विराटनगर : नेपाल टेलिकमको सुरुङ्गा शाखाका निमित्त प्रमुखको समेत जिम्मेवारीमा रहेका लेखा अधिकृत दिलीप सुवेदी बेपत्ता भएको आइतबार ५१ दिन पुग्यो । तर उनको अवस्था अहिलेसम्म पत्ता लाग्न नसक्दा घर परिवार भने पीडाले विक्षिप्त बनेको छ ।
विराटनगर महानगरपालिका–४ राजवंशी चोकका सुवेदी लेखा अधिकृत (छैटौं तह) उत्तीर्ण गरेर २०७९ फागुनदेखि टेलिकल सुरुङ्गामा कार्यरत थिए । तर उनी २०८० भदौ ३० गते शनिबार विहान करीव साढे ९ बजेपछि बेपत्ता भए । उनको अवस्था अहिलेसम्म पत्ता लाग्न नसकेको अनुसन्धानमा खटिएको प्रहरीले बताउँदै आएको छ । परिवारको कान्छो छोरो बेपत्ता भएको ५१ दिन पुग्दा पनि लास वा सास केही पत्ता लाग्न नसकेको भन्दै ६७ वर्षीय बुवा नेत्रप्रसाद सुवेदीले पीडा पोखेका छन् ।
घटना विवरण अनुसार दिलीप भदौ ३० गते शनिबार बिहान करिव ६.१५ बजेतिर सुरुङ्गास्थित टेलिकम कार्यालयमा पुगेर सुरक्षागार्ड ओमप्रकाश खरेललाई स्कुटीमा लिएर चिया पिउन भन्दै बाहिर निस्किएका थिए । उनीहरु दुवै विहान ७ बजेतिर चिया पिएर कार्यालयमा फर्किएको र दिलीपले कार्यालयको माथिल्लो तलामा रहेको गेष्ट रुममा गएर आराम गर्न भन्दै गएका थिए ।
नेत्रप्रसादले त्यसपछि सुरक्षा गार्ड गेटमा आफ्नो ड्युटीमा लागेका भन्ने जानकारी भएको र छोरा दिलीप करीव ८ः२० बजेदेखि ८ः४७ बजेसम्म बुहारी ब्रजुना भट्टराईसँग २७ मिनेट जति भिडियो कल गरेको पाइएको जानकारी दिए ।
उनले बुहारीसँग पनि सामान्य कुराकानी नै गरेको छोरा दिलीपलाई मध्यान्न करीव १२ बजेतिर पुनः ब्रजुनाले फोन गर्दा फोन अफ भएको र दिनभरी प्रयास गर्दा पनि फोन नलागे बताए । छोराको फोन नलागेपछि विराटनगरबाट आफूहरु बेलुका करीव ६ बजेतिर डेरामा बुझ्न लगाउँदा डेराबाट बिहानै निस्केपछि त्यहाँ नआएको जानकारी पाएको बताए ।
‘डेरामा थाहा नभएपछि कार्यलयमा बुझ्दा बिहान कार्यालयमा प्रवेश गरेको तर त्यहाँबाट बाहिर निस्केको सुरक्षागार्डले नदेखेको जानकारी आयो’ आइतबार विराटनगरमा पत्रकार सम्मेलनमा उनले भने, ‘उनले चलाउने स्कुटरको चाबी र मोबाइलको चार्जर पनि कार्यालयकै गेष्ट रुममा रहेको थाहा पाइयो, अनिमात्रै हामी सोही साँझ विराटनगरबाट सुरुङ्गा पुगेर प्रहरी चौकी सुरुङ्गामा खोजीका लागि अनुरोध गर्यौं, तर आज ५१ दिन भयो हामीले उसको सास वा लास केही थाहा पाउन सकेनौं ।’
त्यसपछिको प्रहरी अनुसन्धानका क्रममा दिलीपको कोठाको तलासी लिंदा उनको पर्स, चस्मा समेत कोठामा नै भेटिएको जनाइएको छ । कोठाबाट कार्यालयसम्म टी–सर्ट, ट्रयाक र चप्पल लगाएको आफ्नो कान्छो छोरा सोही कार्यलयबाट नै हराएको दाबी नेत्रप्रसादले घटना शंकास्पद भएको भन्दै गहिरो अनुसन्धानका लागि आग्रह गरेका छन् ।
‘चारैतिर पर्खाल लागेको कार्यालयबाट निस्किएको भए सुरक्षागार्डले कसरी देखेनन् ? अहिलेसम्म छोरोको सास वा लास पत्ता लाग्न सकेको छैन’ नेत्रप्रसादको प्रश्न थियो, ‘यत्रो दिन बेपत्ता हुनु कुनै संयोग मात्र हो त ? कार्यालय परिसरबाट सरकारी कर्मचारी हराउँदा समेत हालसम्म कुनै जानकारी मैले कि पाउन सकिन ?’
उनले यत्रो दिनदेखि प्रहरी प्रशासनबाट खोजी भए पनि छोराको अवस्थाबारे जानकारी नपाएका कारण घर परिवार अत्यन्तै पीडामा रहेको बताए । उनले अनुसन्धानमा संलग्न प्रहरी प्रशासनले पहिलेदेखि नै पारिवारिक कारणले गर्दा नै बेपत्ता भएको भनेर परिवार केन्द्रित मात्रै भएर अनुसन्धान गर्दा अपेक्षित नतिजा आउन नसकेको आफूलाई अनुभूति भएको गुनासो पनि गरे ।
View : 153
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved