विराटनगर । सुनसरीस्थित बराहक्षेत्र जाँदै गर्दा बुबासँगै खोलाले बगाएकी धरानकी अनिता राई शुक्रबार दिउँसोदेखि हराइरहेकी छन् । शुक्रबार र शनिबार दिनभरी खोजी गर्दा पनि उनी भेटिएकी छैनन् ।
धरान–१६ का व्यवसायी जीवन राई र उनकी छोरी १८ वर्षीया अनिता बुलेट मोटरसाइकलमा चढेर शुक्रबार दिउँसो बराहक्षेत्र जाँदै थिए । त्यस क्रममा दूधपानी भन्ने खहरे खोलाबाट मोटरसाइकल चढेरै तर्ने क्रममा मोटरसाइकलसँगै उनीहरुलाई खोलाले बगाएको थियो । उनीहरुलाई बगाएको खहरे नजिकै गएर सप्तकोशीमा मिसिन्छ । उनीहरुलाई बगाएको ठाउँबाट ६० मिटर दक्षिणमा सप्तकोशी नदीको भंगालो छ ।
त्यसक्रममा बुबा जीवन पौडेर बाहिर निस्के पनि अनिता भने बेपत्ता बनेको र अहिलेसम्म खोजी जारी रहेको सुनसरी प्रहरीले जनाएको छ ।
अनिताको खोजीमा खटिएका छिमेकी गोपी योगीले दिएको जानकारी अनुसार उनीहरु परिवारै आफ्ना दिवंगत पिताको चिना समापन गर्न बराहक्षेत्र जाँदै थिए । त्यहीक्रममा मोटरसाइकलको पछाडि बसेकी माइली छोरी अनिता र मोटरसाइकल हाँकिरहेका बुबा जीवनलाई खोलाले लडाएको थियो ।
योगीका अनुसार घाइते जीवनको अहिले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार जारी छ ।
‘उनीहरु बगेको ठाउँबाट झण्डै ६० मिटर दक्षिणमा सप्तकोशीको भंगालो छ’ योगीले भने ‘शुक्रबार दिउँसो साढे १ बजेदेखि अहिलेसम्म खोजी गर्दा पनि छोरी भेटिन सकेको छैन ।’
खोलाले मोटरसाइकल लडाएपछि बग्दै गर्दा अनिता बाबा भन्दै चिच्याएको परिवारका अन्य सदस्यले सुनेका थिए । तर, त्यसपछि उनी भेटिन सकेकी छैनन् । मोटरसाइकल पनि भेटिन सकेको छैन ।
View : 576
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved