Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

आर्थिक विकासमा सरकार र निजी क्षेत्रबीच सहकार्यको खोजी

उद्घोष सम्वाददाता
१५ फागुन २०८०, मङ्गलवार

विराटनगर । मोरङ–सुनसरी औद्योगिक क्षेत्रका उद्योगी व्यवसायी र तीन तहका सरकारहरूबीच प्रदेशको आर्थिक विकासमा सहकार्यको खोजी गर्न छलफल भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिको आयोजनामा मंगलबार प्रदेश सरकार, स्थानीय सरकार र निजी क्षेक्र सम्बद्ध सरोकारवालाहरूबीच अन्तरत्रियात्मक छलफल गरिएको हो ।

उक्त छलफल उद्योग, कृषि र सेवा क्षेत्रबाट स्थानीय, क्षेत्रीय र प्रादेशिक आर्थिक वृद्धिमा गर्न सकिने लगानी र त्यसको लगानी विस्तारको सम्भावना, विद्यमान समस्या र चुनौतीहरूका विषयमा केन्द्रित थियो । 

कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले महानगरपालिकाले स्थानीय उद्योग व्यवसाय प्रवर्द्धनमा योगदान पुगोस् भनेर सीमा नाकाबाट हुने गरेको चोरी तस्करी नियन्त्रण र बजार क्षेत्रको पार्किङ व्यवस्थित गर्न खोजेको बताए ।

स्थानीय सरकारले बजार व्यवस्थापनमा देखिएका समस्या समाधान भएमा विराटनगरकै आर्थिक गतिविधि चलायमान हुने बताए । तर महानगरपालिकाले सुरु गरेका अभियानहरूमा भने व्यावसायिक क्षेत्रबाट नै पर्याप्त साथ सहयोग नपाएको गुनासो गरे ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका कार्यवाहक अध्यक्ष भीमबहादुर पौडेलले मोरङ–सुनसरी औद्योगिक करिडोरमा उत्पादनमूलक उद्योगको विकासका लागि स्थानीय तह र निजी क्षेत्रका बीचमा सहकार्य गर्न सकिने क्षेत्रहरूबारे प्रष्ट पारे ।

उनले कच्चा पदार्थ, दक्ष श्रम शक्तिको आपूर्ति, प्रशोधन, आन्तरिक र बाह्य बजार विस्तार, उत्पादनको प्रतिस्पर्धी क्षमता विकासका माध्यमबाट आर्थिक गतिविधि बढ्ने र त्यसबाट प्रदेशको आर्थिक विकासमा सहयोग पुग्ने बताए ।

पौडेलले कृषिलाई उद्योग, व्यापार र पर्यटनसँग जोडेर मुल्यश्रृंखला विस्तार गर्न सबै तहका सरकार र निजी क्षेत्रबीच सहकार्य बढाउनुपर्नेमा जोड दिए । उनले उद्योगको विकास र वातावरण संरक्षणका सवालमा तीन तहबीचको बुझाइमा समानता हुनुपर्ने बताए ।

बुढिगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगरले सुशासन प्रवर्द्धन, आर्थिक तथा पूर्वाधार क्षेत्रको विकासका सवालमा सम्बन्धित पक्षहरूबाट प्रभावकारी भूमिका निर्वाह हुन नसकेको बताए । संघ र प्रदेश सरकारले गर्ने विकास निर्माणका कार्यमा स्थानीय सरकारसँग समन्वय हुन नसकेको उनले बताए । 

कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले स्थानीय अर्थतन्त्रको सवलीकरण, विकास कार्यको ब्यवस्थापन, आर्थिक पूर्वाधार विकास जस्ता कार्यमा सरकार र निजी क्षेत्रमात्रै नभई सबै क्षेत्रबीच प्रभावकारी समन्वय हुनुपर्ने बताए ।

उनले कटहरीसम्मको रेलवे लाइनको निर्माण सम्पन्न गर्न, कृषि बजार केन्द्र सञ्चालनमा ल्याउन तथा पूर्वाधार निर्माणका कार्य समयमा सम्पन्न गर्न स्थानीय तहबाट अग्रसरता देखाए पनि संघ र प्रदेश सरकारबाटै सहयोग नपाएको गुनासो गरे । 

सुनसरीको दुहवी नगरपालिकाकी उपप्रमुख मेनुका पोखरेलले साना, लघु र घरेलु उद्यमीहरूको सशक्तिकरण र मुल प्रवाहीकरणबिना प्रदेशको आर्थिक विकास असम्भव रहेको बताइन् । जहदा गाउँपालिकाकी उपाध्यक्ष हन्ना सोरेनले स्थानीय आवश्यकतामा आधारित भएर निजी क्षेत्रले लगानी गर्नुपर्ने र लगानीका लागि आउने लगानीकर्तालाई गाउँपालिकाले सहयोग गर्ने आश्वासन दिइन् । 

उद्योग, कृषि तथा सहकारी मन्त्रालयकी उद्योग महाशाखा प्रमुख लक्ष्मी पराजुलीले स्थानीय उद्योगबाट उत्पादित वस्तुको प्रयोग र प्रवर्द्धनका लागि स्थानीय उत्पादनको उपभोग बढाउँदै लैजानुपर्ने बताइन् । 

छलफलमा स्थानीय र प्रदेश सरकारले आफ्नो प्राथमिकता निर्धारण गर्न ध्यान नदिने गरेको गुनासो आएका थिए । साथै राजस्वका दर र दायरा निर्धारण, निर्यात सम्भाव्यता भएका वस्तुहरूको उत्पादन र बजारीकरण, पर्यटक सेवा र सुरक्षा बिस्तार, स्थानीय कच्चा पदार्थमा आधारित उद्योग प्रवर्द्धन लगायतका विषयमा बृहत्तर सहकार्य र साझेदारी हुनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए ।

द एशिया फाउण्डेशन र कम्युनिटी इन्गेजमेन्टस् एण्ड आउटिरिचको सहयोगमा आयोजित कार्यक्रममा उद्योगी व्यवसायिक क्षेत्रका प्रतिनिधिहरू, स्थानीय तहका जनप्रतिनिधि, कर्मचारीहरूलगायतको सहभागतिा रहेको नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका कार्यकारी निर्देशक राधारमण भण्डारीले जानकारी दिए ।

View : 251

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved