सरकार नछाड्न माओवादीको अनेक बहाना
विराटनगर । बिहीबार दिउँसो कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेकपा माओवादी केन्द्रका केही सांसदहरूलाई एउटा समाचारको लिङ्क पठाए । आफ्नै सचिवालयका एक सदस्यले सञ्चालन गरेको अनलाइनमा प्रकाशित समाचार मुख्यमन्त्री कार्कीले माओवादी सांसदहरूलाई ह्वाटस्एप, मेसेन्जरमा पठाएका हुन् ।
‘कोशीमा माओवादीलाई सरकारबाट हटाउन किन डरायो एमाले ?’ शीर्षकको समाचारमा माओवादीले अहिलेसम्म सरकार नछाड्दा एमालेभित्र असन्तोष चुलिएको उल्लेख छ । यसबाट मुख्यमन्त्री कार्कीले ‘पार्टीभित्रको दवाव खेपेर भएपनि माओवादी मन्त्रीहरूलाई च्यापिरहेको छु’ भन्न खोजेका हुन् वा त्यैपनि माओवादी मन्त्रीहरू लबस्तरो पाराले सरकारमा बसिरहेका छन् भनेर खिसिट्युरी गरेका हुन् बुझाइमा फरक पर्न गएको एक माओवादी सांसद बताउँछन् ।
उनी भन्छन्, ‘मुख्यमन्त्री कार्की आफैले लेखाएको समाचार हुनुपर्छ, ताजै शेयर गरिएको छ । खास कुरा के भन्न चाहेका हुन् थाहा छैन, ‘मुख्यमन्त्रीले माओवादीलाई तत्काल सरकारबाट हटाउनुपर्ने मत एमालेभित्र बढ्दो छ’ भनेर चाहिँ लेखिएको छ ।’
एमाले नेताहरूलाई नै उधृत गर्दै प्रकाशित समाचारमा एमाले कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले माओवादीले कोशी सरकार छाड्नुपर्ने बताएका छन् । सञ्चारमाध्यमहरूमा समाचार प्रकाशन र प्रशारण हुनु स्वाभाविक र नियमित प्रक्रिया हो । तर, मुख्यमन्त्री कार्की स्वयम्ले आफूहरूलाई खोजी–खोजी उक्त समाचारको लिङ्क पठाउँदा भने आश्चर्यमा परेको माओवादी सांसदहरू बताउँछन् ।
‘हाम्रा मन्त्रीहरू मुख्यमन्त्रीले राजीनामा दिनू भनेको छैन भन्दै सरकारमा बसेकाबस्यै छन्, तर मुख्यमन्त्रीकै सचिवालयका सदस्यको सञ्चारमाध्यममा चाहिँ माओवादीहरू किन सरकार छाड्दैनन् भन्ने आसयको समाचार आउँछ अनि त्यही समाचार मुख्यमन्त्री आफैले हामीलाई पठाउँछन्’, मओवादीका एक सांसदले बिहीबार उद्घोषसँग भने ‘मुख्यमन्त्री दोहोरो खेल खेलेर माओवादीलाई प्रयोग गरिरहेका छन् भन्ने यसबाट पुष्टि हुँदैन र ?’
माओवादीलाई देखाएर मुख्यमन्क्रीले कांग्रेससँग मन्त्रालय र संवैधानिक नियुत्तिहरूमा भागवण्डामा बार्गेनिङ पावर बढाउन खोजेको माओवादी सांसदहरूको आरोप छ । मुख्यमन्त्रीबाट बुधबार ह्वाटस्एपमा समाचारको लिङक प्राप्त गरेका माओवादीकै अर्का सांसदले मुख्यमन्त्री कार्की दोहोरो खेलमा लागेको बताउँछन् ।
‘सरकार नछाडिदिनुस्, बसिरहनुस् भनेर मुख्यमन्त्रीले हाम्रा मन्त्रीहरूलाई भने होला भन्ने मलाई अझै पनि लागेको छैन’, ती सांसदले भने ‘किनभने, मुख्यमन्त्रीका दाहिने हात मानिएका, विश्वासपात्र भनिएका एमाले सांसदहरू नै हाम्रा मन्त्रीहरूलाई पदलोलुप, सत्तालिप्साले भरिएका भनिरहेका छन् ।
मन्त्रीहरू भने केही प्रतिवाद नगरी बसिरहेका छन्, फेरि मुख्यमन्क्रीकै सचिवालयका व्यत्तिको सञ्चारमाध्यममा माओवादीले सत्तालिप्सा देखाएको, किन सरकार छाड्दैनन् माओवादी भनेर समाचार आइरहेको छ । अनि मुख्यमन्त्री त्यही समाचारको लिङ्क हामीलाई पठाइरहेका छन् । यसबाट हामीले के बुझ्नु ?’
माओवादीका सांसदहरूले अनुमान गरेजस्तै मुख्यमन्त्री कांग्रेससँग बार्गेनिङकै लागि यसो गरिरहेका छन् त ? ‘त्यसो त भन्न मिल्दैन’, एमाले कोशीका एक सांसदले भने ‘अरु प्रदेशहरूमा पनि सरकार बदलिइहालेको छैन भनेर मुख्यमन्त्रीले सोझै नभन्नु भएको हो । तर, हामीमार्फत धेरै पटक सन्देश पठाइसक्नुभएको छ ।’
अदालतले केदार कार्कीको रिट खारेज गरेपछि त्यसको पूर्णपाठ आउन बाँकी रहेको भन्दै मुख्यमन्त्रीले सरकार नछाड्नू भनेको भन्ने विषय हावादारी भएको ती सांसद बताउँछन् ।
‘माओवादी मन्त्रीहरू आफ्नै बाध्यताले सरकारमा बसिरहनुभएको हो, मुख्यमन्त्रीलाई केही बाध्यता छैन’, ती सांसदको भनाइ छ ‘मुख्यमन्त्रीलाई देखाउँदा ‘फेस सेभिङ’ सजिलो हुन्छ भन्ने लागेको पनि हुन सक्छ, कुनै तरिकाले आफ्नो मन आफैले बुझाएको पनि हुन सक्छ ।’
केन्द्रीय सत्ता गठबन्धनमा परिवर्तन आएपछि कोशीमा पनि एमाले र कांग्रेसको सरकार बन्ने निश्चित छ । यद्यपि मुख्यमन्त्रीले राजीनामा दिनु नभनेको, आफैले बनाएको सरकार किन छाड्नु भन्दै माओवादी मन्त्रीहरू सरकारमा बसिरहेका छन् ।
यसप्रति एमालेभित्र मात्र होइन, माओवादीभित्रै पनि असन्तोष चुलिएको छ । गएको बैशाख २७ मा एमाले नेता कार्की नेतृत्वमा गठित सरकारमा तीन मन्त्री र एक राज्यमन्त्रीसहित माओवादी सरकारमा सामेल छ ।
View : 363
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved