Biratnagar, Morang, Nepal
२८ फागुन २०८१, बुधवार
+977 21 450305, 515728, 578305
राजनीति

प्रचण्डलाई प्रदीप ज्ञवालीको टिप्पणी

‘सत्ताबाट हटेपछि केराको पात याद आएको छ’

उद्‌घोष सम्वाददाता
१७ फागुन २०८१, शनिवार

विराटनगर । नेकपा एमालेका उपमहासचिव एवं स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले सत्ताबाट हटेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई केराको पात याद आएको टिप्पणी गरेका छन् ।

माओवादी अध्यक्ष प्रचण्डले जागरण अभियानको उद््घाटनका क्रममा झापाको कचनकवलमा केराको पातमा भात खाएको फोटोप्रति उपमहासचिव ज्ञवालीले यस्तो टिप्पणी गरेका हुन् । 

शनिबार नेकपा एमाले मोरङको १० औं जिल्ला अधिवेशनको उद्घाटनमा आफ्नो मन्तव्य राख्दै एमाले नेता ज्ञवालीले सत्ताबाट हटेपछि प्रचण्डलाई केराको पात र मर्निङको याद आएको बताए ।

उनले माओवादीका कारण मुलुक विकास पछि परेको बताए । उनले माओवादीको हिंसात्मक आन्दोलनका कारण चक डस्टरमा खर्च गर्नुपर्ने पैसा तत्कालिन राज्यसत्ताले गोला बारुद किन्न खरिद गर्नुपर्ने अवस्था सृजना भएको बताए ।

एमालेले विगतमा प्रचण्डलाई फकाएर मुलुकलाई निकास दिन सकिन्छ भन्ने सोचेको तर कहिले कांग्रेस, कहिले एमालेको काँधमा चढेर बन्दुक पड्काउन थालेपछि एमाले–कांग्रेस मिल्नुपर्ने अवस्था बनेको बताए । 
उपमहासचिव ज्ञवालीले पहिचानका नाममा कोशी प्रदेशमा जातीय हिंसा बढाउन प्रचण्डले भूमिका खेलिरहेको दाबी गरे । 

साथै उनले एमाले परिपूर्ण लोकतन्त्रको च्याम्पियन तथा ऐतिहासिक विरासत बोकेको पार्टी भएकोले जिल्ला अधिवेशनमार्फत पार्टीलाई एकतावद्ध बनाएर अघि बढाउनु पर्ने धारणा राखे । उनले एमालेले आन्तरिक जीवनमा लोकतान्त्रिक अभ्यासको अधिकतम् प्रयोग गर्दै आएको दाबी गरे ।

तर लोकतन्त्रलाई कहिलेकाँही एक पक्षीय रुपमा व्यँख्या गर्न खोज्ने घटनाप्रति नेता कार्यकर्ताहरू सजग रहनुपर्ने बताए । एमालेका नेता कार्यकर्ताहरू कांग्रेस र माओवादीसँग चिया लन्च गर्न सजिलो मान्ने तर आफ्नै नेता कार्यकर्तासँग सम्वाद समेत नगर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताए ।

उनले कांग्रेसका सहयोगमा बनेको एमाले नेतृत्वको वर्तमान सरकारका कारण मुलुकको आर्थिक अवस्थामा सुधार आउन थालेको बताए । सरकारका कामलाई निजी क्षेत्रले समेत राम्रो भनेका कारण आर्थिक विकासमा मुलुक अघि बढ्ने विश्वास व्यक्त गरे ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सवै कार्यकर्ता एकैतिर फर्किएर जिन्दावाद भन्ने हो भने मोरङमा कसैले पनि एमालेलाई रोक्न नसक्ने बताए । उनले १० औं जिल्ला अधिवेशनबाट चयन हुने नयाँ नेतृत्वले एमालेलाई कहिल्यै पराजित नहुने गरी अघि बढाउने बताए । पार्टी निर्माणका लागि एकतावद्ध भएर नेतृत्व चयन हुनेमा आफु विश्वस्त रहेको कार्कीले बताए ।

नेकपा एमालेका केन्द्रीय सदस्य एवं मोरङ जिल्ला इन्चार्ज जीवन घिमिरेले पुराना पाका नेतृत्व र नयाँ पुस्ताको समिश्रण गरेर अवको नेतृत्व निर्माण हुने बताए ।

कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले पार्टीभित्रका मसिना खिलघाउलाई सफा गरेर एकताको अधिवेशन बनाएर जानुपर्ने बताए । 

प्रतिनिधि सभाका सांसद एवं सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले पार्टी विभाजनको चोटका वावजुद २०७८ पुस २४ गते नवौं जिल्ला अधिवेशन सम्पन्न गरी मोरङमा एमालेलाई नयाँ ढंगले अघि बढाएको बताए । 

उनले छरिएको पार्टी नेतृत्वलाई जोडबलका साथ एकठाउँमा ल्याएर कठिन अवस्थामा पनि एमालेको पक्षमा राजनीतिक उभार उत्पन्न गराएको बताए । त्यसैले अहिले पनि नयाँ नयाँ चुनौति कायम रहिरहेको भन्दै पार्टीका सवै नेता कार्यकर्ता एक भएर अघि बढ्नुपर्ने बताए । पोखरेलले भने– ‘नत्र अर्को व्यक्तिले हाम्रो परिवारमा हात हाल्छ ।’

View : 176

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved