Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

अजरबैजानमा निधन भएका विराटनगरका डा. आरके सिंहको शव काठमाडौं आइपुग्यो

स्थलमार्गबाट विराटनगर ल्याइँदै, आजै अन्तिम संस्कार गरिने
उद्‌घोष संवाददाता
२४ साउन २०८१, बिहिवार

Advertisement

विराटनगर । अजरबैजानको बाकुमा सोमबार बिहान निधन भएका  विराटनगरका वरिष्ठ सर्जन डा. आरके(राजकुमार) सिंहको शव काठमाडौं आइपुगेको छ । डा. सिंहको शव आज बिहीबार बिहान टर्किस एयरको विमानबाट काठमाडौंस्थित त्रिभुवन विमानस्थल आइपुगेको हो ।

सो एयरलाइन्सको विमान आज बिहान ६ः१० मा अवतरण हुनैलाग्दा ‘मिस एप्रोच’ भएर ओभरसुट भएको थियो । केही बेर आकाशमै होल्ड भएपछि फेरि अवतरण गरेको उक्त जहाजले टर्कीको राजधानी इस्तनाबुलबाट डा. सिंहको कार्गो शव नेपाल ल्याएको हो ।

नेपाल आएपछि परिवार डा. सिंहको शव बुझी विराटनगरतर्फ प्रस्थान गरेका छन् । एम्बुलेन्समा राखेर शव सिन्धुलीको बाटोबाट विराटनगरतर्फ ल्याउँदै गरेको पारिवारिक स्रोतले जानकारी दिएको छ । शव अपरान्हसम्म विराटनगरमा आइपुग्ने बताइएको छ । विराटनगर–१० तिनटोलिया फणिन्द्र मार्गस्थित डा. सिंहको निवासस्थलमा शव केही समय राखी आजै अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

विराटनगरका वरिष्ठ सर्जन डा. आरके सिंहको अजरबैजानको राजधानी बाकुमा स्थानीय समयअनुसार गत सोमबार बिहान साढे ६ बजे निधन भएको थियो । श्रीमतीसहित अजरबैजान गएका सिंहको ‘साइलेन्ट हर्टअट्याक’ का कारण निधन भएको बताइएको छ ।

उनी निधन भएको देशमा नेपाली दुतावास तथा सम्पर्क कार्यालयसमेत नभएको कारण शव ल्याउन रसियाको मस्कोस्थित नेपाली दुतावासले सहजीकरण गरेको थियो । मस्कोस्थित नेपाली राजदुत मिलन तुलाधारको सहजीकरणमा डा. सिंहको शव अजरबैजानको बाकुबाट टर्कीको इस्तानाबुल हुँदै नेपाल ल्याइएको हो ।

‘क्लब–४१’ नामको क्लबबाट अजरबैजान घुम्न र क्लबको साधारणसभा गर्न गएका बखत डा. सिंहको निधन भए थियो । ‘क्लब–४१’ राउण्ड टेबलमा ४० वर्ष उमेर कटेपछि आवद्ध हुने क्लब हो । सो क्लबको साधारणसभा गर्न विराटनगरबाट १२ जोडी श्रीमान्-श्रीमती सँगै गएका थिए । डा. सिंह साँझ सँगै खानपिन गरेर सुतेकोमा बिहान एक पटक पिसाब फेरेर ‘आफूलाई राति राम्रो निद्रा परेन’ भनेर फेरि सुतेका थिए ।

त्यहाँको समयअनुसार उनको बिहान साढे सात बजेतिर निधन भएको बताइएको छ । बिहान ९ बजेको भ्रमणका लागि डा. सिंहको जोडी तयार नभएपछि सोधखोज गर्दा डा. सिंह ओछ्यानमै अचेत थिए । उनी बसेको होटलमै डाक्टर बोलाउँदा चिकित्सकले ‘हि इज नो मोर’ भनेका थिए ।

डा. सिंह विराट शिक्षण अस्पतालका पूर्णकालीन चिकित्सकका साथै एसोसिएसट प्रोफेसर थिए । उनले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लामो समय पढाएका थिए । त्यस्तै डा. सिंहले पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल संकायको डिन भएर पनि काम गरेका थिए ।

पर्साको गम्हरिया प्रिपा मूल घर भएका डा. सिंह केही वर्षदेखि विराटनगर-१० तिनटोलियामा आफ्नै घरमा बस्दै आएका थिए । वि.सं. २०१६ असार २ गते जन्मिएका डा. सिंहका एक छोरा, एक छोरी र श्रीमती छन् ।

View : 6864

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved