Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

पूर्वमा पोल्ट्री फार्ममा फैलिंदै बर्ड फ्लु, विराटनगरभित्रै संक्रमण पूष्टि

उद्‌घोष संवाददाता
९ चैत २०८२, सोमवार

विराटनगर । मोरङ जिल्लासहित पूर्वका धेरै कुखुरा फार्ममा बर्ड फ्लु संक्रमण क्रमशः फैलिँदै गएको छ । जिल्लाका विभिन्न पाँच वटा पोल्ट्री फर्ममा संक्रमण पुष्टि भएसँगै पशु स्वास्थ्य क्षेत्र सतर्क अवस्थामा पुगेको छ ।

भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङका प्रमुख अजयकुमार साहका अनुसार आइतबार विराटनगर–४ स्थित दाहाल कृषि फर्ममा रहेका कुखुरामा बर्ड फ्लु संक्रमण पुष्टि भएको छ ।

संक्रमण नियन्त्रणका लागि प्रभावित क्षेत्रका कुखुरा तथा अन्य पन्छीजन्य वस्तुहरू नष्ट गर्ने कार्य तीव्र बनाइएको छ । साथै, व्यापक रूपमा निसंक्रमण (डिसइन्फेक्सन) गर्ने काम पनि भइरहेको प्रमुख साहले जानकारी दिए ।

सुन्दरहरैचा–४ को हलेसी महादेव कृषि फर्म, उर्लाबारी–८ को अठियावारी कृषि फर्म, कटहरी–२ स्थित ई टु जेड पोल्ट्री फर्म र कटहरी–६ को कामख्या पोल्ट्री फर्ममा पनि संक्रमण पुष्टि भएको थियो । 

संक्रमित पन्छी, तिनका मलमूत्र तथा अन्य सामग्रीलाई सुरक्षित रूपमा खाल्डो खनेर व्यवस्थापन गर्ने काम भइरहेको र थप संक्रमण फैलिन नदिन प्रयास गरिरहेको जनाइएको छ । विराटनगरभित्रै बर्ड फ्लु पुष्टि भएपछि त्यहाँका कुखुरा नष्ट नगर्ने तयारी भइरहेको जनाइएको छ ।

सम्बन्धित निकायले किसानहरूलाई उच्च सतर्कता अपनाउन, कुखुरामा असामान्य लक्षण देखिएमा तुरुन्त जानकारी दिन तथा जैविक सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न कार्यालयले आग्रह गरेको छ ।

यसैसाता मात्र मोरङको सुन्दरहरैंचा र उर्लाबारी हुँदै झापामा कुखुरामा बर्ड फ्लू संक्रमण पुष्टि भएको छ । झापाको दमक र झापा बजारमा रहेका कुखुराफार्मका कुखुरामा संक्रमण पुष्टि भएको हो । 

दमक नगरपालिका–१० स्थित दमक एग्रिकल्चर फार्म प्रालिमा पालिएका कुखुरामा घातक प्रकृतिको बर्डफ्लू  फेला परेपछि स्थानीय कुखुरा व्यवसायीहरूमा चिन्ता बढेको छ । 

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाकी प्रमुख शीतल भट्टराईका अनुसार फार्ममा एकाएक कुखुरा मर्न थालेपछि सञ्चालकले नमुना परीक्षणका लागि विराटनगरस्थित प्रयोगशालामा पठाएका थिए ।

आइतबारदेखि नै कोशी प्रदेश सरकारको ‘रेपिड रेस्पोन्स टिम’ प्रभावित क्षेत्रमा परिचालन गरिएको छ । सो टोलीले प्रारम्भिक अध्ययन गर्दै फार्मको चार किल्ला निर्धारण गरेको छ भने कुखुराको कुल संख्या, मृत्यु संख्या र जोखिमको अवस्थाबारे विस्तृत विवरण संकलन भइरहेको छ ।

संक्रमण थप फैलिन नदिन प्रभावित फार्मका कुखुरा नष्ट गर्ने तयारी गरिएको छ । 

संक्रमण पुष्टि भएका फार्मलाई सरकारले क्षतिपूर्ति दिने व्यवस्था रहेकाले प्रभावित किसानलाई केही राहत मिल्ने अपेक्षा गरिएको छ । तर, सम्भावित आर्थिक क्षति र संक्रमणको जोखिमले किसानहरू अझै चिन्तित छन् ।

झापा गाउँपालिका–७ स्थित सुदीक्षा कृषि फार्ममा ‘एचवान लो प्याथोजेनिक’ प्रकारको बर्ड फ्लू पनि देखिएको छ । 

स्थानीय कृषक दुर्गाप्रसाद भट्टराईको फार्ममा देखिएको यो संक्रमण तुलनात्मक रूपमा कम जोखिमयुक्त मानिन्छ र उपचारबाट निको हुन सक्ने बताइएको छ ।

View : 393

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved