विराटनगर । मोरङ उद्योग व्यापार संघले आयोजना गरेको विराट ट्रेड एक्स्पो २०२५ बिहीबार नवौं दिन पूरा भएको छ । एक्स्पोको हालसम्मको अवस्था, व्यापारिक परिणाम, उद्योगी–व्यवसायीको मनोबल र सरकारसँगको सहकार्यबारे संघका अध्यक्ष अनुपम राठीसँग गरिएको कुराकानी ।
नवौं दिनसम्म आइपुग्दा एक्स्पोको समग्र अवस्था कस्तो पाउनु भएको छ ?
नवौं दिनसम्म आइपुग्दा हामी एकदमै सन्तुष्ट छौं । हामीले सुरुमा सोचेको भन्दापनि राम्रो प्रतिक्रिया पाएका छौं । अहिलेसम्म ९० हजार भन्दाबढी अवलोकनकर्ता आइसकेका छन् । अझै तीन दिन बाँकी छ । आजकै दिन पनि आधा समय मात्र बितेको छ । अब अन्तिम दिनतिर भिड अझै बढ्ने अपेक्षा छ । हाम्रो अनुमानमा कूल अवलोकनकर्ता संख्या १ लाख २० हजार नाघ्न सक्छ, सम्भवतः डेढ लाखसम्म पनि पुग्न सक्छ ।
अवलोकनकर्ताहरुको संख्या र कारोबारको लक्ष्य कत्तिको पूरा भएको जस्तो लाग्छ ?
हामीले अपेक्षा गरेकोभन्दा धेरै राम्रो भएको छ । सुरुका एक–दुई दिन अत्यधिक जाडो थियो, तर त्यस अवस्थामा पनि राम्रो उपस्थिति देखियो । यति ठूलो स्थल हुँदाहुँदै पनि कतिपय समयमा अवलोकनकर्ता अट्नै गाह्रो हुने अवस्था आयो । कारोबारको हिसाबले पनि सबै स्टलधारकहरूले राम्रो व्यापार भएको जानकारी दिनुभएको छ ।
सुरुमा हामीले करिब २५–३० करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरेका थियौं । तर, अहिलेको अवस्थालाई हेर्दा यो रकम ४५ देखि ५५ करोड रुपैयाँसम्म पुग्ने सम्भावना देखिएको छ । विशेषगरी अटोमोबाइल र सोलार पावर सेक्टरबाट ठूला उद्योगी–व्यवसायीबीच एमओयू र अन्डरस्ट्यान्डिङहरू भएका छन् । सोलार क्षेत्रबाट मात्र करिब ३०–३५ करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान छ ।
दैनिक रूपमा कति अवलोकनकर्ता आएका छन् भन्ने तथ्यांक छ ?
अस्ति र्यापर डीके सागरको प्रस्तुति भएको दिन सबै भन्दाधेरै उपस्थिति देखिएको थियो । त्यो दिन सार्वजनिक बिदा पनि थियो । झन्डै १९ हजार भन्दाबढी अवलोकनकर्ता आएका थिए । अन्य दिनहरूमा पनि न्यूनतम ८ हजारदेखि १२–१५ हजारको हाराहारीमा दैनिक अवलोकनकर्ता आएका छन् ।
जेन–जी आन्दोलनपछि निजी क्षेत्र हतोत्साहित छ भन्ने चर्चा थियो । यो एक्स्पोमा उद्योगी–व्यवसायीको मनस्थिति कस्तो पाउनुभयो ?
जेन–जी आन्दोलनपछि सुरक्षा र समग्र वातावरणलाई लिएर निजी क्षेत्रको मनोबल केही कमजोर भएकै हो । तर, यो एक्स्पोले त्यो मनोबललाई सकारात्मक दिशातर्फ फर्काउन सहयोग गरेको छ ।
यति ठूलो भिड एकै ठाउँमा भेला हुनुले नै सुरक्षा व्यवस्थामा कुनै कमजोरी छैन भन्ने सन्देश दिएको छ । यदि सुरक्षा कमजोर भएको भए मानिसहरू यति ठूलो संख्यामा आउने थिएनन् । हामीले सुरक्षा निकायबाट राम्रो सहयोग पाएका छौं ।
यसले व्यापारको स्वरूप नै परिवर्तन गर्छ भन्ने होइन, तर कमजोर हुँदै गएको व्यापारिक मनोविज्ञानलाई केही हदसम्म मजबुत बनाएको छ । व्यापारिक गतिविधि बिस्तारै सामान्य अवस्थामा फर्किंदै गएको संकेत देखिएको छ । हामी आशावादी छौं कि आगामी निर्वाचनपछि बन्ने सरकारले अर्थतन्त्रलाई गति दिनेछ ।
उद्योगी–व्यवसायीहरूले सरकारसँग के अपेक्षा गरेका छन् ?
निजी क्षेत्रको मुख्य अपेक्षा भनेकै स्थिर सरकार हो । अहिलेको सरकार छोटो अवधिको भएकाले नीति निर्माणमा अन्योल छ । दुई–अढाई महिनापछि आमनिर्वाचन हुँदैछ । त्यसपछि कस्तो सरकार आउँछ, कति बलियो हुन्छ र कति समय टिक्छ भन्ने प्रश्नले व्यवसायीहरूलाई अलमलमा पारेको छ ।
स्थिर सरकार भएपछि मात्र स्थिर नीति बन्छ । सरकारको खर्च संरचनामा पनि सुधार आवश्यक छ । चालु खर्चभन्दा पूँजीगत खर्च बढाउनुपर्छ । पूँजीगत खर्च बढे मात्रै अर्थतन्त्र चलायमान हुन्छ र उद्योग–व्यवसायलाई सहयोग पुग्छ । आगामी सरकारले यी विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने अपेक्षा निजी क्षेत्रको छ ।
संघीय, प्रदेश र स्थानीय सरकारको सहकार्य कस्तो रह्यो ?
सहकार्य सकारात्मक रह्यो । संघीय सरकारबाट अर्थमन्त्री स्वयं उपस्थित हुनुभयो, जसले सबैको मनोबल बढाएको छ । नगद सहयोगभन्दा पनि मनोबल बढ्नु ठूलो कुरा हो । प्रदेश सरकारले पहाडी क्षेत्रका कृषिमा आधारित महिला उद्यमीहरूलाई स्टल उपलब्ध गराएर व्यवसाय प्रवद्र्धनमा सहयोग गरेको छ ।
‘कोशी पर्यटन वर्ष’का अवसरमा पर्यटन मन्त्रालयले प्रदेशका पर्यटकीय गन्तव्य चिनाउने स्टल र सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना गरेको छ ।
स्थानीय सरकार तथा महानगरले सडक बत्ती, स्थान व्यवस्थापनलगायतका विषयमा सहयोग गरेको छ । सबै निकायको सहकार्यले एक्स्पो सफल भएको छ ।
भविष्यका लागि के सुझाव दिन चाहनुहुन्छ ?
विराटनगर औद्योगिक शहर हो । यहाँ स्थायी र बहुउद्देश्यीय प्रदर्शनी केन्द्र अत्यावश्यक भइसकेको छ । अहिले हामी अस्थायी संरचना बनाउन धेरै खर्च र समय लगाउन बाध्य छौं ।
महानगरपालिका, प्रदेश सरकार र निजी क्षेत्रबीच पब्लिक–प्राइभेट पार्टनरसिपमार्फत स्थायी प्रदर्शनी केन्द्र निर्माण गर्नसके दुई वर्षमा एक पटक मात्र होइन, हरेक तीन–चार महिनामा साना–ठूला वस्तुगत एक्स्पो आयोजना गर्न सकिन्छ । यसले उद्योग र व्यवसाय प्रवद्र्धनमा ठूलो योगदान पुर्याउँछ । यो विलासिता होइन, विराटनगरका लागि आवश्यकता हो । त्यसतर्फ सरकार अझ गम्भीर हुनुपर्छ ।
View : 161
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved