Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

सडकमा उत्रिएको एमालेले भन्यो–

‘लोकतान्त्रिक शक्तिहरूमाथि नाङ्गो प्रहार र दमन’

उद्‌घोष संवाददाता
१६ चैत २०८२, सोमवार

विराटनगर । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउ प्रतिसोधपूर्ण भएको आरोप लगाउँदै तत्कालै रिहाई गर्न माग गर्दै आइतबार बालेन्द्र शाह नेतृत्वको सरकारलाई विरोध पत्र बुझाएको छ । 

एमाले मोरङ जिल्ला कमिटीले ओली पक्राउप्रति कडा शब्दमा विरोध जनाएको छ ।

सरकार गठन भएको २४ घण्टा नबित्दै संवैधानिक विधि र प्रक्रिया विपरीत सरकारले लोकतान्त्रिक शक्तिहरूमाथि नाङ्गो प्रहार र दमन सुरु गरेको एमालेले जनाएको छ । 

पार्टी कार्यालय पाञ्चालीमा भेला भएको नेता कार्यकर्ताहरूले जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि पुगेर सरकारको रवैयाको विरोध जनाएको हो । 

एमाले मोरङका कार्यवाहक अध्यक्ष सागर थापाको नेतृत्वमा उपस्थित सयौं नेता कार्यकर्ताहरूले सरकारविरोधी नारा लगाएका थिए ।

कार्यवाहक अध्यक्ष थापाले प्रधानमन्त्रीलाई विरोध–पत्र बुझाउँदै ‘कथित कार्की आयोग’ को प्रतिवेदन कार्यान्वयनका नाममा राजनीतिक प्रतिशोध साँधिएको बताए । 

थापाले कार्की आयोगको प्रतिवेदन नै ‘पूर्वाग्रही र प्रतिशोधपूर्ण’ रहेको दाबी गरे ।

प्रतिवेदन सुरक्षाकर्मीमाथि आक्रमण, हत्या, हतियार लुटपाट र निजी एवं सरकारी सम्पत्तिमाथि भएको आगजनी जस्ता गम्भीर घटनाहरूमा मौन रहेको एमालेले जनाएको छ । 

सो विरोध पत्रमा नवनिर्वाचित सरकारले मुलुकलाई पहिलो पाइलामै द्वन्द्व र मुठभेडतर्फ धकेल्ने काम गरेको उल्लेख छ । 

भदौ २३ गतेको जेनजी नवयुवाहरूको शान्तिपूर्ण आन्दोलनलाई नियोजित रूपमा ‘हाइज्याक’ गरी संसद भवनतर्फ पठाएको र सोही क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा युवाहरूको ज्यान भएको घटनामा वर्तमान सरकारले पूर्वाग्रही ढंगले व्यवहार देखाएको एमाले नेता कार्यकर्ताहरूले आरोप लगाएका छन् ।

एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले पक्राउ गरिएका नेताहरूको तत्काल रिहाइ गरी यस्ता प्रतिशोधपूर्ण कार्यहरू तुरुन्त बन्द नगरे एमालेले आफ्नो सम्पूर्ण शक्ति सडकमा उतार्ने चेतावनी दिएका थिए ।

View : 151

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved