Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

इटहरी उपमहानगरका नगरप्रहरीद्वारा पत्रकार बहावमाथि दुर्व्यवहार, कारवाही गर्न महासंघको माग

उद्घोष सम्वाददाता
१ चैत २०८०, बिहिवार

विराटनगर । इटहरी उपमहानगरपालिका नगर प्रहरीले नेपाल पत्रकार महासंघ सुनसरीका सदस्य तथा शिलापत्र डट कमका संवाददाता कृष्ण बहाव भट्टराईमाथि दुर्व्यवहार गरेका छन् । दुर्व्यवहारको घटनाको भर्त्सना गर्दै नेपाल पत्रकार महासंघ सुनसरीले विज्ञप्तिमार्फत दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारवाही गर्न माग गरेको छ ।

बिहीबार दिउँसोको समयमा रिपोर्टिङ गर्ने सिलसिलामा इटहरी उपमहानगरपालिकाको गेटमा पुगेका बहावलाई त्यहाँ रहेका नगर प्रहरीले मोबाइलसमेत खोसेर दुर्व्यवहार गरेको नेपाल पत्रकार महासंघ सुनसरीका सचिव ध्रुव ढकालले हस्ताक्षर गरेको विज्ञप्तिमा जनाइएको छ ।

उपमहानगरपालिकाभित्र रिपोर्टिङको क्रममा जाने सिलसिलामा गेटमा सिटी सफारीको आन्दोलनको रिपोर्टिङ गर्दैगर्दाको समयमा नगर प्रहरीहरूले पत्रकार बहावलाई रोकेर मोबाइल खोस्ने, धकेल्दै कुटपिट समेत गरेको महासंघले जनाएको छ । 

‘पत्रकार हुँ’ भन्दा भन्दै पनि ‘पत्रकार होस्, ठेगानमा बस् नभए ठेगान लगाइदिउँला’ भन्दै नगर प्रहरीले धम्कीपूर्ण अभिव्यक्ति दिएको पीडित पत्रकार बहावले बताए । 
 

महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि निरंकुश शैलीमा हस्तक्षेप र आक्रमण हुनु अत्यन्त निन्दनीय र लोकतन्त्रप्रतिकै आक्रमण भएको जनाएको छ । 

‘उक्त घटनाका दोषीलाई पक्राउ गरी तत्काल कानुनी कारवाही गर्न जोडदार माग गर्दछौँ, साथै प्रेसको संवैधानिक अधिकारको सम्मान गरी निर्वाध र भयरहित काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गर्दैछौँ’ विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच प्रेस चौतारी नेपाल सुनसरीले समेत विज्ञप्तिमार्फत घटनाको भर्त्सना गरेको छ । चौतारी सुनसरीका कोषाध्यक्षसमेत रहेका पत्रकार बहावलाई नगर प्रमुख प्रमुख मातहतको नगर प्रहरीबाट भएको आक्रमणले हुनुले समग्र नगरकै नेतृत्वको नियतमाथि प्रश्न उब्जिएको बताएको विज्ञप्तिमा उल्लेख छ ।

चौतारी सुनसरीकी अध्यक्ष सुभद्रा प्याकुरेलद्वारा जारी विज्ञप्तिमा पत्रकारमाथिको आक्रमणले अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्र र समग्र लोकतन्त्रप्रतिकै आक्रमण भएको भन्दै संलग्न जोसुकै भएपनि कारवाही गर्न माग गरिएको छ । साथै भयरहित वातावरणमा पत्रकारहरूले काम गर्ने वातावरण बनाउन पनि चौतारीले माग गरेको छ ।

View : 159

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved