विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश समितिले आगामी राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बनाउन ६३ जनाको नाम पार्टी केन्द्रीय कार्यसमितिमा सिफारिस गरेको छ ।
कोशी प्रदेशका १४ मध्ये समय सीमाभित्र नाम सिफारिस गर्ने ९ वटा जिल्लाबाट आएका नामहरूलाई प्रदेश कार्यसमितिले मर्यादा र पार्टीमा रहेको भूमिकाका आधारमा सिफारिस गरिएको जनाइएको छ । नाम सिफारिसका लागि सोमबार कांग्रेस कोशी प्रदेश कार्यसमितिको बैठक बसेको थियो ।
बैठकले आकांक्षीहरूको नाम सिफारिस गरेको नेपाली कांग्रेस कोशी प्रदेश कार्यसमितिका महामन्त्री भूपेन्द्र राईले बताए ।
‘नौ वटा जिल्लाहरुबाट नामहरू प्राप्त भयो, आएका नामहरूलाई पार्टीमा निर्वाह गरेको भूमिका, पार्टीको जिम्मेवारी र मर्यादा क्रमसंख्या मिलाएर सिफारिस गरेका छौं’ महामन्त्री राईले भने, ‘पहिलो नम्बरमा पार्टीका नेता कृष्ण प्रसाद सिटौला हुनुहुन्छ, महिलातर्फ नेतृ सुजना कोइराला हुनुहुन्छ, बैठकले सबैको नाम क्रम मिलाएर सिफारिस गर्ने निर्णय गरेको छ ।’
पार्टी केन्द्रीय समितिले पुस १० गतेभित्र प्रदेशबाट नामहरू सिफारिस गरिसक्न गरेको निर्देशन अनुसार प्रदेश समितिले नाम पठाएको जनाइएको छ ।
संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका सिटौला प्रतिनिधि सभा निर्वाचनमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजित भएका थिए । त्यसैगरी महिलातर्फ एक नम्बरमा सिफारिस भएकी कोइराला पनि गत निर्वाचनमा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलसँग पराजित भएकी थिइन् ।
कांग्रेसमा संस्थापन इतर समुहका नेताहरूले भने एक तहको निर्वाचनमा पराजित भइसकेका व्यक्तिहरूलाई नै पहिलो प्राथमिकतामा राखेर सिफारिस गरिएको प्रति असन्तुष्टि पोखेका छन् ।
प्रदेश कार्यसमितिका एक सदस्यका अनुसार सिटौला र कोइराला बाहेक नेताहरू महेश आचार्य, डा. मिनेन्द्र रिजाल, गुरुराज घिमिरे, उमेशजंग रायमाझी, तारामान गुरुङ, टङ्क राई, गिरिराज आचार्य, डिला संग्रौला र रुक्मिणी कोइराला लगायतको नाम पनि राष्ट्रिय सभा सदस्यका लागि सिफारिस भएको जनाइएको छ ।
डा. शेखर कोइराला समूहले भने डा. मिनेन्द्र रिजाललाई उम्मेदवार बनाउन सभापति देउवालाई दबाब दिने जनाइएको छ ।
आउँदो माघ ११ गते राष्ट्रिय सभा निर्वाचनको मिति तोकिएको छ । आगामी फागुन २० गते राष्ट्रिय सभाको १९ सिटका खाली हुँदैछ । जसमा एमालेका ८, कांग्रेसबाट ४, माओवादीबाट ३, एकीकृत समाजवादीको २, जसपाको १ र स्वतन्त्र १ सिट खाली हुने निर्वाचन आयोगले जनाएको छ ।
कोशी प्रदेशमा महिला र अन्य समुहमा गरी २ सिट खाली हुने र त्यसमा निर्वाचन हुनेछ । अन्य समुहबाट रमेशजंग रायमाझीको कार्यकाल सकिन लागेको हो ।
View : 315
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved