विराटनगर । नेपालकै दोस्रो र कोशी प्रदेशको एक मात्र रात्री समयमा पढाइ हुने विराटनगर महानगरपालिका–२ स्थित विराट महेन्द्र रात्री माविले मंगलबार ६६औँ स्थापना दिवस मनाएको छ । स्थापना तथा अभिभावक दिवसका अवसरमा विद्यालयलाई आगामी शैक्षिक सत्रदेखि क्रमशः दिवा सत्रमा सञ्चालन गर्दै लैजाने घोषणा गरिएको हो ।
स्थापना दिवसको अवसरमा विराटनगर वडा नम्बर २ का वडाध्यक्ष कुमार पोखरेलले विराटनगरको शैक्षिक विकासमा विद्यालयको भूमिका ठुलो रहे पनि रात्रिकालीन सत्रमा विद्यार्थीहरूको सङ्ख्या न्यून हुँदै गएकोले दिवा सत्रमा सञ्चालन गर्ने जानकारी दिए । आफूले विद्यालयको समग्र शैक्षिक विकास, विद्यार्थी सङ्ख्या र गुणस्तर वृद्धिका लागि जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन प्रसाद पौडेलले पनि रात्री सत्रमा विद्यार्थी सङ्ख्या न्यून भएका कारण विकल्पमा दिवा सत्रमा विद्यालय सञ्चालन गरिने बताए । उनले त्यसका लागि सरोकारवाला पक्षसँग बसेर थप छलफल गर्दै विद्यालयलाई अगाडि बढाइने बताए ।
प्रधानाध्यापक झंकप्रसाद पराजुलीले विद्यालयको हालसम्मको प्रगति विवरण सार्वजनिक गरेका थिए । उनले विद्यालयमा विगतदेखि नै विद्यार्थी न्यून हुँदै गएकोप्रति चिन्ता व्यक्त गरे ।
विराट महेन्द्र रात्री माविले विराटनगरको शैक्षिक क्षेत्रमा उल्लेख्य योगदान गरेको बताउँदै विद्यालयलाई अझ राम्रोसँग सञ्चालन गर्न विद्यार्थी सङ्ख्या आवश्यक रहेको बताए । उनले आगामी शैक्षिक सत्र २०८१ बाटै कक्षा ६ लाई दिवा सत्रमा सञ्चालन गरिने जानकारी दिए । त्यस्तै शैक्षिक सत्र २०८२ मा कक्षा ७ र २०८३ मा कक्षा ८ लाई दिवा सत्रमा सञ्चालन गर्ने तयारी शैक्षिक योजना अघि बढाइएको बताए ।
स्थापना दिवसकै अवसरमा विद्यालयबाट माघ ७ मा सेवा निवृत्त भएका शिक्षक खुसीराज गौतमलाई बिदाइ गरिएको जनाइएको छ । त्यसैगरी माध्यमिक, निम्न माध्यमिक तथा प्राथमिक तहमा कार्यरत शिक्षकहरू क्रमशः दुर्गाकुमारी निरौला, ब्युटी श्रेष्ठ र कल्पना खनाललाई समेत सम्मान गरिएको प्रधानाध्यापक पराजुलीले बताए ।
सोही अवसरमा विद्यालयका पूर्व शिक्षक स्व. राधिका भट्टराईको स्मृतिमा उनको परिवारले ५१ हजार रुपैयाँको अक्षयकोष स्थापना घोषणा गरेका छन् । परिवारका तर्फबाट स्व.शिक्षक भट्टराईका पति तारानाथ भट्टराईले अक्षय कोषबाट प्राप्त हुने ब्याजबाट हरेक वर्ष दुई जना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने घोषणा गरेको प्रअ पराजुलीले बताए ।
त्यसैगरी विराटनगर–२ की नमिता रायले समेत एक लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गरेकी छन् । उनले अक्षयकोषको ब्याजबाट आउने रकमलाई सोही विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई अध्ययन अध्यापनमा प्रोत्साहन गर्ने बताइन् ।
स्थापना दिवसका अवसरमा विद्यालयले कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरूलाई विभिन्न विधामा पुरस्कार समेत वितरण गरेको जनाइएको छ ।
View : 340
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved