Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

नेकपा एसको पदाधिकारीमा कोशीबाट चारजना निर्वाचित

उपमहासचिवमा हारे महेश रेग्मी
उद्घोष सम्वाददाता
१२ भदौ २०८१, बुधवार

विराटनगर । देशभरीबाट आफ्ना नेता चुन्न काठमाडौंमा भेला भएका प्रतिनिधिहरूलाई मतदान गर्ने सुविधाबाट वञ्चित गरेको नेकपा एकीकृत समाजवादीले केन्द्रीय सदस्यहरूलाई भने पदाधिकारी छान्ने सुविधा दिएको छ । बुधबार सम्पन्न भएको निर्वाचनबाट एकीकृत समाजवादीका चारवटा महत्वपूर्ण जिम्मेवारीमा कोशी प्रदेशबाट चारजना नेताहरू निर्वाचित भएका हुन् ।

खुला उपाध्यक्षमा उदयपुरका जगन्नाथ खतिवडा, महिला उपाध्यक्षमा भोजपुरकी जयन्ती राई, उपमहासचिवमा भोजपुरकै राजेन्द्र कुमार राई र जनजाति सचिवमा उदयपुरका बलदेव चौधरी निर्वाचित भएका हुन् ।
राष्ट्रियसभामा सांसद रहेकी भोजपुरकी जयन्ती राई महिला उपाध्यक्षमा निर्वाचित हुँदा प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र राई उपमहासचिवमा चुनिएका छन् । उनीहरु दुवै भोजपुरका हुन् ।

उपमहासचिवमै उम्मेदवार बनेका मोरङका महेश रेग्मी भने पराजित बनेका छन् । रेग्मी पराजित भएसँगै एकीकृत समाजवादीमा मोरङ जिल्लाबाट हुने महत्वपूर्ण प्रतिनिधित्वको सम्भावना समेत अन्त्य भएको छ ।

उपाध्यक्षमा जयन्ती राईले चर्चित नेता रामकुमारी झाँक्रीलाई पराजित गरेकी हुन् । मोरङका घनेन्द्र बस्नेतले वरिष्ठ उपाध्यक्षमा दिएको उम्मेदवारी फिर्ता लिएका थिए । उनले उम्मेदवारी फिर्ता लिएपछि राजेन्द्र पाण्डे वरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए ।

लामो समयदेखि माधव नेपाललाई साथ दिँदै आएकी राई महासचिव भूसाल समूहबाट विजेता बनेकी हुन् भने पूर्व मुख्यमन्त्री राई नेपाल समूहबाट छानिएका हुन् । 

जयन्ती राई १२ माघ २०७८ मा राष्ट्रिय सभा सदस्य चुनिएकी थिइन् । भोजपुर ट्याम्के मैयुङकी जयन्तीको राजनीतिक यात्रा २०३६ सालको विद्यार्थी आन्दोलनबाट शुरु भएको थियो । २०५४ सालमा भोजपुर जिल्ला विकास समितिको उपसभापति निर्वाचित भएकी उनी दोस्रो जनआन्दोलनपछि एमालेबाट  प्रतिनिधि सभा सदस्य बनेकी थिइन् । २०७० मा भने समानुपातिकबाट सभासद रहेकी उनी पार्टी विभाजनयता उपाध्यक्ष थिइन् । 

उपमहासचिवमा निर्वाचित पूर्वमुख्यमन्त्री राई यसअघि सचिव थिए । माधव नेपालका पुराना सहयोगी उनी यसपटक नेपालको पक्षमा अझ खुलेर लागेका नेता हुन् । त्यस्तै मधेसी क्लस्टरबाट धर्मनाथ साह निर्वाचित भएका छन् ।  उनले रामचन्द्र झालाई पराजित गरेका हुन् । 

निर्वाचन समितिले दिएको जानकारी अनुसार खुला उपाध्यक्षमा गंगालाल तुलाधर, भानुभक्त जोशी, जगन्नाथ खतिवडा, प्रकाश ज्वाला निर्वाचित भएका छन् । ज्वाला र जोशी बाहेक सबै अध्यक्ष माधवकुमार नेपाल पक्षका हुन् । जगन्नाथ खतिवडा उदयपुरका हुन् । उपमहासचिवमा खुलातर्फ राजेन्द्र राईसहित गरिमा शाह, रामकुमार भट्टराई, मेटमणि चौधरी निर्वाचित भएका छन् । 

आदिवासी जनजातिबाट सचिवमा बलदेव चौधरी र दलिततर्फ गणेश विश्वकर्मा निर्वाचित भएका छन् । उदयपुरका चौधरी नेकपा एस कोशीका अध्यक्षसमेत हुन् । 

खुला सचिवमा शेरबहादुर कुँवर, सोम पाण्डे, चन्द्रबहादुर शाही, सावित्रा भूसाल, श्रीनाथ बराल निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा १७ पदका लागि ६७ जना प्रतिस्पर्धामा थिए ।

गत असार १६ देखि २० गतेसम्म काठमाडौंस्थित प्रज्ञा भवनमा भएको दशौं महाधिवेशनबाट अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिवमा घनश्याम भूसाल सर्वसम्मत भएका थिए । बाँकी पदाधिकारी चयन हुन बाँकी थियो ।

View : 169

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved