विराटनगर । कोशी प्रदेशका एक हजार ९०७ मतदान स्थलमध्ये झापा–५ र सुनसरी–१ सहित ४३९ मतदान स्थल अति संवेदनशील छन् । सुरक्षा निकायका लागि झापा निर्वाचन क्षेत्र नम्बर–५ सबैभन्दा संवेदनशील निर्वाचन क्षेत्रको रूपमा रहेको छ ।
यहाँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उनलाई टक्कर दिन रास्वपाबाट उम्मेदवार बनेका बालेन्द्र शाह (बालेन) बीच चुनावी भिडन्त तय भइसकेको छ ।
मंगलबार मनोनयन दर्ताकै क्रममा रास्वपा र एमाले कार्यकर्ताहरूबीच झडपसमेत भइसकेका कारण सुरक्षा निकायको आँखामा यो क्षेत्र सवैभन्दा धेरै संवेदनशील मानिएको हो ।
सुरक्षा अधिकारीका अनुसार सुनसरी–१ भने त्यसपछिको अति संवेदनशिल क्षेत्र हो । श्रम संस्कति पार्टीबाट उम्मेदवार बनेका धरानका पूर्व मेयर हर्कराज राई र अन्य दलहरूको प्रतिष्पर्धा समेत सुरक्षाको दृष्टिकोणबाट अति संवेदनशील बनेको हो ।
हर्कराजले आफूलाई भावी प्रधानमन्त्रीका रुपमा घोषित गर्दै चुनावी अभियान चलाइरहेको र उनका समर्थकहरू विपक्षीविरुद्ध भौतिक रुपमा जाइलाग्ने प्रबृत्तिका भएका कारण सुरक्षा निकायले अति संवेदनशील चुनावी क्षेत्रमा सुनसरी–१ लाई राखेको जनाइएको छ ।
यो क्षेत्र जातीय संरचनाका कारणसमेत अति संवेदनशील रहेको छ । विगतमा जातीय रुपमा भएका प्रदर्शनहरूलाई नियन्त्रणमा लिन यहाँ सुरक्षा निकायले अनेकौं चलाखी अपनाउनु परेको थियो ।
निर्वाचन आयोगका अनुसार कोशी प्रदेशमा कुल एक हजार ९०७ वटा मतदान स्थल कायम गरिएको छ । जसमा ४ हजार २७० वटा मतदान केन्द्र तोकिएका छन् ।
कोशीमा ८ सय २१ वटा मतदान स्थल संवेदनशील छन् । ६ सय ४७ स्थल सामान्यमा राखिएको जनाइएको छ ।
मोरङमा सवैभन्दा धेरै ३०६ वटा मतदानस्थल छन् । त्यसपछि झापामा २८५, सुनसरीमा १६५, इलाममा १५०, खोटाङमा १३६, खोलुखुम्बुमा १२३, धनकुटामा ११९, संखुवासभामा १०९, उदयपुरमा १०३ मतदान स्थल तोकिएका छन् । त्यस्तै, पाँचथरमा १०२, भोजपुरमा ८७, ओखलढुंगामा ८४, ताप्लेजुङमा ८० र तेह्रथुममा सवैभन्दा कम ५६ वटा मतदान स्थल छन् ।
फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनमा कोशी प्रदेशमा ३५ लाख ७४ हजार ३१० मतदाता कायम भएको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । जसमा पुरुष १८ लाख २८ हजार २१३ जना, महिला १७ लाख ४६ हजार ७३ जना र २४ जना अन्य मतदाता छन् ।
मतदाताको संख्याको आधारमा मोरङमा सवैभन्दा धेरै ७ लाख ८३ हजार ५० जना र तेह्रथुममा सवैभन्दा कम ७३ हजार १३७ जना मतदाता छन् ।
View : 174
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved