Biratnagar, Morang, Nepal
१७ असार २०८१, सोमवार
+977 21 450305, 515728, 578305
समाज

बालविवाहविरुद्ध स्मार्ट छोरी परियोजना

उद्घोष सम्वाददाता
१४ असार २०८१, शुक्रवार

विराटनगर, १४ असार । बालविवाह न्यूनिकरणका लागि स्मार्ट छोरी परियोजना सुरु भएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका भित्रका सवै वडामा ‘स्मार्ट छोरी परियोजना’ शुरु गरिएको जनाइएको छ । 

सन् २०३० भित्रमा नेपाललाई बालविवाहमुक्त राष्ट्र घोषणा गर्ने अभियानलाई सफल बनाउन युवा विकास केन्द्र (वाईडीसी) को नेतृत्वमा इटहरीका २० वटै वडामा ‘स्मार्ट छोरी परियोजना’ शुरु गरिएको हो । 

शुक्रबार विराटनगरमा आयोजित बालविवाह न्यूनीकरणका लागि प्रदेश सम्मेलनका अवसरमा परियोजना सुरु भएको जानकारी परियोजनाका कार्यक्रम संयोजक नबल रिजालले जानकारी दिए ।

केन्द्रले सात वर्ष अघि अर्थात सन् २०१७ देखि इटहरीको वडा नम्बर ७, ८, १० र १४ मा बालविवाह न्यूनीकरण कार्यक्रम शुरु गरेको थियो । ती वडाहरूमा गरिएको सर्वेक्षण अनुसार मुसहर समुदायका ६० प्रतिशत बालिकाहरूको उमेर नपुग्दै विवाह हुने गरेको पाइएकोले सोही तथ्यका आधारमा परियोजना अघि बढाइएको रिजालले बताए ।

‘झण्डै ७ वर्षको अवधिमा ६० प्रतिशतलाई शून्यमा पुर्‍याएका छौं’ ४ वडा वडामा अभियान सफल भएपछि अहिले इटहरी उपमहानगरपालिकाको सहयोगमा सबै वडामा कार्यक्रम शुरु गरिएको उनले बताए ।

प्रदेश सम्मेलनका क्रममा युवा विकास केन्द्रले बालविवाहमुक्त इटहरी बनाउनका लागि किशोर किशोरी, अभिभावक, टोल विकास समिति, बाल तथा यूवा सामुदायिक क्लब, नेपाल प्रहरी, स्थानीय सरकारहरूसँग बालविवाह न्यूनीकरणका लागि निरन्तर छलफल, तालिम लगायतका कार्यक्रमहरू गर्दै आएको जानकारी गराइएको थियो ।

प्रदेश सम्मेलनमा सन् २०३० सम्म नेपाललाई बालविवाह मुक्त बनाउनका लागि साझेदार संस्थाहरूको सक्रिय सहभागिता आवश्यक रहेकोमा सहभागीहरूले जोड दिए ।

उनीहरूले बालविवाहमुक्त समाज निर्माणमा सबै सामाजिक सङ्घसंस्थाले सामूहिक रुपमा कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने सुझाव दिए । त्यसैगरी बालविवाह न्यूनिकरणका लागि कोशी प्रदेश सरकारले बनाएको कार्ययोजना र नारालाई पनि सामूहिक रुपमा कार्यन्वयन गर्नुपर्ने उनीहरूले सुझाव दिएका थिए । 

कार्यक्रममा मानव अधिकार आयोगका कोशी प्रदेश निर्देशक पवन भट्ट, कोकनकी अध्यक्ष मञ्जिता उपाध्याय, मानव अधिकार सञ्जाल विराटनगरका संयोजक विनोद पोखरेल, सिविन विराटनगरका प्रमुख बासु अधिकारी लगायतले बालविवाह मुक्त राष्ट्र बनाउने सरकारको अभियानलाई सफल पार्न सहयोग गरिने बताए ।

View : 39

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved