विराटनगर । कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट फेरि परिवर्तन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोशी अस्पतालको मेसुमा डा रुना झालाई पठाउने निर्णय गरेको छ ।
अस्पताल स्रोतले समेत मेसुमा डा झाको सरुवा भएको जानकारी दिंदै उनी हाजिर हुन आउने दिन भने अहिले नै स्पष्ट नभएको जनाएको छ ।
मेसुको जिम्मेवारी पाएकी डा झा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको वरिष्ठ विशेषज्ञ प्याथालोजिष्ट हुन् । उनले कोभिड–१९ को महामारीको बेलामा छोरी र श्रीमानसहित परिवारका सदस्यहरुलाई बाहिर पठाएर कोरोना भाइरसको परीक्षणमा खटिएकी थिइन् ।
सोही भूमिकाका कारण जनस्वास्थ्य प्रयोगशालाको तत्कालिन निर्देशक रहेकी झाले संयुक्त राष्ट्रसंघ अन्तरगतको यूएनवुमन नामक अन्तर्राष्ट्रिय संस्थाबाट उनी सम्मानित भएकी थिइन् । उनी विश्वभरका पाँचजना प्रभावशाली महिलाभित्र परेकी थिइन् । सोही कारण डा झा सम्मानित भएकी थिइन् ।
यता, मन्त्री फेरिने बितिक्कै कोशी अस्पतालमा मेसु फेरिने प्रवृत्ति बढेको भन्दै आलोचना भइरहेको बेला पुनः मेसु फेरिएको हो । यसअघि ११ औं तहका डा चन्द्रभाल झालाई हटाएर १० तहका डा रविनराज सिंहलाई मेसु तोकिएको थियो । झालाई नियुक्त गर्दा तत्कालिन मेसु सिंह नै थिए ।
स्रोतका अनुसार गत भदौ १३ मा कोशी अस्पतालको स्थलगत निरीक्षणपछि स्वास्थ्यमन्त्री प्रदीप पौडेल अस्पतालमा धेरै भद्रगोल देखेको भन्दै असन्तुष्टि पोखेका थिए ।
View : 160
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved