कांकडभिट्टा–लौकही सडकलाई एसियन मापदण्डको बनाउने काम अन्तर्गत झापाको दमकमा सडक साइड क्लियरेन्सको काम हुँदै । तस्वीर: उद्घोष
विराटनगर । झापाको काँकडभिट्टादेखि लौकहीसम्मको सडक विस्तारको काम सुरु भएको छ ।
एसियाली विकास बैंक(एडीबी) र एसियाली इन्फास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआईईबी) को कुल ४६ अर्ब रुपैयाँ लागतमा पूर्व–पश्चिम राजमार्ग विस्तार गर्ने योजनाअनुसार दुई लेनको सडकलाई चार लेनमा विस्तार गर्ने काम सुरु भएको हो ।
कुल ९६ किलोमिटर सडक निर्माणका लागि प्रतिकिलोमिटर करिब ४७ करोड रुपैयाँ पर्ने देखिन्छ । सडक विस्तार कार्यलाई तीन खण्डमा विभाजन गरेर निर्माणका लागि ठेक्का आह्वान गरिएको छ ।
यस अन्तर्गत सडक खण्डमा पर्ने ६ वटा पुल निर्माणसमेतको काम रहेको छ । यसको पहिलो खण्डमा निन्दा, बिरिङ र कन्काई नदी प्रमुख रहेका छन् ।
यस्तै दोस्रो खण्डमा रतुवा, बक्राहा र लोहन्द्रा पुल निर्माणका लागि पनि ठेक्का आह्वान गरिएको छ । आयोजनाका अनुसार सडक विस्तार कार्य तीन वर्षमा सम्पन्न हुने बताइएको छ ।
राजमार्गको केन्द्रबाट २५–२५ मिटरले सडकको स्तरोन्नति हुनेछ । सडकलाई तीन भागमा विभाजित गरिएको छ ।
जसमा ग्रामीण तथा वन क्षेत्रमा २४ मिटर, अर्ध शहरी क्षेत्रमा ३३ मिटर र शहरी क्षेत्रमा सर्भिस लेनसहित ५० मिटर चौडाइको सडक क्षेत्र हुने काँकडभिट्टादेखि लौकही सडक पूर्व खण्ड आयोजना दमक कार्यालयका इन्जिनियर आशीष देवले बताए ।
इन्जिनियर देवका अनुसार सडक विस्तार गर्दा सडक क्षेत्रमा पर्ने रुख कटानको लागि पहिलो चरणमा झापाबाट रुखको नम्बरिङ र मूल्याङ्कनको काम सुरु भएको छ ।
त्यसैगरी ‘साइड क्लियरेन्स’को काम पनि एकै साथ भइरहेको आयोजनाले जनाएको छ । सडक विस्तारको काम यही आर्थिक वर्षबाट सुरु भएको हो ।
पूर्वी खण्डको ठेक्का अजरबैजानको कम्पनी युरो एसियन कन्स्ट्रक्सन कर्पोटले पाएको छ । उसले १० अर्ब रुपैयाँमा ४५ किलोमिटर सडक निर्माणको काम गर्ने गरी ठेक्का पाएको छ ।
अजरबैजानको कम्पनीसँग कालिका कन्स्ट्रक्सन ज्वाइन्ट भेन्चर रहेको छ । यस्तै पूर्वी खण्डका लागि भने चाइना रेलवे फर्स्ट ग्रुपले ठेक्का पाएको छ । जसको लागत ९ अर्ब १३ करोड रुपैयाँ रहेको छ ।
चिनियाँ कम्पनी फर्स्ट ग्रुपसँग नेपाली कम्पनी तोदी कन्स्ट्रक्सनको ज्वाइन्ट भेन्चर रहेको छ । यस्तै ८५ देखि ९७ किलोमिटरसम्मको इटहरी खण्डका लागि भने चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप लिमिटेडले ठेक्का पाएको छ । सो कम्पनीसँगको ज्वाइन्ट भेन्चर पनि तोदी कन्स्ट्रक्सन रहेको इन्जिनियर देवले जानकारी दिए ।
१२ किलोमिटर सडक र ३०० मिटरभन्दा छोटा पुल निर्माणका लागि ४ अर्ब ७ करोड रुपैयाँमा ठेक्का लागेको पनि इन्जिनियर देवले जानकारी दिए ।
आयोजनाका अनुसार पूर्वी र इटहरी खण्डमा पर्ने खोलाहरूको पुल निर्माण सम्झौता भएका कम्पनीहरूले गर्नुपर्ने छ । ३ सय मिटरभन्दा लामा पुल निर्माणका लागि चाइना रेल्वे ग्रुप २ र युरो एसियन कन्स्ट्रक्सन कर्पोरेसनले ठेक्का पाएको छ ।
जसअनुसार यी कम्पनीले निन्दा, बिरिङ, कनकाई, रतुवा, बक्राहा र लोहन्द्रा पुल निर्माणको ठेक्का पाएका छन् । यी ६ वटा पुलको लागत ६ अर्ब रुपैयाँ रहेको छ ।
सडक क्षेत्रमा रहेका ४०४ वटा अस्थायी संरचना हटाउनुपर्ने छ । संरचना हटाउने प्रक्रिया सुरु भइसकेको छ । सडक विस्तारका लागि सडक क्षेत्रभित्र पर्ने ११ हजार ५१३ वटा रुख कटानको काम पनि सुरु भएको छ ।
एसियाली राजमार्गअन्तर्गत कांकडभिट्टामा डेढ किलोमिटर भागमा मेची पुल र चार लेनको सडक निर्माण भइसकेको छ । बङ्गलादेशबाट भारतको बागडोग्रा हुँदै पानीट्याङ्की नाकाबाट नेपालतिर सोझिने एसियाली राजमार्गको रुट नं. २ अन्तर्गत भारतले मेची नदीमा एसियाली राजमार्गस्तरकै पक्की चार लेनको पुल निर्माण गरिदिएको हो ।
स्थलमार्गबाट एसियाका देशलाई जोडेर व्यापार र पर्यटन प्रवर्द्धन गर्ने मूल उद्देश्य यस राजमार्गको हो । थाइल्यान्डको बैंककबाट सुरु हुने रुट–२ अन्तर्गत म्यान्मार, बङ्गलादेश र भारत हुँदै एसियाली राजमार्ग नेपालको कांकडभिट्टाबाट पूर्व–पश्चिम राजमार्गमा मिसिन्छ ।
यो राजमार्ग हालको पूर्व–पश्चिम राजमार्ग भएर पश्चिम नेपालको बनबासा हुँदै भारतको दिल्लीतर्फ जोडिने छ । झापामा ५४ दशमलव ९ किलोमिटर, मोरङमा २६ दशमलव २ किलोमिटर र सुनसरीमा २८ दशमलव ९ किलोमिटर सडकको स्तरोन्नति हुनेछ ।
View : 741
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved