विराटनगर । कोशी प्रदेश सरकारमा पठाउने मन्त्रीहरूको नाम टुंगो लगाउने नेपाली कांग्रेसभित्रको कसरत बल्ल निष्कर्ष उन्मुख बनेको छ । केन्द्रका शीर्ष नेताहरूले आइतबार दिनभरीमा मन्त्रीहरूको नाम पठाउने सन्देश प्रदेशमा पठाएका छन् ।
केन्द्रका नेताहरूले आइतबार साँझसम्ममा मन्त्रीहरूको नाम टुंगो लगाएर पठाउने बताएको प्रदेशका नेताहरूले जानकारी दिएका छन् । ‘भोलि(आइतबार)सम्ममा मन्त्रीहरूको नाम टुंगो लाग्छ’, कांग्रेस कोशी संसदीय दलका उपनेता हिमाल कार्कीले शनिबार साँझ उद्घोषसँग भने ‘केन्द्रबाट हामीलाई त्यही सूचना आएको छ । आइतबार टुंगो लाग्छ ।’
नेपाली कांग्रेस कोशीका प्रमुख सचेतक गोपाल तामाङले पनि त्यस्तै सूचना आएको जानकारी दिए । ‘शनिबार दिनभरीमा नाम टुंगो लाग्ने सूचना आएको थियो तर बिदाको दिन भएर शीर्ष नेताहरू एकै ठाउ जुट्नु भएन’, तामाङले भने ‘आइतबार सकेसम्म छिट्टै मन्त्रीहरूको नाम पठाइनेछ भनेर शीर्ष नेताहरूले प्रदेशमा सन्देश पठाउनुभएको छ । अब टुंगो लाग्ला ।’
नेकपा एमालेका नेता मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको कोशी सरकारमा पठाउने मन्त्रीहरूको नाम छान्ने कसरत कांग्रेसभित्र दुई महिनायता जारी छ । असार १७ मा नेकपा (एमाले)सँग सत्ता सहयात्रा थाल्ने सहमति पार्टीले गर्नेबित्तिकै कांग्रेस कोशीका धेरै सांसदहरू संघीय राजधानी काठमाडौंतिर दौडिएका थिए । मन्त्री बन्ने आकांक्षा बोकेर लामो समय काठमाडौंमा नेताहरूको घरदैलो चहारेका सांसदहरू दिक्क बनेर प्रदेश फर्किएका थिए ।
आजै टुंगो लाग्छ, भोलि नै टुंगो लाग्छ भन्दै आएका कांग्रेस नेताहरूलाई उद्घोषले यस पटक पनि सोधेको छ ‘आइतबार नै टुंगो लाग्ला भन्ने निश्चित छ कि के हो अवस्था ?’ जवाफमा उपनेता कार्की र प्रमुख सचेतक तामाङको एउटै जवाफ थियो ‘होइन, काठमाडौंमा नेताहरूबीच सहमति भएको सूचना हामीसम्म आइपुगेको छ । यस पटक हामीलाई दिएको सन्देशअनुसार नै निर्णय हुनेमा ढुक्क छौं ।’
सभापति शेरबहादुर देउवा, नेता डा. शेखर कोइराला र कृष्णप्रसाद सिटौला समूहका सांसदहरू रहेको कोशी प्रदेशमा तीन वटै समूहका बहुसंख्यक सांसद मन्त्री बन्ने दौडमा छन् । कांग्रेस स्रोतका अनुसार लामो समयसम्म शेखर कोइराला पक्षले कम्तीमा दुई मन्त्रालय लिने अडान नछाड्दा मन्त्रीको नाम टुंग्याउन सकस भएको थियो । तर, तत्काललाई एक जना मन्त्री र एक जना राज्यमन्त्री लिन कोइराला पक्ष सहमत भएको बताइएको छ ।
नेताहरूका अनुसार शीर्ष नेताहरू तत्कालै मन्त्रालय संख्या बढाउने पक्षमा छैनन् । तर, केही समयपछि कार्यबोझ बढेको बहानामा संख्या बढाउने सम्भावना छ । त्यही भएर तत्कालका लागि एक मन्त्री र एक राज्यमन्त्रीमा शेखर पक्ष सहमत भएको स्रोतले जानकारी दिएको छ ।
कोइराला पक्षबाट मानबहादुर लिम्बू, इन्दिरा थापा, गोविन्द गिरी, रामकुमार खत्री मन्त्रीका दाबेदार छन् । पूर्वमन्त्री शमशेर राईले पनि कोइराला मार्फत मन्त्री बन्ने लविङ जारी राखेका छन् । यीमध्ये कोइराला पक्षबाट मानबहादुर लिम्बू र इन्दिरा थापाको सम्भावना सबैभन्दा बलियो रहेको नेताहरू बताउँछन् ।
कोइराला पक्ष एउटा मन्त्रालय र एक जना राज्यमन्त्रीमा सहमत हुँदै गर्दा संस्थापन पक्षको देउवा समूहमा मन्त्री बन्नेहरूको पेचिलो प्रतिष्पर्धाले निर्णयमा ढिला भएको नेताहरूले बताएका छन् । खासगरी सुनसरीका नेता ज्ञानेन्द्र कार्कीले सुनसरीकै दुई जना सांसद सदानन्द मण्डल र इस्राइल मन्सुरीमध्ये एक जनालाई मन्त्री बनाउन जोडबल गरिरहेका छन् । देउवा पक्षबाट यसअघिदेखि नै केन्द्रीय सदस्य प्रदीप सुनुवार, अमृत अर्याल, उदयपुर सभापति हिमाल कार्की, ताप्लेजुङका सांसद खगेनसिंह हाङ्गाम लगायतका नेताहरु मन्त्री बन्ने प्रतिष्पर्धामा छन् । देउवाका विश्वास पात्र सुनसरीका कार्कीको जोडबल कायम भए मण्डल र मन्सुरीमध्ये एक जना मन्त्री बन्ने पक्का भएको सोही समूहका एक नेता बताउँछन् ।
सभापति देउवाले यसअघि नै ताप्लेजुङका सांसद हाङ्गामलाई मन्त्री बनाउने वचन दिइसकेका थिए । ‘तर, ज्ञानेन्द्र कार्कीको जिल्लागत चासोले उनको निर्णय रोकिएको छ’, स्रोतले भन्यो ‘आइतबार सभापतिले दिने नाम कसको हुन्छ भन्ने केही टुंगो छैन ।’
संस्थापन पक्षमै भए पनि कोशी प्रदेशसभामा शेखर कोइराला पक्ष हाराहारी सांसद संख्या भएका नेता कृष्णप्रसाद सिटौला पक्षबाट केन्द्रीय सदस्य भीम पराजुली र कोशीका महामन्त्री भूपेन्द्र राई मन्त्रीका दाबेदार छन् । अर्का सांसद भूमि राजवंशी, शोभा चेम्जोङ पनि यो समूहबाट मन्त्री दाबी गरिरहेका सांसदहरू हुन् । यद्यपि यो समूहबाट महामन्त्री भूपेन्द्र राईको सम्भावना बलियो रहेको नेताहरू बताउँछन् ।
‘मन्त्रीको नाम पठाउँदा क्षेत्रीय र जातीय क्लस्टर मिलाउनुपर्ने हुन्छ’, देउवा समूहका एक नेताले भने ‘उहाँ खोटाङको हो, त्यसको अर्थ भूगोलले साथ दिएको छ, अर्को कुरा उहाँ जनजाति पनि हो । त्यसैले राईको सम्भावना धेरै देखिएको छ । तर, अन्तिममा निर्णय जे पनि हुन सक्छ ।’
कोशी प्रदेश सरकारमा पठाउने मन्त्रीहरूको नाम प्रदेशलाई छान्नै नदिने र आफू पनि छान्न नसक्ने केन्द्रीय नेतृत्वको अकर्मण्य कार्यशैलीले कोशीमा कांग्रेस लामो समयदेखि अनिर्णयको बन्दी बनेको भन्दै पार्टीभित्रै तीव्र असन्तोष छ । भदौ १४ देखि मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई समर्थन गर्दै कांग्रेस सदनमा सत्ता पक्षको लहरमा बसिसकेको छ ।
प्रदेशको समिति तथा संसदीय दललाई मन्त्री चयन गर्ने मामिलामा भूमिकाविहीन तुल्याएको कांग्रेस केन्द्रले पनि समयमै मन्त्रीको नाम नदिदा कोशीमा पार्टी बद्नाम बनेको सांसदहरू बताउँछन् । सरकारमा सहभागी हुन एकपछि अर्को भाका गुजार्दै लगेको कांग्रेसभित्र प्रदेशलाई भूमिकाहीन तुल्याएकोमा पनि असन्तोष छ ।
‘दुई चार जना मन्त्रीको नाम छान्ने दौड चलेको दुई महिनाभन्दा बढी भयो’, कांग्रेस कोशीका एक सांसदले भने ‘कि नाम टुंगो लगाउने अधिकार प्रदेशलाई दिनु, कि केन्द्रले बेलैमा निर्णय दिनु । यस्तो अनिर्णयको बन्दी बनेर पार्टीको साख माथि उठ्दैन ।’
संघीयता बलियो बनाउन पार्टीका प्रदेशस्थित संयन्क्रहरूलाई त्रियाशील र अधिकारसम्पन्न तुल्याउन केन्द्रीय नेतृत्वले वेवास्ता गरेको नेताहरू बताउँछन् ।
‘प्रदेशमा पठाउने मन्त्री प्रदेश समितिबाटै छान्न दिएको भए यतिबेला मन्त्रीहरू तीव्र गतिमा काम गरिरहेका हुने थिए’,ती सांसदको भनाइ छ ‘गुटगत भागबन्डा मिलाउन भनेको छ, अनेक बहाना गरेको छ । यसरी त पार्टीको प्रदेश समितिको के अर्थ भयो ?’ उपनेता कार्की सांसदहरूको यस्तो आक्रोश जायज भएको र त्यसको सम्बोधन आइतबार दिनभरीमा भइसक्ने दोहोर्याउँछन् ।
View : 151
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved