विराटनगर । मोरङको रंगेली नगरपालिका–३ सन्थाल बस्तीमा शनिबार अपरान्ह भएको आगलागीमा २३ वटा घर जलेका छन् । आगलागीबाट बाबुसाहेब टोलमा रहेका सन्थालका सवै घर जलेको जनाइएको छ ।
रंगेली नगरपालिका, कानेपोखरी गाउँपालिका, सुन्दरहरैंचा नगरपालिका लगायत आसपास क्षेत्रका पालिकाहरुको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन दाहालले बताए । उनले क्षतिको विवरण संकलन भइरहेका कारण यकिन भन्न नसकिने जानकारी दिए ।
सन्थालहरुले बाँस, सन्ठी जस्ता स्थानीय सामग्री प्रयोग गरी बनाएका घरहरु जलेका हुन् । स्थानीयले भने सन्थाल बस्तीको छानो माथिबाट टाँगिएको विद्युतको तार एक आपसमा छोएर आगलागी भएको बताएका छन् ।
जंगली सतारको फुसको छाना भएको घरबाट सल्किएको आगो टोलैभरी फैलिएको जनाइएको छ । त्यहाँ विद्युतको तार पर्याप्त मात्रामा नतानिएका कारण एकआपसमा ठोक्किएर आगो लागेको भन्दै उनीहरुले प्राधिकरणप्रति आक्रोस पोखेका छन् ।
आगलागी पीडितहरुलाई अहिले सुरक्षित स्थानमा राख्ने र खाद्यान्नको व्यवस्थापन गर्ने काम भइरहेको जनप्रतिनिधीहरुले बताएका छन् ।
View : 694
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved