Biratnagar, Morang, Nepal
२० चैत २०८१, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

मोरङका १० क्याम्पसमा स्ववियु निर्वाचन

अखिल क्रान्तिकारीको उत्साहजनक आगमन, महेन्द्र मोरङसहित ५ क्याम्पसमा विजयी

उद्‌घोष सम्वाददाता
७ चैत २०८१, बिहिवार

विराटनगर । मंगलबार मोरङका १० वटा क्याम्पसमा सम्पन्न भएको स्ववियु निर्वाचनको मतगणना अन्तिमतिर आइपुग्दा नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले उत्साहजनक परिणाम निकालेको छ । त्रिभुवन विश्वविद्यालय अन्तरगतका ३ वटै आंगिक क्याम्पसको नेतृत्व क्रान्तिकारीले जितेको छ ।

२०७९ को स्ववियु निर्वाचनमा पूर्वकै महत्वपूर्ण इतिहास बोकेको विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पससहित चारवटा क्याम्पसको सभापति जितेको नेविसंघ यसपटक चर्को झल्नु परेको छ । 

बिहीबार विहान सार्वजनिक अन्तिम मतपरिणाम अनुसार महेन्द्र मोरङमा अखिल क्रान्तिकारीका रोहित यादवले ४३ मत अन्तरले पराजित गर्दै सभापतिमा निर्वाचित भए । यादवले १ हजार ११८ मत प्राप्त गरेका छन् । बिष्टले १ हजार ७५ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

नेविसंघका सभापतिका उम्मेदवार बिष्ट र क्रान्तिकारीका यादवबीच बुधबार दिनभर चलेको मतगणनाका क्रममा उछिनपाछिन चलिरहेको थियो । सुरुवाती अग्रता कायम गरेका क्रान्तिकारीका यादवलाई पछि पार्दै नेविसंघका बिष्टले अग्रता बढाएपनि अन्तिममा उनी पराजित भएका हुन् ।

महेन्द्र मोरङको सचिव र कोषाध्यक्षसहित प्रत्यक्षतर्फका अधिकांश पदमा भने नेविसंघ निर्वाचित भएको छ । सचिवमा नेविसंघका सुदिक्षा थापा मगर निर्वाचित भइन् । कोषाध्यक्षमा पनि नेविसंघकै रोसन कुमार पासवान निर्वाचित भए । 

प्रत्यक्षतर्फ सदस्यमा क्रान्तिकारीका गौतम कुमार मण्डल बाहेक सवै सदस्य नेविसंघले जितेको हो ।

सदस्यहरूमा मो.साहिन, कौशलकुमार साह, सुसान्त बस्नेत, नविन बाबु तिवारी, रक्षक सुवेदी, एन्जिला काफ्ले र रामदत्त कुमार मेहता निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

एमाले निकट अनेरास्ववियुले एउटा पनि प्रत्यक्ष सिट जित्न सकेन ।

क्रान्तिकारीले विराटनगरका दुईवटा प्रमुख क्याम्पसहरू डिग्री क्याम्पस र विराटनगर नर्सिङ क्याम्पसको नेतृत्व पनि जितेको छ । 

निर्वाचन भएका ५ वटा सामुदायिक क्याम्पसमा अखिल क्रान्तिकारीले दुईवटा क्याम्पसको नेतृत्व जितेको हो । 

२०७९ को स्ववियु निर्वाचनमा केराबारीस्थित खदम क्याम्पसमा प्यानलै निर्विरोध घोषणा भएपछि सान्त्वना पाएको अखिल क्रान्तिकारीले यसपटक पाँचवटा क्याम्पसमा प्रतिष्पर्धाबाट सभापति जितेको हो ।

डिग्री क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका प्रीतम साह निर्वाचित भएका छन् । साहको प्यानलका प्रायः सबै पद अखिल क्रान्तिकारीले जितेको हो । डिग्री क्याम्पसमा एमाले निकट अनेरास्ववियुबाट एउटा सदस्यमा श्रुति घिमिरे निर्वाचित भएकी छन् ।

त्यस्तै विराटनगर नर्सिङ क्याम्पसको सभापतिमा पनि अखिल क्रान्तिकारीका रोहित ताजपुरिया निर्वाचित भएका छन् । उनले एमाले निकट अनेरास्ववियु र कांग्रेस निकट नेविसंघका उम्मेदवारलाई पराजित गर्न सफल भएका हुन् ।

नर्सिङ क्याम्पसको सचिवमा भने नेविसंघका सम्मान ढकाल निर्वाचित भएका छन् । कोषाध्यक्षमा एमाले निकट अनेरास्ववियुकी कृतिका कटुवाल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । 

सामुदायिकतर्फ अखिल क्रान्तिकारीले रमाइलो बहुमुखी क्याम्पस र मिक्लाजुङ बहुमुखी क्याम्पसको नेतृत्व पनि जितेको छ ।

रमाइलो क्याम्पसको सभापतिमा अनिश कार्की एक भोटको अन्तरले निर्वाचित भए । मिक्लाजुङ क्याम्पसमा सुजन घिमिरे नेतृत्वको संयुक्त प्यानलै निर्वाचित भएको हो । घिमिरेलाई चुनाव जित्नका लागि एमाले निकट अनेरास्ववियुले सघाएको थियो । त्यस वापत अनेरास्ववियुले उपाध्यक्ष, सचिव र कोषाध्यक्ष लगायतका पद लिएको जनाइएको छ ।

दुई क्याम्पसमा अनेरास्ववियु विजयी

२०७९ को स्ववियु निर्वाचनमा विराटनगरको डिग्री क्याम्पस, विराटनगर नर्सिङ क्याम्पस, रमाइलो क्याम्पस र लेटाङ क्याम्पससहित चारवटा क्याम्पसको सभापति जितेको एमाले निकट अनेरास्ववियु यसपटक दुई वटामा खुम्चिएको छ । 

अनेरास्ववियुले यस पटक सुकुना बहुमुखी क्याम्पस र केराबारीस्थित खदम क्याम्पसको सभापतिसहितका महत्वपूर्ण पद जितेको हो । 

सुकुनामा एलिस ओझा र खदममा संगम कन्दङ्वा सभापतिमा निर्वाचित भएका हुन् । 

त्यस्तै नेविसंघबाट लेटाङ बहुमुखी क्याम्पसको सभापतिमा लेखनाथ दाहाल निर्वाचित भएका छन् । नेविसंघबाटै उर्लाबारी बहुमुखी क्याम्पसमा पोषण आचार्य र पथरी बहुमुखी क्याम्पसमा केशर राई सभापतिमा सर्वसम्मत भइसकेका छन् ।

अब बेलबारी क्याम्पसमा निर्वाचन हुन बाँकी छ । चैत ९ गतेका लागि त्यहाँ निर्वाचन तय भइसकेको जनाइएको छ ।

View : 751

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved