विराटनगर । विराटनगरस्थित ग्रीनल्याण्ड माविले कक्षा ११ को विज्ञान, व्यवस्थापन र होटल म्यानेजमेन्ट संकायमा नयाँ भर्ना लिएका ७५१ जना विद्यार्थीलाई मंगलबार स्वागत तथा अभिमुखिकरण गरेको छ ।
विद्यार्थी अभिमुखिकरण कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख जीवन गड्तौलाले प्रविधिमैत्री र रोजगारमुखी शिक्षाका लागि ग्रीनल्याण्ड माविले गरेको प्रतिवद्धता शिक्षा क्षेत्रका लागि महत्वपूर्ण कदम भएको बताए ।
उनले रोजगारमुखी शिक्षाको आवश्यकताबारे चर्चा गर्दै विद्यालयले नेपालमै बसेर काम गर्न उत्साहित शैक्षिक जनशक्ति निर्माण गर्नुपर्ने बताए ।
‘समय बदलिंदै गएको छ, केवल किताबको भरमा विद्यार्थीको भविष्य बन्न सक्दैन,’ गड्तौलाले भने, ‘विद्यार्थीलाई आत्मनिर्भर बनाउने शिक्षा प्रणालीको विकास गर्न जरुरी छ र ग्रिनल्याण्ड कलेजको यतातिर गरिरहेको प्रयास सराहनीय रहेको छ ।’
विद्यालयका प्रिन्सिपल दिनेशकुमार दाहालले ग्रीनल्याण्डले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताए । उनले विद्यार्थीको भविष्य निर्माणमा जिम्मेवारपूर्वक भूमिका निर्वाह गर्दै आएको बताए ।
‘हामी केवल किताबी ज्ञानमा सीमित छैनौं,’ दाहालले भने, ‘विद्यार्थीलाई नैतिक मूल्य, व्यवहारिक सीप र रोजगारसँग जोडिने शिक्षा दिन हामी प्रतिबद्ध छौं ।’ विद्यालयले शिक्षासँगै शिष्टाचार, अनुशासन र व्यावसायिक क्षमता विकासमा केन्द्रित रहँदै आएको उनले बताए ।
विद्यालयका निर्देशक पवन साहले अभ्यास र सीपमा आधारित शिक्षा प्रदान गरिरहेको बताए । अर्का निर्देशक इश्वरीप्रसाद मिश्रले दुई बर्षे अवधि विद्यार्थीहरूको निर्माणमा निकै महत्वपूर्ण रहेको भन्दै जेहेन्दार र मेहनतका साथ अध्ययनमा संलग्न हुन आग्रह गरे ।
कार्यक्रममा विज्ञान संकायमा भर्ना भएका विद्यार्थी दिपरशन सुवेदी, ग्रीनल्याण्डबाटै एसईई उत्तीर्ण भएर विज्ञान संकायमै भर्ना भएकी छात्रा राधिका भट्टराई लगायतले ग्रीनल्याण्डको शैक्षिक वातावरणबारे धारणा राखेका थिए ।
उक्त अवसरमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूले कक्षा ११ का नवआगन्तुकहरूलाई गीत संगीतका माध्यमबाट स्वागत गरेका थिए ।
View : 495
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved