चुहार जिप दुर्घटनामा ८ जनाको मृत्यु
विराटनगर । उदयपुरको बेलका नगरपालिका–७ पाखाबुवामा बिहीबार भएको बोलेरो दुर्घटनामा मृत्यु भएका आठ जना मध्ये सात जना भोजपुरको हतुवागढी गाउँपालिकाका रहेका छन् ।
दुर्घटनाका कारण पालिका नै शोकमा डुबेको भन्दै हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेम कुमार राईले आज शुक्रबार गाउँपालिका अन्तर्गतका सबै सरकारी कार्यालय र विद्यालयहरूमा शोक बिदा दिने निर्णय गरेका छन् । अध्यक्ष राईले शोक वक्तव्य जारी गर्दै बिदाको घोषणा गरेका हुन् ।
को १ ज २५९३ नम्बरको बोलेरो जिप बिहीबार करिव ११ बजेतिर उदयपुर र भोजपुर जोड्ने चुहार पुल नजिकैको ओरालोमा दुर्घटनामा परेको थियो । जिपमा चालकसहित १७ जना सवार रहेका थिए । क्षमताभन्दा बढि यात्रु चढेका कारण ओरालोमा जिप अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
दुर्घटनामा हतुवागढीकै तीन जनासहित ९ जना घाइते भएका छन् । मृत्यु हुनेमा हतुवागढी–२ दिपेनीका एकै परिवारका तीनजना रहेका छन् ।
जिप चालक हतुवागढी गाउँपालिका–२ का ४२ वर्षीय मान बहादुर बस्नेत, बोलेरोमा सवार हतुवागढी गाउँपालिका–२ की ७० वर्षीया पर्वतमाया राई, २३ वर्षीय चन्द्र प्रकाश राई, चन्द्र प्रकाश राईको ६ महिनाको छोरा डिसाङ राई, हतुवागढी गाउँपालिका–९ का ६८ वर्षीय पदम बहादुर थापा, हतुवागढी गाउँपालिका–५ की ३० वर्षीया राम कुमारी राई, र सुनसरीको ईटहरीका ४५ वर्षीय कमल अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
हतुवागढी गाउँपालिका–५ का ४२ वर्षीय किसान राईको उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार साँझ मृत्यु भएको हो ।
उक्त दुर्घटनामा परी हतुवागढी गाउँपालिका–२ की ३२ वर्षीया शान्तिकला राई, हतुवागढी गाउँपालिका–१ का १७ वर्षीय सुनिल परियार, सोही स्थानकी १७ वर्षीया सविना परियार घाइते भएका छन् । घाइतेहरू मध्ये ३२ वर्षीया शान्तिकला हतुवागढी गाउँपालिकामै कार्यरत अनमी रहेको गाउँपालिकाले जारी गरेको शोक वक्तव्यमा उल्लेख छ ।
दुर्घटनामा भोजपुरकै आमचोक गाउँपालिका–६ की २० वर्षीया मिनु राई, सोही स्थानकी ३६ वर्षीया साबित्रा राई, मोरङको कानेपोखरी गाउँपालिका–५ का ३७ वर्षीय विशेष पराजुली, ईटहरी–१७ सुनसरीकी ३४ वर्षीया गायित्री कटवाल, उनकै ८ वर्षकी छोरी निकिता कटवाल र ईटहरी–१७ की २९ वर्षीया रमा थापाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको जनाइएको छ ।
View : 224
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved