विराटनगर । तोडफोड, लुटपाट र आगजनीले भग्न कोशी प्रदेशसभा भवनमा तत्कालै संसदीय गतिविधिको सम्भावना छैन ।
तत्कालीन जिल्ला विकास समितिको भवन अब काम नलाग्ने भइसकेको प्राविधिक जाँचले देखाएको छ । यसका वावजुद मिडिया सेन्टरको एउटा कोठाबाट सचिवालयको काम सुरु भइसकेको छ । यसरी काम सुरु भएको साता दिनसम्म पनि प्रदेशसभा भने सुरक्षाकर्मीविहीन अवस्थामा छ ।
बिहीबार बिहान प्रदेशसभाको भग्न भवनको प्राङ्गणमा प्रदेशसभाका केही अधिकारीहरु टोलाइरहेका थिए ।
प्रदेशसभा बैठकका लागि कहटरीस्थित कृषि बजारको भवन उपयुक्त ठहर गरेको सर्वदलीय बैठकपछि अन्य तयारी के हुँदैछ भन्ने उद्घोषको जिज्ञासामा कर्मचारीहरु निरुत्तर रहे ।
‘एकपटक हेरेर आइएको छ, प्रदेश सरकारले कुराकानी गरिरहेको होला,’ ती कर्मचारीले भने ‘विकल्पको ठाउँ त हेर्दै गरौंला केही छैन । तर, अहिलेको कार्यालयको सुरक्षा र कर्मचारीहरुको मनोबल त्रासबाट बाहिर निकाल्न पाइएन ।’
कार्यालयको सुरक्षाप्रति चिन्तित ती कर्मचारीले थपे ‘यहाँ हिंसात्मक घटना भएको यतिका दिन बितिसक्दा पनि प्रहरी आइपुगेन । दिउँसो न राति, प्रहरी उपस्थिति प्रदेशसभामा छैन । यसले अलिअलि बचेको र लुटपछि पनि फिर्ता आएका सामानको सुरक्षा चुनौतीपूर्ण भयो ।’
प्रदेशसभा सचिवालयका अनुसार भदौ २४ को घटनापछि नियमित रुपमा प्रदेशसभाको सुरक्षामा खटिने प्रहरी टोली अझै पनि परिचालित भएको छैन ।
प्रदेशसभामा प्रहरी निरीक्षकको नेतृत्वमा ३५ जना प्रहरी टोली यसअघि परिचालित थियो ।
संसद चल्दा मर्यादापालकका रुपमा उनीहरुले प्रदेशसभाको सुरक्षा गर्दै आएका थिए । तर, जेनजी आन्दोलनका क्रममा भदौ २४ मा भवनमा आगजनी भएपछि त्यही टोली पनि प्रदेशसभा भवन परिसरबाट गायब जस्तै छ ।
‘अहिले जम्मा एक जना गार्डको भरमा प्रदेशसभा भवनको सुरक्षा गर्नुपरेको छ’, सचिवालयका एक कर्मचारीले भने ‘प्रहरीलाई पटक–पटक टोली पठाउन आग्रह गर्दा पनि सुनुवाई भएन ।’
प्रदेशसभाका अनुसार भदौ २४ को घटनापछिका हरेकजसो रात कोही न कोही व्यक्तिहरु प्रदेशसभाभित्र प्रवेश गर्ने, लुटपाटको प्रयास गर्ने काम भइरहेको छ ।
सुरक्षा गार्डको चनाखोपनले अहिलेसम्म कुनै अप्रिय घटना नभएको उनीहरु बताउँछन् ।
‘भवन जलेको हो, प्रदेश संरचना जलेको छैन । प्रदेशको सबैभन्दा ठूलो जननिर्वाचित निकायको सुरक्षामा प्रहरीले किन यस्तो खेलाँची गरेको हो बुझ्न सकिएन’, ती कर्मचारी थप्छन् ‘कर्मचारी तहबाट मात्रै होइन राजनीतिक तहबाट आग्रह गर्दा पनि प्रहरी टोली परिचालित हुन सकेको छैन ।’
सभामुख अम्बरबहादुर विष्टले कोशीका डीआईजी ईश्वर कार्कींलाई फोन गरेर प्रहरी परिचालन गरिदिन आग्रह गरेका थिए ।
उनको आग्रहका वावजुद प्रदेशसभामा प्रहरी परिचालन भएको छैन । सचिवालयले प्रहरीलाई लिखित रुपमा आग्रह पनि गरिसकेको छ ।
‘पहिले एक जना सुरक्षाकर्मीको सरुवा हुँदा पनि सचिवालयलाई पत्र लेखेर जानकारी गराउने प्रहरीले अहिले सिङ्गै टोली अनुपस्थित हुँदा पनि खोजी गरेको छैन’ ती कर्मचारीले भने ‘यसले कार्यालयको सुरक्षामा चिन्ता थपेको छ । कर्मचारीहरुको मनोबल उकास्न पनि सकिएको छैन ।’
कोशी प्रदेश प्रहरी कार्यालयले यसबारे केही पनि बताउन चाहेको छैन । प्रदेश मौन रहेपछि हामीले मोरङ प्रहरी प्रमुख एसपी कवित कट्वाललाई सोधेका थियौं ‘प्रदेशसभा सुरक्षाका लागि प्रहरी परिचालन नभएको हो ?’
जवाफमा एसपी कट्वालले प्रदेशसभाभित्र प्रहरी बस्ने ठाउँ अभावले बाहिरबाटै प्रहरीले सुरक्षा दिइरहेको बताए ।
‘परिचालन हुँदै नभएको होइन, भित्र बस्ने ठाउँ अभावले नजिकै अर्को ठाउँमा बसेर नियमित सुरक्षा दिइरहेका छौं’, उनले भने । यद्यपि प्रदेशसभाका कर्मचारीहरु भने दिउँसो र राति प्रहरी गस्ती वा टोली आफूहरुले नदेखेको बताउँछन् ।
प्रहरीको एउटा सानै भए पनि टोली प्रदेशसभामा नियमित बसिदिए हुने भन्ने अपेक्षा सचिवालयको छ । तर, बस्ने ठाउँको प्रबन्ध नभएको भन्दै प्रहरी अनुपस्थित छ ।
सचिवालयले मिडिया सेन्टर सरसफाइ गरेर काम थालिसकेको छ ।
सुरक्षाकर्मीका लागि बनाइएको कोठाको छाना अहिले पनि सुरक्षित छ ।
सिसाको घेराबेरा मात्रै तोडफोड भएको छ । प्रहरीले चाहे उसलाई बस्नका लागि सभा भवनमा ठाउँ अभाव नभएको सचिवालयको भनाइ छ ।
भदौ २४ को आगजनीबाट प्रदेश सभाको बैठक बस्ने सभा हल र सचिवालय जलेको थियो ।
सचिवालयको तीनतले भवनको पहिलो तला पूर्ण रुपमा क्षति भएको छ ।
दोस्रो तलाको केही भाग पूर्ण रुपमा क्षति भएको छ । विभिन्न विषयगत समितिका सभापतिहरूको कार्यकक्षसहित दुईवटा मिनी हल रहेको तेस्रो तलामा भने केही कम क्षति भएपनि पुरानो जिविसको भवन भएकोले सरसफाई गरेर कार्यसञ्चालन गर्न जोखिमपूर्ण छ ।
ज्यादै पुरानो भवनलाई आगोको लप्काले कमजोर बनाइदिएका कारण इन्जिनियरहरुले बस्न नमिल्ने भनिसकेका छन् ।
आगजनीबाट कोशी प्रदेश सचिवालयका ८ वटा चार चक्के गाडी, ११ वटा मोटरसाइकल र २ वटा स्कुटर पूर्ण रुपमा जलेर नष्ट भएका थिए । सचिवालयका कर्मचारी र प्रहरीका गरी थप ८ वटा निजी नम्बर प्लेटका मोटरसाइकल र स्कुटरसमेत जलेका थिए ।
View : 597
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved