विराटनगर । नेपाल ललीतकला प्रज्ञा प्रतिष्ठानको आयोजना तथा विराटनगर प्रज्ञा प्रतिष्ठानको सह–आयोजनामा बुधबारदेखि विराटनगरमा ‘कोशी प्रादेशिक ललीतकला प्रदर्शनी–२०८२’ सुरु हुँदैछ । ६ दिनसम्म चल्ने यस बृहत् प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका संयोजक एवं प्राज्ञ सञ्जय वान्तवाले कोशी प्रदेशका १६४ कलाकारका २०० भन्दा बढी कलाकृतिहरू प्रदर्शनीमा समावेश गरिएको जानकारी दिए ।
प्रदर्शनीमा चित्रकला, मूर्तिकला, हस्तकला, परम्परागत कला, लोककला र अन्य आधुनिक सिर्जनात्मक विधाका कृतिहरू राखिने छन् ।
संयोजक वान्तवाका अनुसार प्रदर्शनी केवल कला प्रदर्शनमा मात्र सीमित नभई कला र साहित्यको अन्तरसम्बन्ध उजागर गर्ने थलो पनि बन्नेछ । गत वर्ष इटहरी र बेलबारीमा सफल भएको यो प्रदर्शनीलाई यस पटक विराटनगरमा केन्द्रित गरिएको उनले बताए ।
प्रदर्शनीमा छानिएका उत्कृष्ट कलाकृतिहरूलाई आगामी राष्ट्रिय ललीतकला प्रदर्शनीमा समावेश गरिने र उत्कृष्ट कलाकारलाई पुरस्कार एवं सम्मान प्रदान गरिने विराटनगर प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव दिङ्लाली कान्छोले बताए ।
प्रचारप्रसार उपसमितिकी संयोजक गंगा सुवेदीका अनुसार माघ २८ गते बुधबार भव्य उद्घाटन हुने प्रदर्शनीमा चित्रकला कार्यशाला, प्रदर्शित चित्रमा आधारित लेखिएका कविता वाचन, विद्यार्थी र युवाहरूका लागि शैक्षिक अवलोकन भ्रमण लगायतका कार्यतालिका तय गरिएको छ ।
फागुन ४ गते समापन तथा प्रमाणपत्र वितरण गरिने छ ।
प्रदर्शनी सम्पन्न गर्न ६१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । कला र संस्कृतिको संरक्षणमा स्थानीय सरकार र सञ्चार माध्यमको सहयोग अपरिहार्य रहेको भन्दै आयोजकले सबैलाई अवलोकनका लागि निमन्त्रणा गरेको छ ।
View : 103
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved