Biratnagar, Morang, Nepal
१६ वैशाख २०८१, आइतवार
+977 21 450305, 515728, 578305
समाज

मोरङ र धनकुटामा दुर्घटना हुँदा दुईजनाको मृत्यु

उद्घोष सम्वाददाता
१५ चैत २०८०, बिहिवार

विराटनगर । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत मोरङको कानेपोखरीमा बिहीबार भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । 

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे १ ख ३३७२ नम्बरको यात्रुबसले पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–०४८ प ७२४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सुनसरीको इटहरी उपमहानगरपालिका– ८ की ४४ वर्षीया मञ्जु कटुवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उक्त दुर्घटनामा मोटरसाइकलको पछाडि सवार मञ्जुको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको जनाइएको छ । मोटरसाइकल चालक २१ वर्षीय अमित कटुवाल समेत घाइते भएका छन् । उनीहरु आमाछोरा भएको जनाइएको छ । 

प्रहरीले बस चालक पथरीशनिश्चरे– २ का ३७ वर्षीय टेकबहादुर विश्वकर्मालाई नियन्त्रणमा लिएको जनाएको छ । 

त्यसैगरी बिहीबार नै कोशी लोकमार्ग अन्तरगत धनकुटा नगरपालिका– ६ कोल्डस्टोर नजिकै पिकअपको ठक्करबाट ट्रक चालकको मृत्यु भएको छ । 

सिरहाको गोलबजार घर भई हाल धनकुटा नगरपालिका– ९ गुठिटार बस्दै आएका चालक ३० वर्षीया निरज ठकुरीको घटनास्थलमा नै मृत्यु भएको धनकुटा प्रहरीले जनाएको छ । 

सिधुवाबाट तरकारी लिएर धनकुटातर्फ आउँदै गरेको बा प्र ०१– ०२६ च ८९९२ नम्बरको पिकअपले सडकको साइडमा रोकेर ग्यास सिलिन्डर लोड गर्दै गरेको बा प्र ०१– ००६ ख ४६५२ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो । 

पिकअपको ठक्करबाट ग्यास लोड गर्दै गरेका ट्रक माथिबाट चालक खसेका थिए । पिकअप चालक धादिङको सिद्धलेख गाउँपालिका– ३ का ३८ वर्षीय चेतबहादुर विशङ्खेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

View : 228

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved