विराटनगर । नेपाल प्रेस युनियन कोशी प्रदेश समितिले सदस्यता शुद्धीकरणको अभियान टुंगामा पुर्याएर मात्रै अधिवेशन गर्न नेपाल पत्रकार महासंघ कोशी प्रदेशको ध्यानाकर्षण गराएको छ ।
सदस्यता शुद्धीकरण टुंगो नलगाई महासंघको अधिवेशन मिति घोषणा गरेकोप्रति युनियनले आपत्तिसमेत जनाएको छ । युनियनका प्रदेश अध्यक्ष मीनकुमार नवोदितको नेतृत्वमा महासंघको प्रदेश कार्यालय पुगेर कार्यबाहक अध्यक्ष लवदेव ढुंगानालाई ध्यानाकर्षणपत्रसमेत बुझाएको छ ।
‘नेपाल पत्रकार महासंघले सुरु गरेको सदस्यता शुद्धीकरण अभियानमा नेपाल प्रेस युनियनको प्रारम्भदेखि नै पूर्ण साथ र सहयोग रहेको सर्वविदितै छ । पत्रकार महासंघलाई विशुद्ध पत्रकारहरुको साझा संस्था बनाउन नेपाल प्रेस युनियनको भूमिकाबारे पत्रकार महासंघ पनि अनभिज्ञ छैन ।
तर, पछिल्लो विकसित घटनाक्रमअनुसार नेपाल पत्रकार महासंघले शुद्धीकरण अभियानलाई थाँती राखेर जिल्ला, प्रदेश र केन्द्रीय अधिवेशन घोषणा गरेकोप्रति नेपाल प्रेस युनियन कोशी प्रदेश समितिको गम्भीर ध्यानाकर्षण भएको छ,’ युनियनले बुझाएको ध्यानाकर्षणपत्रमा उल्लेख छ ।
केन्द्रको घोषणालाई आत्मसाथ गर्दै सदस्यता शुद्धीकरणको विषय नटुंग्याई महासंघको कोशी प्रदेश समितिले आगामी वैशाख १२ गतेका लागि अधिवेशन आह्वान गरेकोमा युनियनले आपत्ति जनाएको छ । महासंघको निर्णयले शुद्धीकरण अभियान नै ओझेलमा पार्ने काम भएको युनियनले ठहर गरेको छ ।
वैशाख १२ गतेका लागि घोषणा गरिएको प्रदेश अधिवेशन तत्काल स्थगित गरेर शुद्धीकरणको अभियानलाई सहज बनाउन युनियन जोडदारले मागसमेत गरेको छ ।
प्रदेशका १४ वटै जिल्ला शाखाले समेत महासंघको सम्बन्धित जिल्ला शाखालाई ध्यानाकर्षण बुझाएको प्रदेश अध्यक्ष नवोदितले जानकारी दिए ।
View : 228
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved