Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

अनुदानमा कृषि औजार वितरण

उद्‌घोष संवाददाता
२१ असार २०८१, शुक्रवार

विराटनगर । विराटनगर महानगरपालिकाले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको छ । 

बिहीबार महानगर परिसरमा आयोजित कार्यक्रममा महानगरका विभिन्न वडाका कृषक समूह, कृषि सहकारी र कृषि फर्मलाई १९ लाख १० हजार ६ सय रुपैयाँ बराबरको कृषि औजार वितरण गरेको हो । कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले कृषि औजार वितरण गरे ।

महानगरले विराटनगर–१८ स्थित महिला बीऊ उत्पादन कृषक समूहलाई मकैको थ्रेसर, १६ नम्बर वडाको दरैया कृषि सहकारीलाई गहुँ थ्रेसर, विराटनगर–४ को इक्राही बहुउद्देश्यीय कृषि फर्मलाई धान थ्रेसर वितरण गरिएको कृषि शाखाका प्रमुख खगेश्वर तिम्सिनाले जानकारी दिए ।

त्यस्तै न्यू लक्ष्मी कृषक समूह विराटनगर–१८ लाई धान काट्ने मेसिन (रिपर), रामजानकी कृषक समूह विराटनगर–१४ र आदर्श कृषक समूह विराटनगर–१८ लाई रोटाभेटर वितरण गरिएको छ ।

विराटनगर–१८ कै न्यू जागृति कृषक समूहलाई कल्टी, शिव कृषक समूह विराटनगर–६ लाई मिनिटिलरसहित विभिन्न समूहलाई २० वटा स्प्रे मेसिन वितरण गरिएको छ ।

कृषिलाई आधुनिकीकरण र यान्त्रीकरण गर्ने उद्देश्यले कृषि औजार वितरण गरिएको महानगरले जनाएको छ । महानगरले यसअघि ५० प्रतिशत अनुदानमा विभिन्न बीउविजनका साथै ढुवानी अनुदानको मलसमेत व्यवस्थापन गरेको जनाएको छ ।

View : 299

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved