Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

झापामा एक वर्षमा एक हजार २९६ सवारी दुर्घटनाः ९५ जनाको मृत्यु

उद्‌घोष संवाददाता
३ साउन २०८२, शनिवार

भद्रपुर । जिल्लामा आर्थिक वर्ष २०८१/ ८२ (साउन–असार)मा एक हजार २९६ सवारी दुर्घटना हुँदा ९५ जनाले ज्यान गुमाएका छन् ।

दुर्घटनामा एक हजार ९३४ जना सामान्य घाइते हुँदा १३९ जना गम्भीर घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलका अनुसार एक वर्षको अवधिमा ५२ हजार ८७५ जना सवारी चालकलाई कारबाही गरिएको छ ।

उक्त कारबाहीबाट तीन करोड ९५ लाख ५५ हजार ५६० रुपयाँ राजस्व संकलन भएको छ ।

यस्तै मादक पदार्थ सेवन (मापसे) अन्तर्गत तीन हजार १७४ जना कारवाहीमा परेका छन्, जसबाट १८ लाख रुपैयाँभन्दा बढी जरिवाना संकलन प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।

जिल्लाभर ट्राफिक सचेतनामूलक कार्यक्रम अन्र्तगत विद्यालय तहका आठ हजार ४६१ विद्यार्थीहरूलाई ट्राफिक नियमसम्बन्धी कक्षा दिइएको छ भने एक हजार २५० जनालाई मापसे सचेतना प्रशिक्षण प्रदान गरिएको ट्राप्रनि पौडेलले बताए ।

यसैबीच, ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउँदै जिल्लामा ट्राफिक भ्वाइलेशन रिकार्ड प्रणाली (टिभिआरयस) र अनलाइन जरिवाना तिर्ने प्रणाली लागू गरिएको उहाँले जानकारी दिए ।

गत आर्थिक वर्ष २०८१/८२ मा कार्यालयले सवारी नियमनका लागि ७० थान रिफ्लेक्टर बेल्ट, ३० ट्राफिक साइन बोर्ड, ४ म्याजिक लाइट, ३ ब्रीथालाइजर, ७ कम्प्युटर, १ गोप्रो क्यामेरा र १ ल्यापटप प्रयोगमा ल्याएको छ ।

ट्राफिक सुधार अभियानमा विभिन्न स्थानीय तह, विद्यालय, अस्पताल, सञ्चार संस्था र सामुदायिक केन्द्रसमेतको सहकार्य गरिएको ट्राप्रनि पौडेलले बताए ।

कक्षा ६ देखि १० सम्मका विद्यार्थी, अटो÷सिटी चालक, तथा समाजका अन्य पक्षलाई लक्षित गरी गरिएको कार्यक्रमले सडक सुरक्षामा साझा प्रयासको सन्देश दिएको उनको भनाइ छ ।

View : 336

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved