Biratnagar, Morang, Nepal
४ असोज २०८३, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

कटहरीमा लेदोसहितको खानेपानी वितरण भएपछि  विरोध

उद्‌घोष संवाददाता
२७ जेठ २०८३, बुधवार

सभापति मण्डलको धारामा आएको लेदो पानी । तस्वीर : उद्घोष

Advertisement

विराटनगर । मोरङको कटहरी खानेपानी आयोजनाले वितरण गरेको पानीमा उपभोक्ताको भान्सामा लेदो झरेपछि स्थानीयले बिरोध गरेका छन् । केही दिनदेखि लगातार लेदो पानी आएकाले स्थानीयले पानीको बिल नतिर्नेसमेत बताउँदै आएका छन् । 

लेदो पानी आइरहेका बेला बिल आएको भन्दै स्थानीय राजेश बरालले आधा बिल नतिर्ने सामाजिक सञ्जालमार्फत घोषणा गरे । 

‘पानी पिउन नपाइ, कपडा धुन नपाइ केको बिल ?’ उनले एक हजार एक सय ३६ रुपैयाँको बिल सार्वजनिक गर्दै फेसबुकमा लेखेका छन् ।

छुनसमेत नहुने फोहोर पानी धारामा आएकाले कटहरीका धेरै नागरिक यतिबेला पीडित छन् । खासगरी २ नम्बर वडा र आदर्शनगरमा यो समस्या बढी देखिएको छ ।

कटहरी–२ का नेपाली कांग्रेस सभापति सञ्जय मण्डलले फेसबुकमा लेखेका छन्, ‘धेरै समस्या भोगियो पानीको विषयले, कहिले राम्रो पानी आउँछ जानकारी छैन, दिनभरि पानीले हैरान बनाउँछ रातभरि विद्युतले ।’

घरमा बिरामी बाबुआमाले नुहाउने पानीसमेत नपाएको उनले बताए ।

खानेपानी आयोजनाले उपभोक्ताबाट उठाएको पैसाले आयोजनाका पदाधिकारी र परिवारका सदस्यलाई भ्रमण गराउँदै आएपनि उपभोक्ताको समस्यामा ध्यान नदिएको मण्डलको दाबी छ ।

२०५८ सालमा स्थापित सो आयोजनाले बोरिङबाट सिधै उपभोक्तालाई पानी दिंदै आएको थियो । २ नम्बर वडाका लागि गाउँपालिकाले हालसालै पानी प्रशोधन प्लाण्ट जडान गरेपछि सो समस्या आएको हो ।

पालिका अध्यक्ष देवराज चौधरी प्लाण्टले पानी फोर्सले फाल्दा वर्षौदेखि जमेको पाइपको फोहर गएको बताउँछन् ।

दुई चार दिनमा फोहोर गैसक्ने र त्यसपछि सफा पानी आउने उनले दाबी गरे । उनका अनुसार पालिकाले तीन साताअघि ४४ लाख ५० हजारको लागतमा प्लाण्ट जडान गरेको हो ।

आयोजनाले कटहरीका सात वडामध्ये १ देखि ४ सम्म एक हजार ६ सय २५ उपभोक्तालाई पानी उपलब्ध गराउँदै आएको छ । 

२ नम्बर वडाको आदर्शनगरमा बढी जनघनत्व भएकाले पानीको माग बढी छ । पानीको समस्याले स्थानीयको आक्रोश बढेपछि सोमबार आयोजना सञ्चालक समितिको बैठक बसेर पाइप सफा नहुञ्जेल प्लाण्ट रातिराति सञ्चालन गर्ने निर्णय गरेको छ ।

खानेपानीका अध्यक्ष तथा पूर्व सांसद विद्यानन्द चौधरीले राति ९ देखि १२ बजेसम्म मात्रै प्लाण्ट सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार एक हजार ७ सय जति उपभोक्ताले यस आयोजनाको पानी पिउने गरेका छन् । 

माग अझै बढेकाले थप दुईवटा बोरिङ गाड्न खानेपानी डिभिजन कार्यालयले ठेक्कासमेत लगाइसकेको उनले बताए ।

उनका अनुसार २ नम्बर वडामा भएको बोरिङबाट उत्पादित पानीमा आइरन भएको र गन्हाउने पानी आउने गरेकाले प्लाण्ट जडान गरिएको हो । 

५ सय फिट गहिराइको बोरिङबाट तानिएको पानी पिउनयोग्य भएकाले अरु वडामा भने फिल्टर नगरी सिधै पठाउने गरिएको उनको भनाइ छ ।

View : 257

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved