी हो । 

घाइते हुनेको संख्या पनि ९ हजार २४१ बाट बढेर १० हजार ६८७ पुगेको छ । अर्थात् घाइते १ हजार ४४६ जना बढ्दा १६ प्रतिशतले बढेका छन् । तथ्यांकले सबै जिल्लामा समान अवस्था नरहेको देखाएको छ । 

दुर्घटनाको संख्या सबैभन्दा धेरै उदयपुरमा ५७ प्रतिशतले बढेको छ । ३ सय दुर्घटनाबाट बढेर ४ सय ७० पुगेको छ । 

त्यसपछि इलाममा ४८ प्रतिशत, खोटाङमा ३८ प्रतिशत, पाँचथरमा ३२ प्रतिशत र ताप्लेजुङमा २९ प्रतिशतले दुर्घटना बढेको छ । प्रदेशकै सबैभन्दा धेरै दुर्घटना हुने झापामा भने १ हजार २९६ बाट १ हजार ५१२ पुगेको छ । 

संख्या धेरै भए पनि वृद्धि दर १७ प्रतिशत छ । 

मोरङमा ९ प्रतिशत र सुनसरीमा ८ प्रतिशतले दुर्घटना बढेको देखिन्छ । यी तीन जिल्लाले प्रदेशका कुल दुर्घटनाको ठूलो हिस्सा ओगटेका छन्, जसले पूर्व–पश्चिम राजमार्ग र घना सवारी चापको प्रभाव झल्काएको कोशी प्रदेस टाफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । 

दुर्घटना घटेका जिल्लामा धनकुटा, भोजपुर र तेह्रथुम छन् । धनकुटामा दुर्घटना १६ प्रतिशत, भोजपुरमा ५७ प्रतिशत र तेह्रथुममा ९ प्रतिशतले घटेको छ । ओखलढुंगामा पनि ११ प्रतिशतले कमी आएको छ । 

मानिसको मृत्युका हिसाबले सबैभन्दा ठूलो वृद्धि पाँचथरमा देखिएको छ । त्यहाँ मृत्यु संख्या ५ बाट १३ पुगेको छ, अर्थात् १६० प्रतिशत वृद्धि भएको छ । सोलुखुम्बुमा ७५ प्रतिशत, उदयपुरमा ३९ प्रतिशत, सुनसरीमा ३२ प्रतिशत र खोटाङमा ३३ प्रतिशतले मृत्यु बढेको छ । 

विपरीत रूपमा झापा, मोरङ, धनकुटा र भोजपुरमा मृत्यु घटेको छ । झापामा ७७ बाट ५९ मा झर्दै १९ प्रतिशतले कमी आएको छ भने मोरङमा ७ प्रतिशत, धनकुटामा ३१ प्रतिशत र भोजपुरमा ४० प्रतिशतले मृत्यु घटेको तथ्यांकले देखाएको छ । 

यसले दुर्घटना बढे पनि केही जिल्लामा दुर्घटनापछिको उद्धार, उपचार र सुरक्षाका उपाय प्रभावकारी बन्दै गएको संकेत गरेको कोशी प्रदेस ट्राफिक प्रहरी कार्यलयका प्रहरी उपरीक्षक दीपक गिरीले बताए । 

घाइते हुनेको संख्या पनि अधिकांश जिल्लामा बढेको छ । उदयपुरमा ४३ प्रतिशत, ताप्लेजुङमा १०३ प्रतिशत, झापामा २४ प्रतिशत र सुनसरीमा १२ प्रतिशतले घाइते बढेका छन् । 

प्रदेशकै सबैभन्दा धेरै २ हजार ४३५ जना सुनसरीमा घाइते भएका छन् भने झापामा २ हजार ५६९ र मोरङमा २ हजार ४५५ जना घाइते भएका छन् । 

तथ्यांकले कोशी प्रदेशमा दुर्घटनाको संख्या मात्र होइन, त्यसबाट हुने मानवीय क्षति पनि बढ्दो क्रममा रहेको स्पष्ट देखाएको छ । 

विशेषगरी राजमार्ग केन्द्रित जिल्लामा दुर्घटना निरन्तर बढिरहेकाले ती क्षेत्रमा सवारी गति नियन्त्रण, चालक अनुशासन, सडक पूर्वाधार सुधार र प्रभावकारी ट्राफिक व्यवस्थापनलाई अझ कडाइका साथ लागू गर्न सबै पक्षको समन्वय आवश्यक रहेको टाफिक प्रहरी उपरीक्षक गिरीले बताए ।

View : 39

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved