Biratnagar, Morang, Nepal
६ साउन २०८३, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

प्रदेशमा सहयात्रातिर एमाले र नेकपा

उद्‌घोष संवाददाता
६ साउन २०८३, बुधवार

फाइल फोटो ।

Advertisement

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको सहमतिमा दुवै दल कायम रहे अब कोशीसहितका प्रदेशहरूमा तिनै दुई दलले सरकार बनाउने भएका छन् । अहिलेसम्म प्रदेश सरकारमा रहेको नेपाली कांग्रेस विपक्षमा पुग्ने भएको छ । 

मंगलबारको सहमतिसँगै यी दुई वाम दल एमाले र नेकपा पुनः प्रदेश राजनीतिक सहकार्यको बाटोमा फर्कने भएका छन् । 

नेकपा कोशी संसदीय दलका नेता इन्द्र आङ्बो र पूर्वमुख्यमन्त्री राजेन्द्र राईले दिएको जानकारीअनुसार एमाले अध्यक्ष ओली र नेकपाका संयोजक प्रचण्डबीच काठमाडौंमा भएको छलफलपछि  प्रदेशहरूमा मिलेर अघि बढ्ने सहमति जुटेको हो । 

प्रचण्डले मंगलबार नै मधेश पुगेर ‘अब एमालेसँग सहकार्य सुरु भएको’ बताएका छन् । 

संयोजक प्रचण्डले एमाले अध्यक्ष ओलीसँगको भेटघाट लगत्तै कोशी प्रदेशका आफ्ना दुई प्रभावशाली नेतहरू पूर्वमुख्यमन्त्री राई र संसदीय दलका नेता आङ्बोसँग छलफल गरेका थिए । 

त्यसक्रममा प्रचण्डले कोशीसहितका प्रदेशहरूमा अब एमालेस“गकै सहकार्यमा अघि बढ्नुपर्ने राजनीतिक बाध्यता र परिस्थिति बनेको स्पष्ट पारेका थिए । शीर्ष तहको छलफलपछि संयोजक प्रचण्डले प्रदेशको राजनीतिक गतिरोध अन्त्य गर्न एमालेसँग हात मिलाउनुपर्ने अवस्था आएको जानकारी दिएको आङ्बोले जानकारी दिए । 

‘अध्यक्ष ओलीसँगको वार्ता सिद्धिएलगत्तै हामीले संयोजकसँग भावी राजनीतिक कोर्सबारे छलफल गरेका थियौं,’ नेता अङ्बोले भने, ‘उहाँले अब प्रदेशहरूमा, विशेष गरी कोशीको स्थायित्वका लागि एमालेसँग मिलेर अघि बढ्नुको विकल्प नरहेको स्पष्ट पार्नुभयो ।’ 

यस्तै, पूर्वमुख्यमन्त्री राजेन्द्र राईले पनि प्रदेश सभालाई सम्भावित विघटन वा अन्योलबाट जोगाउन र वामपन्थी शक्तिहरूलाई एक ठाउँमा ल्याउन नयाँ कोर्स सुरु भएको पुष्टि गरे । 

नेकपाका कोशी प्रदेश नेताहरूका अनुसार उनीहरूको पहिलो प्राथमिकता कांग्रेससहितको त्रिपक्षीय (एमाले–कांग्रेस–नेकपा) सहकार्य निर्माण गरी प्रदेश सरकारलाई सर्वस्वीकार्य बनाउने भन्ने  थियो । 

तर, कांग्रेस नेतृत्वले तीन दल मिलेर प्रदेश चलाउने विषयमा समर्थन जनाएनन् । 

कांग्रेस सभापति गगन थापासँगको वार्तामा तीन दलीय सहकार्यको प्रस्ताव राखिए पनि कांग्रेसले स्पष्ट रूपमा प्रतिपक्षमा बस्ने रुचि देखाएपछि एमाले र नेकपा सहकार्यतिर अघि बढ्ने अवस्था सिर्जना भएको नेकपा नेताहरूले बताएका छन् ।

‘हामीले कोशीसहितका प्रदेशमा कांग्रेसलाई पनि समेटेर राष्ट्रिय सहमतिको सरकार बनाउन जोड दिएका थियौं,’ आङ्बोले भने, ‘तर कांग्रेस प्रतिपक्षमा बस्न उद्यत भएपछि प्रदेश सभाको रक्षा र राजनीतिक स्थायित्वका लागि एमालेसँग सहकार्य गर्नु नै एक मात्र व्यावहारिक विकल्प बन्यो ।’ 

तर, कांग्रेससँगको छलफल पनि जारी रहेको र उसलाई मनाउने प्रयास भइरहेको नेकपा नेताहरूको भनाइ छ । 

‘अब कांग्रेस र हामी मात्रै मिलेर सरकार चलाउने भन्ने कुराको च्याप्टर क्लोज भयो,’ आङ्बोले भने ‘अब कि तीन वटै दल मिलेर चलाउन पर्यो, कि एमाले र नेकपाले मात्रै चलाउने अवस्था हुन्छ ।’

अहिले कोशीसहितका प्रदेशमा एमाले र कांग्रेस सरकारमा छन् । यद्यपि उनीहरूबीचको सहकार्य धरापमा परेपछि नयाँ कसरत सुरु भएको थियो । 

यदि प्रदेशमार्फत सहकार्यमा फर्किए भने दुई वाम दल २५ महिनापछि एकै ठाउँ उभिन पुग्नेछन् । 

यसअघि २०७९ पुस १० मा बनेको तत्कालीन एमाले–माओवादी गठबन्धन राष्ट्रपति निर्वाचन ताका भत्केको थियो । २०७९ फागुनसम्म आइपुग्दा भत्किएको त्यो गठबन्धन फेर जोडिएको थियो । 

२०८० फागुनमा पुनः एमाले–माओवादी सहकार्य भए पनि २०८१ असारमा एमाले र कांग्रेसबीच सत्ता साझेदारी भएपछि प्रचण्ड नेतृत्वको केन्द्रीय सरकार ढलेको थियो ।

पछि जेनजी आन्दोलनसहितका  राजनीतिक घटनाक्रम र फागुन २१ को निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रमा स्पष्ट बहुमत हासिल गरेपछि पुराना दलहरू केन्द्रमा प्रतिपक्षमा पुग्न बाध्य भए ।

केन्द्रमा शक्ति गुमाएका यी दलहरूका लागि अहिले प्रदेश नै राजनीतिक अस्तित्व र शक्ति अभ्यासको मुख्य थलो बनेका छन् । 

सुदूरपश्चिम, कर्णाली र बागमतीमा सरकार पुनर्गठनको प्रक्रिया अघि बढिसकेको अवस्थामा कोशी प्रदेशमा पनि एमाले र नेकपा मिल्दा सरकार सञ्चालनका लागि स्पष्ट र सहज बहुमत पुग्ने देखिन्छ । 

कोशीमा एमालेसँग ४० र नेकपासँग १७ सदस्य संख्या छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सदस्य आवश्यक पर्छ । 

नेकपा नेता राजेन्द्र राईका अनुसार कांग्रेसले तीन दल मिलेर जान नसकिने स्पष्ट अडान लिएपछि प्रदेश बचाउन र वामपन्थी शक्तिलाई एक ठाउँमा ल्याउन वाम गठबन्धन अपरिहार्य बनेको हो । 

यदि यो सहमति व्यावहारिक रूपमा कार्यान्वयनमा आएमा एमाले र नेकपा कोशी प्रदेशको सत्ता सम्हाल्दै पुन सहयात्रामा जोडिने छन् ।

View : 47

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved