रंगेली–७ स्थित निर्माण सम्पन्न हुन लागेको कृषि बजारका संरचना देखाउँदै मेयर बगडिया । तस्वीर : कमल/उद्घोष
रंगेली । मोरङको रंगेली नगरपालिकाले झण्डै आधा अर्बको लागतमा दुई ठाउँमा कृषि बजार निर्माण गरेको छ । स्थानीय किसानका उत्पादनलाई सहजै उपभोक्तासम्म पुर्याउन बनाइएका बजारको निर्माण अन्तिम चरणमा पुगेको छ ।
रंगेलीको मुख्य बजारमा साढे तीन बिघा जमिनमा २२ करोड रुपैंया लागतमा निर्माण गरिएको बजार आगामी दशैंबाट सुचारु हुने देखिएको छ ।
मेयर दिलिप बगडियाका अनुसार आफ्नो घरको उत्पादन ढाकीमा बोकेर बजार तथा सडकमा बिक्री गर्ने स्थानीय किसानलाई नयाँ बनेको बजारमा कुनै शुल्क लाग्दैन । ढाकीमा बिक्री गर्न आउनेका लागि छुट्टै बजार तयार गरिएको छ ।
थोक बजार, खुद्रा बजार र माछामासुको बजारका सबै अलग संरचना छन् । साना, ठुला गरी दुई सय ५० जनाले यो बजारमा ब्यवसाय गर्न सक्छन् ।
यतिका मानिसले तरकारी पसल राख्नु भनेको ग्रामीण क्षेत्रको साप्ताहिक हाट सरह हो ।
बजारको भित्री भागमा फलफूल तथा तरकारी र बाहिरका ३२ वटा सटरमा माछामासुका लागि सटर छुट्याइएको छ ।
संघीय सरकारको बजेटमा तयार भएको बजारलाई प्रदेश सरकारले पनि २ करोड रुपैयाँ सहयोग गरिसकेको मेयर बगडियाले बताए ।
यस्तै रंगेलीको अर्को बजार दोहमानामा पनि निर्माण भएर सम्पन्न हुने क्रममा छ ।
२१ करोड रुपैयाँको लागतमा बनेको यो बजारमा भनें पशु हाटका लागि पनि संरचना बनाइएको छ । यो बजारले उत्तरी रंगेलीबासीलाई सुबिधा दिएको छ ।
नगरपालिकाले बजारको सञ्चालक समिति बनाएर न्यूनत्तम शुल्कमा स्थानीय किसानलाई ब्यापार गर्ने ठाउँ दिइन्छ ।
‘यहाँ माफिया सिस्टम हुँदैन, जसले ब्यापार गर्छ उसैको नाममा स्टल हुन्छ’ मेयर बगडियाले भने ।
संघबाट निर्माणको रकम ढिलागरी आएकाले निर्माणमा ढिलाई भएको बताउँदै उनले यी बजार सुचारु भएपछि रंगेलीबासीले थोक बजारका लागि विराटनगर जान नपर्ने दाबी गरे ।
रंगेलीका लागि एक दर्जन गौरवका योजना सञ्चालनमा रहेको प्रमुख प्रशासकीय अधिकृत प्रदिप साह बताउँछन् । १२ करोडको लागतमा मुख्यमन्त्री अत्यावश्यक केन्द्र तयार हुँदैछ ।
रंगेली, सुनवर्षी, कानेपोखरी र धनपालथान गरी चार पालिकाको संयुक्त यस केन्द्रमा दमकल, एम्बुलेन्स र स्वास्थ्यकर्मी तैनाथ रहन्छन् ।
बिपद् ब्यवस्थापनका लागि बनाइएको यो केन्द्र नेपालमै नमुना हुने साहले जानकारी दिए ।
यस्तै यी चार पालिकाको फोहर ब्यवस्थापन गर्न मेयर बगडियाले एक बिघा १५ कट्ठा जमिन दान गरेका छन् । फोहर मैला ब्यवस्थापन केन्द्रबाट मल र ब्रिकसमेत उत्पादन गरेर बजारमा लैजान सकिने साहले बताए ।
रंगेली–४ मा केही गहिरो भागमा रहेको २० बिघा क्षेत्रफलको जमिनलाई सिमसार क्षेत्र बनाएर पर्यटकीय तथा रमणीय स्थाल निर्माण गर्न नगरपालिकाले पहल थालेको छ ।
View : 297
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved