Biratnagar, Morang, Nepal
६ चैत २०८२, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

महेन्द्र मोरङ क्याम्पसका चार विद्यार्थी बने नेपाल टपर

उद्‌घोष संवाददाता
५ चैत २०८२, बिहिवार

जनप्रशासन संकायको छैटौं सेमेस्टरमा नेपाल प्रथम गरेकी विदिशा भट्टराई ।

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका चार विद्यार्थीहरू ब्याचलर इन पब्लिक एड्मिनिस्ट्रेसन अर्थात जनप्रशासन संकायको छैटौं सेमेस्टरमा नेपाल प्रथम, द्वितीय र तृतीय हुन सफल भएका छन् ।

त्रिभुवन विश्वविद्यालय अन्तरगतको जनप्रशासन संकायमा विदिशा भट्टराई छैटौं सेमेष्टरमा नेपाल प्रथम गर्न सफल भएकी हुन् । भट्टराईसँगै प्रनिशा कोइराला र रक्षिता तिम्सिना नेपाल द्वितीय भएका छन् भने ऋषिका भट्टराई नेपाल तृतीय हुन सफल भएकी हुन् ।

त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको नतिजाअनुसार नेपाल टप हुन सफल भएकी भट्टराईले जीपीए ३.९३ अंक प्राप्त गरेको महेन्द्र मोरङ क्याम्पसका सहायक क्याम्पस प्रमुख रवि रोक्काले जानकारी दिए ।

द्वितीय भएकी कोइराला र तिम्सिनाले ३.९२ जीपीए हासिल गरेका छन् । त्यस्तै तृतीय बनेकी भट्टराईले ३.८९ जीपीए ल्याएको क्याम्पस प्रशासनले जनाएको छ ।

नेपाल प्रथम हुन सफल विदिशाले प्रथम सेमेष्टरदेखि नै उत्कृष्ट नजिता ल्याउँदै आएकी थिइन् । यसपटक गत मंसिर महिनामा सम्पन्न भएको छैटौं सेमेष्टरको परीक्षामा उनले नेपाल प्रथम गर्न सफल भइन् ।

उनले पहिलो सेमेष्टरमा महेन्द्र मोरङ कलेजबाट दोस्रो भएकी थिइन् । दास्रो सेमेष्टरमा उत्कृष्ट जीपीए ल्याइन् । 

तेस्रो सेमेष्टरमा नेपाल चौथो भइन् । त्यस्तै, चौथो र पाँचौं सेमेष्टरमा पनि ३.८ माथिको उत्कृष्ट जीपीए हासिल गरिन् । 

छैटौं सेमेष्टरमा भने विदिशाले नेपाल टप नै गर्न सफल भएकी हुन् । नेपाल प्रथम भएकी भट्टराई भने विराटनगरबाट सक्रिय रुपमा पत्रकारिता समेत गर्दै आएकी छन् । 

‘नेपाल टप गर्न सफल भएकोमा एकदमै खुसी लागेको छ, धेरै नै प्रतिष्पर्धा हुने यो संकायमा महेन्द्र मोरङका हामी चारजना छात्राहरूले नेपाल तेस्रोसम्मको स्थान हासिल गरेका छौं’ भट्टराईले भनिन्, ‘हामीले अरु सेमेष्टरमा पनि राम्रो नतिजा हासिल गर्दै आएका छौं, महेन्द्र मोरङका विद्यार्थीहरूले तेस्रो सेमेष्टरमा पनि नेपाल दोस्रो, तेह्रो र चौथो स्थान हासिल गरिसकेका छन्, त्यतिबेला म चौथो भएको थिएँ, चौथो सेमेष्टरमा यसपटक सेकेण्ड हुने रक्षिता तिम्सिना नेपाल टप भएकी थिइन् ।’

महेन्द्र मोरङका सहायक क्याम्पस प्रमुख रोक्काले छैटौं सेमेष्टरमा २९ जना विद्यार्थी सहभागी भएको जानकारी दिए । 

उनले क्याम्पसका विद्यार्थीहरूले अन्य सेमेष्टरको परीक्षामा समेत उत्कृष्ट नजिताका साथ उत्तीर्ण हुँदै आएको बताए । जनप्रशासनको छैटौं सेमेष्टरमा ९१ प्रतिशत विद्यार्थी उत्र्तीण भएको सहायक क्याम्पस प्रमुख रोक्काले जानकारी दिए ।

सवै क्षेत्रको विषयवस्तु समावेश हुने भएकोले विशेष गरी लोकसेवाबाट सार्वजनिक सेवामा प्रवेश गर्न चाहने विद्यार्थीहरूका लागि जनप्रशासन संकायमा विद्यार्थीहरूको आकर्षण बढ्दै गएको जनाइएको छ । क्याम्पसले २०७२ सालमा जनप्रशासन संकायको पहिलो ब्याच अध्यापन गर्न सुरु गरेको हो ।

View : 84

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved