कांग्रेसमा गुटगत किचलो
विराटनगर । मोरङको ग्रामथानसहित देशैभरी उपनिर्वाचन हुनै लाग्दा नेपाली कांग्रेस कोशीमा चर्केको गुटगत लडाइँ यतिबेला उत्कर्षमा छ । आइतबार ग्रामथानमा मतदान चलिरहँदा पनि कोशी प्रदेश समितिका बहुसंख्यक पदाधिकारीहरू भने केन्द्रीय कार्यालयमा सम्पर्क गरेर एउटा पत्र लेखिदिन आग्रह गरिरहेका थिए ।
पार्टीको प्रदेश समितिले मंसिर २२ मा गर्न लागेको पहिलो प्रदेश सम्मेलनको सम्मुखमा मंसिर १८ मा शेखर कोइराला पक्षले समानान्तर भेला गर्न लागेको छ । कोइराला पक्षको भेलालाई लिएर टाउको दुखाइ खेपिरहेको प्रदेश समिति र त्यसका नेताहरूले कोइरालाको भेला रोक्ने लिखित निर्देशन पठाइदिन केन्द्रमा दबाब दिइरहेका छन् ।
केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले ‘आइतबार पत्र आउने’ वचन पनि दिएका थिए । तर, आइतबार दिनभरी नै प्रदेशले पर्खेको त्यो पत्र आएन ।
विराटनगरमा कोइराला पक्षले आयोजना गर्न लागेको समानान्तर भेला रोक्न केन्द्रबाटै पत्र लेखाउने प्रदेशस्थित संस्थापन पक्षका नेताहरूको प्रयास आइतबार सफल हुन सकेन । सभापति शेरबहादुर देउवाले तत्कालै पत्र लेखेर भेला रोक्न निर्देशन दिनु नपर्ने बताएपछि केन्द्रबाट आउने भनिएको पत्र तत्कालका लागि रोकिएको नेताहरूले जानकारी दिएका छन् ।
‘हामीले केन्द्रबाटै भेला रोक्नेगरी लिखित निर्देशन दिनुपर्यो भनेर भनेका थियौं, सभापतिज्यूले अहिले नै त्यसो गर्न पर्दैन भन्नुभएछ’, कांग्रेस कोशी प्रदेशका एक पदाधिकारीले भने ‘आइतबार साँझसम्म पनि हामी केन्द्रको पत्र कुरिरहेका थियौं तर आएन ।’
उनका अनुसार सभापति देउवाले ‘अहिले नै किन लेख्नुपर्यो पत्र’ भनेपछि ड्राफ्ट भइसकेको पत्र कोशीमा पठाउन रोकिएको छ । तर सभापतिसँग संस्थापन पक्षका अरु नेताहरूले पत्र लेख्न दबाब दिइरहेका कारण सोमबारसम्ममा लिखित निर्देशन आउने सम्भावना भएको ती पदाधिकारीले बताए ।
संस्थापन पक्षका प्रदेशस्थित नेताहरूले कोइराला पक्षले आयोजना गर्ने भेला रोकिने आशा त्यागेका छैनन् । प्रदेश सम्मेलनको मुखैमा अलग्गै भेला आयोजना गर्दा तलसम्म नराम्रो सन्देश जाने भन्दै कांग्रेस केन्द्रले कोइराला पक्षलाई भेला नगर्न भनेर मौखिक रुपमा भनिसकेको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलले गरेको आग्रह कोइराला पक्षले अस्वीकार गरेपछि प्रदेशको संस्थापन पक्षले सभापतिलाई नै गुहारेको थियो ।
कांग्रेस कोशी प्रदेश समितिले मंसिर २२ गते विराटनगरमा पहिलो प्रदेश सम्मेलन आयोजना गर्दैछ । प्रदेश सम्मेलनअघि नै मंसिर १८ मा कोइराला पक्षले विराटनगरमै प्रदेशभरीका पालिकाका पार्टी सभापतिहरूको भेला गर्ने तयारी गरेको छ ।
एकैजसो समयमा दुईटा भेला नगर्न भन्दै कांग्रेस केन्द्रीय कार्यालयले कोइराला पक्षलाई भेला रोक्न भनेको तर आफूहरूले नमानेको कोइराला पक्षका नेताहरूले बताएका छन् । शेखर पक्षीय भेलाको संयोजन गरिरहेका विराटनगर महानगर सभापति दीपक चापागाईंले ‘पार्टी बलियो बनाउन आयोजित भेला रोक्न केन्द्रले पत्र लेख्ने सम्भावना नभएको’ बताए ।
‘हाम्रो भेला कसैगरी हुन नदिने प्रयासमा लागेकाहरूले केन्द्रबाट पत्र लेखाउन गरेको प्रयास हामीलाई थाहा छ’, चापागाँईले भने ‘तर, केन्द्रीय नेताहरूले पत्र नपठाउने भनेको सूचना पाएका छौं ।’ उनले भेलाको सम्पूर्ण तयारी पूरा भएको भन्दै अब रोकिने अवस्था नभएको बताए ।
‘यस्तो भेला गर्न हुँदैन भनेर कांग्रेसको विधानमा कतै पनि उल्लेख छैन’, उनको दाबी छ ‘पार्टीको सम्मेलन र भेला दुवै सफल पार्ने हाम्रो लक्ष्य छ । सोहीअनुसार लागेका छौं ।’
View : 116
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved