Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

कालिदह सीमामा एकीकृत जाँच विन्दु स्थापना

उद्घोष सम्वाददाता
२६ भदौ २०८१, बुधवार

लुम्बिनी, २६ भदौ । स्थलमार्गबाट बुद्ध जन्मस्थल लुम्बिनी आउने सबैभन्दा नजिकको कालिदह सीमानाकामा एकीकृत जाँच विन्दु सञ्चालनमा ल्याइएको छ ।

लुम्बिनी आउने पर्यटकलाई लक्षित गरी रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकास्थित कालीदह–१३ स्थित नाकामा आजदेखि जाँच विन्दु सञ्चालनमा ल्याइएको हो । जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले सञ्चालनमा ल्याएको जाँच विन्दुमा सुरक्षालगायत मुख्य जिम्मेवारी सशस्त्र प्रहरीलाई दिइएको छ ।

सवारीसहित नेपाल भित्रिने पर्यटकलाई ठाउँठाउँमा जाँच गर्दा दुःख पाउने गरेको गुनासो बढेपछि एकीकृत जाँच केन्द्र विन्दुको सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । उनले सबै मिलेर पर्यटकलाई स्वागत गर्ने र रुपन्देहीसहित मुलुकमै शान्त तथा सुरक्षित वातावरण छ भन्ने अवस्था सिर्जना गर्नुपर्ने बताए ।

“एकीकृत जाँच विन्दुमा भन्सार, नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरीले संयुक्त सुरक्षा जाँचसहितको कार्ड उपलब्ध गराएपछि जिल्लाभर अन्यत्र अनावश्यक जाँच हुने छैन । सुरक्षाकर्मीलाई सङ्का लागेमा भने जुनसुकै ठाउँमा चेकजाँच हुनसक्छ”, उनले भने ।

नगरप्रमुख सजरुद्दीन मुसलमानले पर्यटकीय वातावरण बनाउन एकीकृत जाँच बिन्दु प्रभावकारी बन्ने विश्वास व्यक्त गरे । उपप्रमुख कल्पना हरिजनले अब विगतमा जस्तो पर्यटकलाई ठाउँठाउँमा जाँच गरेर दुःख दिने अवस्था नहुने बताए ।

जाँच विन्दुको नगरप्रमुख मुसलमान, उपप्रमुख हरिजन, प्रमुख जिल्ला अधिकारी गणेश अर्याल लगायतले संयुक्त रुपमा उद्घाटन गरेका थिए । रुपन्देहीको बेलहिया नाकामा एक महिनाअघि मात्र एकीकृत जाँच विन्दु सञ्चालन गरिएको थियो ।  रासस

View : 98

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved