Biratnagar, Morang, Nepal
८ जेठ २०८२, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

कोशीमा विपदको कहालीलाग्दो तथ्यांक :

चट्याङले लिदैछ सबैभन्दा धेरैको ज्यान

उद्‌घोष सम्वाददाता
७ जेठ २०८२, बुधवार

सांकेतिक तस्वीर ।

विराटनगर । कोशी प्रदेशमा प्राकृतिक विपद्का कुन घटनाबाट सबैभन्दा धेरै नागरिकको ज्यान जाने गरेको होला ? धेरैले अनुमान लगाउने घटना बाढीपहिरोकै हो । तर, कोशी प्रदेशको तथ्यांकले फरक दृश्य देखाउने गरेको छ । विगत धेरै वर्षदेखि कोशीमा चट्याङले सबैभन्दा धेरै नागरिकको ज्यान लिने गरेको पाइएको छ । 

विज्ञहरुका अनुसार कोशी प्रदेश विपद्को सबैभन्दा उच्च जोखिम क्षेत्र मानिन्छ । कोशी प्रदेशमा हरेक वर्ष बाढीपहिरोले हजारौं नागरिकलाई सताउने गर्छ ।

विपद्‌बाट हुने बेहिसाब भौतिक क्षति जति छ, मानवीय क्षतिको ग्राफ पनि उत्तिकै उकालो लाग्दो अवस्थामा छ । यद्यपि बाढीपहिरोको तुलनामा कोशीमा चट्याङले मान्छे मार्ने क्रम धेरै देखिन्छ ।

त्यसो त विपद्बाट नागरिकको ज्यान जोगाउन पूर्व तयारीमा पर्याप्त ध्यान दिएको दाबी सरकारी तहबाट बारम्बार व्यक्त हुँदै आएको छ । तर, कोशी प्रदेशमा विपद्बाट ज्यान गुमाउनेहरुको संख्या भने हरेक वर्ष कहालीलाग्दो रुपमा बढेको बढ्यै छ । 

कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय तथा नेपाली सेनाले मंगलबार विराटनगरमा विपद् सम्बन्धि एक कार्यक्रम आयोजना गरेका थिए ।

मुख्यतः विपद् व्यवस्थापनमा खटिने सुरक्षाकर्मी लक्षित कार्यक्रममा प्रदेश सरकारका विपद् विज्ञ रामकुमार दाहालले प्रस्तुत गरेको तथ्यांकले प्रदेशमा विपद्ले बर्सेनि धेरैको ज्यान लिइरहेको देखाएको छ । 

वि सं २०७१ देखि २०८१ सम्मको एक दशकभित्र कोशी प्रदेशमा ११ हजार ९ सय ३७ वटा विपद्का घटना भएका छन् । यही अवधिमा देशभर ४४ हजार १ सय २७ वटा विपद् घटना भएका छन् । 

यो अवधिमा विपद्का विभिन्न घटनामा परेर कोशीमा १ हजार २८ जना नागरिकले ज्यान गुमाएका छन् । १०४ जना अहिले पनि बेपत्ता नै रहेको विपद्का घटनाबाट २ हजार २ सय ५५ जना घाइते भएका छन् । विपद्का घटनाबाट ७३ हजार ५ सय ७ परिवार प्रभावित भएका छन् । 

पछिल्लो दशकमा कोशीका १४ जिल्लामा २ सय ४६ जनाले चट्याङका कारण ज्यान गुमाएका छन् । त्यसपछि पहिरोबाट २ सय ४२ जनाले, बाढीबाट १ सय ८६ जनाले, आगलागीबाट १ सय ६५ जनाले, भूकम्पबाट ६२ र जनावरको आक्रमणबाट ६१ जनाले ज्यान गुमाएका छन् । 

पछिल्लो एक दशकमा विपद्का यस्ता घटनाबाट मात्रै १ हजार २८ जना सर्वसाधारणले जीवन गुमाउनु परेको छ । 

‘अहिले मात्रै होइन, धेरै वर्षयता कोशीमा सबैभन्दा धेरैको मृत्यु चट्याङका कारण हुने गरेको छ’, विपद् विज्ञ दाहालले भने ‘चट्याङबारे नेपाली समाजमा धेरै भ्रम छ । मर्नुछ भने जहाँ भए पनि मरिन्छ भन्ने जबर्जस्ती र बेवास्ताका कारण धेरैले आधारभूत सतर्कता नै अपनाउँदैनन् । चट्याङबारे धेरै कुरा थाहा नभएकाहरू मात्रै होइन, जानकारहरूले समेत बेवास्ता गरेकै कारण मानवीय क्षति बढिरहेको छ ।’

त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेल नेपालमा सबैखाले प्राकृतिक विपदमा गरिबहरू या खेतबारीमा काम गर्ने किसान नै बढी पीडित हुने बताउँछन् । 

‘एउटा ठूलो समुदायसम्म चट्याङ के हो र कसरी जोगिन सकिन्छ भन्ने जानकारी पुर्‍याउन सकिएको छैन’, पोखरेल भन्छन् ‘जानकारी भएकाले पनि धेरै हदसम्म बेवास्ता गरेको देखिएको छ । यही कारण चट्याङ सबैभन्दा धेरै मान्छेको ज्यान लिने मुख्य कारण बनिरहेको छ । 

नेपालको पूर्र्वी भेगमा सबभन्दा धेरै चट्याङ पर्ने तथ्य प्रमाणित भइसकेको छ । तर यही भेगमा यतिधेरै चट्याङ किन पर्छ भन्नेबारे यथेष्ट अनुसन्धान नभएको उनले बताए ।

विज्ञहरुका अनुसार प्रि–मनसुनमा चट्याङको सम्भावना धेरै भए पनि चैतदेखि असोजसम्मै चट्याङ पार्ने स्थानीय प्रणाली जुनसुकै बेला विकसित हुन सक्छ । 

मनसुनमा मज्जाले झरी पर्दा भने यसको जोखिम कम हुन्छ । चट्याङ भनेको आकाशबाट जमिनमा खस्ने एक शक्तिशाली विद्युतीय करेन्ट हो । हुरी–बतासको मौसम वा वर्षायाममा वायुमण्डलमा विपरीत दिशाबाट तीव्र गतिको वायु एकापसमा ठोक्किदा चर्को आवाजसहितको विद्युतीय लहर उत्पन्न हुन्छ र खास बाटो बनाउँदै त्यो पृथ्वीमा आइपुग्छ । त्यही करेन्टलाई चट्याङ भनिन्छ । 

‘सूर्यको तापले जमिनको सतहको तापक्रम बढिरहेको हुन्छ । त्यस बेला वाष्पीकरण विधिबाट जलाशयका स्रोतबाट पानीका कण माथितिर उड्दै जान्छन्’

सहप्राध्यापक पोखरेलले भने, ‘यसरी माथि गएका पानीका कणले बादलको रूप लिन्छन् । हावाका कारण गतिशील हुने बादलबीच अनेकौं घर्षण हुन्छ र त्यसले त्यहा चार्ज उत्पन्न हुन्छ । यो प्रक्रिया जारी रहदा जति बेला बादलमा पानीको मात्रा पर्याप्त हुन्छ, बादलको तह एकदमै बाक्लो बन्छ । क्युमलोनिम्बस भनिने त्यही बाक्लो बादलले चट्याङ पार्छ । कालो बादल डम्म भरिएका बेला चट्याङ पर्ने सम्भावना धेरै हुन्छ ।’

उनका अनुसार तलबाट माथितिर बहेको हावामा मोइस्चर पनि छ भने त्यसले सतहबाट एकदमै लामो बादल बनाउँछ । त्यो १५ किलोमिटरसम्म लामो हुन सक्छ । बादलमा बरफ बनाउने र असिना झार्ने त्यसैले हो । बाक्ला र लामा बादलबीच घर्षण हुँदा निस्किने शक्ति नै चट्याङ बनेर पृथ्वीमा आइपुग्ने गरेको पोखरेलको भनाइ छ । 

विज्ञका अनुसार चट्याङबाट जोगिने सबभन्दा राम्रो उपाय भनेकै सुरक्षित ठाउँमा बस्नु हो । विज्ञहरु बादल गर्जिनेबित्तिकै सर्वसाधारणलाई घरभित्र बस्न सुझाउँछन् । विपद विज्ञ दाहालका अनुसार माटोले बनेका होचा घरमा बस्नेहरू चट्याङको जोखिममा धेरै परेका देखिएको छ । 

‘विद्युतीय सुचालकको सम्पर्कमा रहदा त जहाँ पनि जोखिम हुन सक्छ । सामान्यतया पक्की घर सबभन्दा सुरक्षित हो तर सबैको त्यस्तो घर छैन । त्यसैले चट्याङको जोखिम र त्यसबाट जोगिने उपायबारे समुदायस्तरमै पर्याप्त जानकारी दिन जरूरी छ,’ उनले भने ।

आकाश गर्जेका बेला कम्प्युटर, टीभी, आइरन, मोटर, ल्यान्डलाइन फोन वा मोबाइल जस्ता विद्युतीय उपकरण चलाउन हुँदैन ।

यी उपकरण प्लगबाट झिकेर राख्नुपर्छ । सोझै धाराको पानी चलाउने, कपडा धुने, भाडा माझ्ने कामले पनि जोखिम बढाउँछ । धातुका स्ट्यान्ड भएका सामान चलाउन र फलामे ग्रिल छुन हुँदैन ।

बादल गड्याङगुडुङ गर्जेका बेला यस्ता कामबाट बचे चट्याङको जोखिमबाट बच्न सकिन्छ । त्यस्तै घरभित्र बस्दा झ्याल (ढोका) राम्रोसँग बन्द गर्नु पनि जोखिम कम गर्ने उपाय भएको दाहालको भनाइ छ ।

घर बाहिर हुँदा भने चट्याङको जोखिम धेरै हुन्छ । बादल गर्जिदा वा चट्याङ परिरहदा रूख वा ठूलो टावर मुनि बस्नु हुँदैन ।

बरू खुला ठाउँ हातले दुवै कान थुनेर टाउको माथि हात पारेर, कुर्कुच्चा जोडेर जमिनमा टुक्रुक्क बस्न सकिन्छ । त्यस्तै यो बेला पौडी खेल्ने, जलाशयको छेउमा जाने, खेतबारीमा जाने जस्ता काम गर्न नहुने विज्ञहरुको भनाइ छ ।

View : 77

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved