विराटनगर,८ मंसिर । साहित्यकार हरि कटेलको छन्दोबद्ध लघु काव्य बिलौनै बिलौनाको दोस्रो संस्करण लोकार्पण भएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगर र छन्द बाटिका नेपालद्धारा शनिबार संयुक्त रुपमा आयोजित एक कार्यक्रममा उक्त लघु काव्यको लोकार्पण गरिएको हो ।
आयोजक पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेल, प्राध्यापक कविराज न्यौपाने, नेपाली लेखक संघकी केन्द्रीय सदस्य निर्मला कोइराला,साहित्यकार बलराम पोखरेल, मेदनी शर्मा लगायतले सो कृतिको लोकार्पण गरे ।
विसं २०४५ सालमा पहिलो संस्करण प्रकाशित भएको कटेलको बिलौनै बिलौनाको दोस्रो संस्करणमा १० वटा कविता संग्रहित छन । उक्त संग्रह भित्र चन्द्र कान्ति कविता संग्रह पनि समावेश गरिएको छ । सो संग्रहमा १८ वटा कविता समावेश छन ।
कटेलले २०४५सालदेखि नै छन्दोबद्ध कविता लेख्दै आएका हुन । उनका अधिकांश रचना पनि छन्दमा नै लेखेको पाइन्छ । लोकार्पण कार्यक्रममा नेपाली लेखक संघकी केन्द्रीय सदस्य निर्मला कोइरालाले लघु काव्यमा समावेश भएका रचनाको समिक्षा गरेकी थिइन ।
कार्यक्रममा कटेलकी छोरी प्रज्ञा कटेल लगायतले लघुकाव्य भित्रका केहि कविता वाचन गरेका थिए । बिलौनै बिलौना कटेलको आठौं कृति हो । यसअघि कटेलका अनावृत आकृति छन्दोबद्ध कविता संग्रह , आखामा अल्झिएका आखाहरु गजल संग्रह , मुटु टुक्रिएपछि मुक्तक संग्रह , काडा टेकेर फूलका कुरा गजल संग्रह, माधवआनी खण्डकाव्य र हिउचुलीमा हिउ बाल कविता संग्रह प्रकाशित भइसकेका छन ।
View : 30
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved