Biratnagar, Morang, Nepal
६ वैशाख २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

नेपालीभाषी भुटानीमाथि भुटानी प्रशासनको क्रुरता, कागजपत्र खोसेर लखेटेको थियो नेपाल

उद्‌घोष सम्वाददाता
२९ चैत २०८१, शुक्रवार

विराटनगर । अवैधरूपमा नेपाल प्रवेश गरेको अभियोगमा थुनामा रहेका भुटानी शरणार्थी युवाका साथमा भएका सबै कागजपत्र भुटान सरकारले खोसेर उनीहरूलाई नेपालतिर लखेटेको पाइएको छ । 

आफ्नो विस्तृत परिचय खुल्ने सबै कागजपत्र भुटानले खोसेपछि अहिले तिनै कागज देखाउन नसक्दा चार जना शरणार्थी थुनामा छन् भने ८ जना अहिलेसम्म वेपत्ता जस्तै छन् । 

भुटान पिपुल्स पार्टीका अध्यक्ष बलराम पौडलले दिएको जानकारीअनुसार चैत १५ गते शुक्रबार भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलमा ओरालिएका १२ जना शरणार्थीको साथमा भएको सबै कागजपत्र त्यहाँका सरकारी अधिकारीहरूले खोसेका थिए । 

आशीष सुवेदी, रोशन तामाङ र सन्तोष दर्जी १३ दिनदेखि प्रहरी हिरासतमा छन् भने अशोक गुरुङ पक्राउ परेको पनि बिहीबार १० दिन पूरा भएको छ । 

‘अमेरिकाले आपराधिक काममा संलग्न भनेर भुटान नै फिर्ता पठायो, त्यहाँसम्म आउँदा उनीहरूसँग सबै कागजपत्र रहेछ’, थुनामा रहेका चार जनालाई प्रहरी हिरासतमै पुगेर भेटेका पौडेलले भने ‘उनीहरूलाइ पुर्‍याउन आएका अमेरिकी कर्मचारी फर्केलगत्तै भुटानी कर्मचारीले पहिले कागजपत्र खोसेछन् । त्यसपछि खाना खुवाएर ३०–३० हजार दिएर नेपाल पठाई दिएछन् ।’

‘एयरपोर्टबाट होटलमा पुग्नासाथ तिमीहरूसित के के कागजपत्र छ, सबै हामीलाई दिनू, त्यही कागजका कारण यहाँ अप्ठयारो पर्नसक्छ भनेर भुटानी अधिकारीहरूले भनेपछि ती भाइहरूले आफूसँग भएको सबै डकुमेन्ट बुझाएछन्’, अध्यक्ष पौडेलले भने ‘कागजपत्र हात पारेपछि चाहिँ उनीहरूलाई नरम भाषामा धम्की दिन थालेछन् ।’

सुरक्षाकर्मीले घेरिएका भूटानी अधिकारीहरूले ‘यहाँ तिमीहरूको भाषा पनि मिल्दैन, तिमीहरूलाई जोङ्खा आउँदैन भन्दै कुराकानी सुरू गरेछन्,’ पौडेलले सुनाए ‘त्यसपछि यहाँ बस्यौ भने जेलमा बस्नु पर्ने हुनसक्छ । आफन्तहरू पनि बरू नेपालमै छन् । त्यसैले हामी नेपालै पठाइदिन्छौं भनेर यता पठाएछन् ।’ 

भूटानको भारतीय सीमावर्ती नाका फुन्सोलिङबाट भारतीय गाडीमा चढाएर उनीहरूलाई नेपाल–भारत सीमाको भारतीय नाका पानीट्याङ्की ल्याएर छोडिएको थियो । 

त्यसपछि १२ मध्ये ४ जना शरणार्थी दलाललाई २२ हजार रूपैयाँ बुझाएर मेची पुलमुनीको बाटो हुँदै नेपाल प्रवेश गरेका थिए । 

१५ गते साँझ बेलडाँगी शिविर पुगेका ३ जना भोलिपल्टै चैत १६ गते शनिबार शिविरबाटै पक्राउ परेका थिए भने एक जना चैत १९ मा पक्राउ परेका थिए । 

अध्यागमन विभागले दुई चरणमा गरी पक्राउ परेका शरणार्थीहरूसँग के के कागजात रहेछ भन्ने बुझिरहेको छ । 

अध्यागमन कार्यालय भने उनीहरूसँग हुँदै नभएको कागजात खोजेर उनीहरूबारे अनिर्णित बसिरहेको छ । विभागले अनुसन्धान अधिकृत तोकेका काँकडभिट्टा अध्यागमनका प्रमुख तुलसी भट्टराई ‘अनुसन्धान प्रतिवेदन बुझाउने तयारी अन्तिम चरणमा पुगेको’ बताउँछन् ।

View : 117

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved