Biratnagar, Morang, Nepal
२५ पुष २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

चासोक तङ्नाम : धर्ती र आकाश, प्रकृति र पुर्खाको पूजा हुने उत्सव

उद्‌घोष सम्वाददाता
१ पुष २०८१, सोमवार

विराटनगर । पुर्खाले सिञ्चेको धर्ती अनि उनीहरुले देखेको आकाशसम्मको पूजा हुने पर्व उधौलीको उल्लास यसबेला कोशीसहित देशका विभिन्न भूभागमा विस्तारित छ । खासगरी चार किरात (राई, लिम्बू, याख्खा, सुनुवार) ले घरघरैमा र सामूहिक रुपमा मनाउने  यो पर्व पूर्खाहरुप्रति श्रद्धासहित सम्झने अवसरका रुपमा पनि मुन्धुमी परम्परामा वर्णित छ । 

चारै किरातले मनाउने भए पनि यहाँ उधौलीका अवसरमा लिम्बू जातिले मनाउने चासोक तङ्नामको चर्चा गर्नेछौं ।  

जब मौसम चिसिदै जान्छ, पारिलो घाम मान्छेका लागि प्रिय हुन्छ । मान्छेका लागि मात्रै होइन, यस्तो  पारिलो घामको खोजी चराचुरुङ्गीदेखि खोलानालाका माछासम्मले गर्छन् । यस्तो  विश्वास मुन्धुमी परम्परामा छ । मुन्धुमका अनुसार जब ती जीवजन्तु जाडो छल्न उभोबाट उधोतिर झर्न थाल्छन्,  त्यसले ऋतु परिवर्तनको संकेत गर्छ अनि सुरु हुन्छ उधौली उत्सव । 

चैत–वैशाख सुरु भएपछि तराई र औल क्षेत्रमा गर्मी सुरू हुन्छ । मंसिरतिर जाडो छल्न उधोतिर झरेका ती जीवजन्तु चैत वैशाखमा उभो–उभो चढ्न थाल्छन् । त्यसबेला उभौली उत्सव मनाइन्छ । मुन्धुमको यही वर्णन अनुसारको चाड उधौलीको उल्लास यतिबेला सुरू भइसकेको छ । 

आइतबारदेखि पूर्वका पहाडी तथा तराईका जिल्लाहरूमा आ–आफ्नो परम्पराअनुसार चार किरात समुदायका विभिन्न जातिहरूले उधौली मनाउदै उत्सवको विधि पूरा गरिरहेका छन् । कुनैबेला घरघरमा मनाइने यो पर्व अचेल सामूहिक रूपमा मनाउने चलन स्थापित भइसकेको छ ।

मानव सभ्यता विकास हुँदै जाने क्रममा एउटा पुस्ताले आर्जन गरेको ज्ञान अर्को पुस्तामा हस्तान्तरण हुँदै आएको छ । मुन्धुम हजारौं वर्षदेखि श्रुति परम्परामा आधारित रहेको ज्ञान परम्परा हो । 

मुन्धुम पछिल्लो समय लिखित रूपमा पनि विकास हुने क्रममा छ । लिम्बू समुदायको  एउटाबाट अर्को  पुस्तामा  हस्तान्तरण हुँदै आएको ज्ञान परम्परा नै मुन्धुम हो ।   

खासगरी याक्थुङ (लिम्बू) सभ्यता, संस्कृति, जीवन पद्धतिलाई डो¥याउने प्रमुख ज्ञान पद्धति हो मुन्धुम । त्यही मुन्धुमका अनुसार जब ऋतु परिवर्तन हुन्छ, हिमाल–पहाडदेखिका माछा, चराचुरुङ्गी उधो–उधो आउन थाल्छन् । 

उनीहरू उधो–उधो आउँदै जानु ऋतु परिवर्तजनको संकेत हो । ठीक यहीबेला नेपालका आदिवासी समुदायले उधौली उत्सव मनाउँछन् । मुन्धुम परम्पराबारे निरन्तर लेख्दै आएका लेखक तथा पत्रकार प्रदिप मेयाङ्बोका अनुसार उधौली भनेको चाहिं न्वागी पूजा गर्ने सबै जाति–समुदायको एकमुष्ठ चाडको नाम हो । 

यही चाडलाई लिम्बू समुदायले चासोक तङ्नाम भनेर मनाउँछन् । नयाँ अन्नबाली उपभोग गर्न पुर्खा अथवा प्रकृतिसँग अनुमति माग्ने पूजालाई चासोक भनिन्छ । तङ्नाम भनेको चाड वा उत्सव हो ।  

मुन्धुम परम्पराबारे जानकार अर्जुनबाबु मावुहाङका अनुसार उधौली उत्सवको सम्बन्ध चैत–वैशाखको वैशाखे पूर्णिमामा सुरू हुने उभौलीसँग जोडिन्छ । 

चैत–वैशाखमा लिम्बू समुदायले आफ्नो देवीदेउता–कूल पितृ सिमेभूमे, धर्तीलाई श्रद्धा र निष्ठापूर्वक भाकेका हुन्छन् । 

‘हामीले लगाएको अन्नपातको बीउ, बोटविरूवा राम्रोसँग उम्रियोस्, बाली विरुवा हुर्कियुन्, सप्रियुन, पाकून् भनेर भाक्ने अनुष्ठान त्यसबेला हुन्छ’ तेह्रथुमको लालीगुराँस नगरका मेयरसमेत रहेका मावुहाङले भने ‘देवारी–फेदाङ्मा (धामीझाँक्री) ले फलाकेर अन्नपात राम्रोसँग फलोस्–फूलोस् भनेर भाकेको हुन्छ ।’ 

त्यसपछि खेतीपाती लगाउने याम सुरु हुन्छ । धान, मकै, लगायतका सबैथरी अन्नपात लगाइन्छ । ती सबै अन्नपात  पाकिसकेपछि, वैशाखे पूर्णिमामा जसलाई भाकिएको हुन्छ, सबैभन्दा पहिले उनीहरूलाई नै चढाउने गरिन्छ । 

आफ्नो आग्रह सुनेर अन्नपातहरू उमारिदिने प्रकृति र पुर्खाहरू नै हाम्रा देउदेउताहरू हुन्, मावुहाङले भने ‘अहिले तिनै देउदेउतालाई थानमा अन्नपातहरू चढाउने काम हुन्छ । यसलाई हामी उधौली चासोक थिसोक भन्छौं । यसलाई नेवाङ्गी पनि भनिन्छ ।’ यही नेवाङ्गी नै क्रमशः न्वागीमा रूपान्तरण भएको विश्वास गरिन्छ ।

चासोक तङ्नामको साँस्कृतिक पक्षबाहेके दार्शनिक पक्ष पनि रहेको मावुहाङ बताउँछन् । उनका अनुसार लिम्बूहरूको पहिलो पुस्ताको उत्पत्तिभन्दा अघि नै यो धर्ती र आकाश ब्रह्माण्डमा थियो । 

‘हाम्रो पहिलो पुस्ताभन्दा अघिको पुर्खा हाम्रा लागि आकाश धर्ती खोलानाला नै हुन् । तिनलाई हामी पुर्खा वा देउताका रुपमा श्रद्धापूर्वक सम्झन्छौं’, मावुहाङले थपे ‘हामीलाई प्राकृतिक विपत्तिबाट बचाइ दिनूहोस् भनेर हामी प्रकृतिलाई नै पुज्छौं । जसरी हाम्रो पहिलो पुस्ता हाम्रो पुर्खा  हो, त्यसैगरी प्रकृति पनि हाम्रो पुर्खा नै हो ।’ 

उनका अनुसार याक्थुम्मा (लिम्बू) समुदायमा एउटा प्रथागत छ । जसमा ढुंगा गाड्ने अनि दुवो छुवाएर न्याय निसाफ गर्ने चलन छ । लिम्बू भाषा अनुसार ‘लुङ’ भनेको ढुंगा र ‘बुङ’ भनेको माटो हो ।

जमिनको सीमा निर्धारण गर्न गाडिने ढुंगालाई ‘लुङ’ भनिन्छ । त्यसरी गाडिएको ‘लुङ’ ले संरक्षण गर्ने जमिनलाई ‘लुङबुङ’  भन्ने चलन छ ।

‘यसरी ढुंगा गाड्नेहरु बढ्दै गए । ढुंगा गाडेर आफ्नो जमिन सुरक्षा गर्नेहरू थपिंदै गएपछि उनीहरू लुङबुङ भनेर चिनिन थाले’ मावुहाङले भने ‘तिनै लुङबुङलाई नेपालका शाह र सेन वंशका राजाहरूले आफूले चिन्नका लागि लिम्बू भन्न थाले । हामीलाई लिम्बू भनेर चिन्न थाल्नेहरु आर्यहरू नै हुन् ।’

यसरी ढुंगा गाड्दै जमिनको सुरक्षा गर्दै बस्दै जानेक्रममा लिम्बूहरू फैलिन थाले । पहिलो पुस्ताले प्रकृतिको पूजा गर्न थालेको थियो । पछिल्लो पुस्ताले प्रकृतिसँगै आफ्ना पुर्खाको पनि पूजा गर्न थाल्यो ।

‘हाम्रा पुर्खा बस्ने ओडार पनि हाम्रो लागि पूज्य थलो हो’, मुन्धुमको निर्देशन सम्झँदै मावुहाङले थपे ‘त्यो ओडारभन्दा माथि हाम्रा पुर्खाको आत्मा छ भन्ने विश्वास छ । त्यसैले हामी हाम्रा पुर्खाले सिञ्चेको धर्तीदेखि देखेको आकाशसम्मको पूजा गर्दछौं ।’

लिम्बू समुदायको वंश कहिलेदेखि विकास भयो भन्नेबारे धेरैको फरक मत छ । तर, जब मान्छेहरुले आफ्नो समयको अनुभव  सम्झेर राख्न सके अनुसार आगोको उत्पत्तिको समयतिरै त्यो समय पुग्ने मावुहाङ बताउँछन् । 

उनका अनुसार पुर्खाहरु बस्ने ओडार, त्यसको  छेउछाउमा बग्ने खोलानाला, डाडा, खोलाका दोभानहरू, वनस्पती सबैमा पुर्खाको आत्मा हुन्छ भन्ने निर्देशन मुन्धुमको छ । 

‘ती सबै चिज पवित्र हुन्छन् भन्ने मान्यता छ । त्यही  पवित्रताकै कारण हामीले प्रकृतिप्रति श्रद्धा गर्छौ’, उनले भने ‘ती स्थानमा थुक्नु, पिसाब गर्ने अथवा फोहोर पार्ने काम गर्नु हुँदैन भन्ने मान्यता छ । त्यसले पानीको स्रोतको पवित्रता कायम हुन्छ ।’

यसरी आफ्ना पुर्खाले सिञ्चेको धर्तीदेखि देखेको आकाशसम्म, अनि पुर्खाहरु बसेको ओडारदेखि तिनले उकालीओराली गरेका डाँडापाखा, खोलानाला सबैको पूजा हुने चासोक तङ्नाम अन्नपात पुर्खालाई चढाउने अवसर पनि हो ।

View : 72

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved