Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

दोस्रो बेलबारी महोत्सव शुक्रबारदेखि

उद्‌घोष संवाददाता
२४ पुष २०८२, बिहिवार

बेलबारी । मोरङको बेलबारीमा ‘दोस्रो बेलबारी महोत्सव–२०८२’ आयोजना हुने भएको छ । 

बेलबारी उद्योग वाणिज्य संघको पहलमा सञ्चालन हुने महोत्सव आगामी पुस २५ गतेदेखि माघ ५ गतेसम्म चल्नेछ । 

बेलबारीमा बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत संघले महोत्सवको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।

‘स्थानीय उत्पादनलाई प्राथमिकता–स्वावलम्बी अर्थतन्त्रको आधार’ भन्ने मूल नारासहित आयोजना हुन लागेको महोत्सवले स्थानीय व्यापार, उत्पादन र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । 

महोत्सवको उद्घाटन कार्यक्रम पुस २५ गते दिउँसो १ बजे कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने तय भएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै संघका महासचिव विवेक मिश्रले महोत्सवमा करिब तीन लाख भन्दाबढी दर्शक सहभागी हुने अनुमान गरिएको बताए ।

उनका अनुसार आर्थिक हिसाबले पनि महोत्सव सफल हुने अपेक्षा गरिएको छ । आयोजकका अनुसार महोत्सवबाट करिब १ करोड ६७ लाख रुपैयाँ आम्दानी हुने अनुमान छ भने करिब १ करोड २७ लाख रुपैयाँ खर्च हुने प्रक्षेपण गरिएको छ ।

महोत्सवबाट बचत हुने करिब ४० लाख रुपैयाँ बेलबारी उद्योग वाणिज्य संघको आफ्नै भवनको माथिल्लो तलामा बहुउद्देश्यीय सभाहल निर्माणमा खर्च गरिने संघले जनाएको छ ।

महोत्सवस्थलमा कूल ६३ वटा स्टल रहने छन् । 

संघका कार्यवाहक अध्यक्ष सन्दीप राईका अनुसार स्टलहरूमा विशेष रूपमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइनेछ । 

कृषि तथा पशुपक्षीजन्य सामग्री, औद्योगिक उत्पादन, हस्तकलाका सामग्रीका साथै दुई पांग्रे र चार पांग्रे सवारी साधनसम्बन्धी स्टलहरू महोत्सवका मुख्य आकर्षण रहनेछन् । आगन्तुकहरूका लागि विभिन्न परिकार उपलब्ध गराउने होटल तथा रेस्टुरेन्टका स्टलहरू पनि राखिनेछन् ।

महोत्सव अवधिभर दैनिक रूपमा राष्ट्रिय तथा स्थानीयस्तरका चर्चित कलाकार, सांगीतिक व्याण्ड र विभिन्न सांस्कृतिक समूहहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ । 

कोशी प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्ष २०८२ लाई सफल बनाउन महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको दाबी छ । 

आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै बेलबारी र आसपासका पर्यटकीय क्षेत्रहरूको प्रवद्र्धनमा महोत्सवले सेतुको काम गर्ने कार्यवाहक अध्यक्ष राईले बताए ।

साथै, कृषि तथा औद्योगिक क्षेत्रको यान्त्रिकीकरण र व्यवसायीकरणमा समेत महोत्सवले सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

महोत्सवको मुख्य प्रायोजकका रूपमा आरजु राइस मिल बेलबारी रहेको छ भने चौधरी ग्रुपको एक्सट्रिम इनर्जी ड्रिङ्क, पीएलओ र द रिभर ओभरसिज सह–प्रायोजक रहेका छन् । 

पत्रकार सम्मेलनमा संघका पदाधिकारीहरूले महोत्सवले बेलबारीको आर्थिक गतिविधि चलायमान बनाउने र स्थानीय  व्यवसायीहरूको मनोबल उच्च राख्ने विश्वास व्यक्त गरेका छन् ।

View : 82

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved