नेपालका प्रमुख राजनीतिक दलहरू आ–आफ्नै विशेषता र चुनौतीहरूसहित क्रियाशील छन् । ती दलहरुमा नेपाली कांग्रेस, नेकपा (एमाले),नेकपा (माओवादी केन्द्र), जस्वपा, रास्वपा, जनमत पार्टी प्रमुख पार्टी हुन् ।
नेपाली कांग्रेस : नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक दलको रूपमा नेपाली कांग्रेसले प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरेको छ । हाल यो गठबन्धन सरकारको प्रमुख घटकको रूपमा संविधानको रक्षा र लोकतान्त्रिक मूल्यमान्यतालाई सुदृढ गर्ने भूमिकामा देखिन्छ । यद्यपि, आन्तरिक किचलो र प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको आरोप यसमाथि लाग्ने गरेको छ ।
नेकपा (एमाले) : कम्युनिस्ट आन्दोलनको प्रमुख धारको रूपमा एमालेले नेपालको राजनीतिमा ठूलो प्रभाव जमाएको छ । विकास र समृद्धिलाई मुख्य एजेन्डा बनाएको एमाले हाल सरकारको नेतृत्वमा छ । तर, जवाफदेहिता, पारदर्शिता र सुशासनमा प्रभावकारिता ल्याउन नसकेको र हरेक निकायमा आफ्नो पकड जमाएको आरोप यसमाथि लाग्ने गरेको छ ।
नेकपा (माओवादी) केन्द्र : जनयुद्धको नेतृत्व गरी शान्ति प्रक्रियामा आएको माओवादी केन्द्रले गणतन्त्र स्थापना र संघीयता कार्यान्वयनमा महŒवपूर्ण भूमिका खेलेको छ । हाल यो दल सरकारको प्रतिपक्षीको नेतृत्व गर्दै आएको छ, तर यसको भूमिका खासै प्रभावकारी देखिएको छैन र पार्टीमा जनमुखीभन्दा व्यक्तिमुखी प्रवृत्ति हावी भएको देखिन्छ ।
जनता समाजवादी पार्टी (जसपा) : मधेस आन्दोलनबाट उदाएको जसपाले संघीयता, समावेशिता र पहिचानको मुद्दालाई जोड दिंदै आएको छ । हाल यो दल सरकारमा सहभागी छ र मधेसका मुद्दालाई सम्बोधन गराउने प्रयासमा छ । तर, आलोचकहरूले यस पार्टीको बारम्बार नाम परिवर्तन र सिद्धान्तमा विचलनका कारण यसको विश्वसनीयतामा प्रश्न उठाउने गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) : छोटो समयमै उदाएको रास्वपाले परम्परागत दलहरूबाट आजित युवाहरूलाई आकर्षित गरेको छ । सुशासन, भ्रष्टाचार नियन्त्रण र प्रत्यक्ष लोकतन्त्रलाई यसले मुख्य एजेन्डा बनाएको छ । यद्यपि, छोटो समयमा नै पार्टीभित्रका विभिन्न काण्डहरूले यसको एजेन्डा ओझेलमा परेको र जनविश्वास घट्दै गएको देखिन्छ ।
जनमत पार्टी :मधेस केन्द्रित अर्को शक्ति जनमत पार्टीले सीके राउतको नेतृत्वमा मधेसका किसान र सीमान्तकृत वर्गका मुद्दा उठाएको छ । हाल सरकारमा सहभागी यो दलले मधेसको विकास र समृद्धिलाई प्राथमिकता दिएको देखिन्छ । तर, सत्ताको लोभमा मधेसको जनचाहना र भावनालाई बेवास्ता गरेको आरोप यसमाथि लाग्ने गरेको छ ।
वर्तमान दलीय कार्यशैली र चुनौतीहरू
नेपालको संसदीय राजनीतिमा हाल गठबन्धन सरकारहरू बन्ने क्रम जारी छ, जसले राजनीतिक अस्थिरता निम्त्याउने गरेको छ । ठूला दलहरूमा आन्तरिक किचलो, गुटबन्दी र विभाजनको समस्या व्याप्त छ । राजनीतिक दलहरूको कार्यशैली, भ्रष्टाचारका आरोप र जनताका अपेक्षा पूरा गर्न नसक्दा दलहरूप्रति जननिराशा बढेको छ ।
परम्परागत दलहरूप्रतिको निराशाका कारण केही नया“ राजनीतिक दलहरूको उदय भएको छ, तर उनीहरू पनि पुरानै दलहरूको कार्यशैलीभन्दा खासै फरक देखिएका छैनन् ।
दलहरूले निर्वाचनमार्फत जनताको प्रतिनिधित्व गरी सरकार गठन र शासन सञ्चालन गर्छन् । सत्तामा नहु“दा उनीहरूले प्रतिपक्षको रूपमा सरकारलाई जवाफदेही बनाउने र खबरदारी गर्ने काम गर्छन् । उनीहरू नीति निर्माण, कानुन निर्माण र कार्यान्वयनमा महŒवपूर्ण भूमिका खेल्छन् ।
दलहरूको विचारमा विचलन एक गम्भीर समस्याको रूपमा देखिएको छ ।
राजनीतिमा भ्रष्टाचार, अराजकता र दलहरूको व्यापारीकरण बढेको छ, जसले नागरिकहरूलाई राजनीतिप्रति वितृष्णा पैदा गराएको छ । व्यक्तिगत स्वार्थले गर्दा दलीय सिद्धान्त, विचार र दृष्टिकोणमा विचलन आएको छ । कार्यकर्ताको उचित मूल्याङ्कनको अभाव, पद र टिकट वितरणमा पारदर्शिताको कमी र समावेशी नेतृत्वको विकास नहु“दा गुटबन्दी र व्यापारीकरण मौलाएको छ । दलहरूको आय र व्यय पारदर्शी नहुनु र राजनीतिक संरक्षणका कारण अनियमितता बढ्नुले स्वच्छ लोकतन्त्रको अनुभूति हुन सकेको छैन ।
दलहरूको भावी दिशा
नेपालका राजनीतिक दलहरूको भावी दिशा विभिन्न चुनौती र अवसरले भरिएको छ । उनीहरूले आफूलाई सुधार गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता छ ।
आन्तरिक लोकतन्त्रको सुदृढीकरण : दलहरूले आफ्नो आन्तरिक लोकतन्त्रलाई सुदृढ गर्नुपर्छ । यसमा नियमित निर्वाचन, समावेशी नेतृत्व विकास र कार्यकर्ताको भावनाको कदर हुनु आवश्यक छ ।
सुशासन र पारदर्शिताः भ्रष्टाचार नियन्त्रण, पारदर्शिता र जवाफदेहिता प्रवद्र्धन दलहरूको लागि प्रमुख चुनौती र अवसर दुवै हो । जनताको विश्वास जित्नका लागि सुशासन अपरिहार्य छ ।
विकास र समृद्धिमा केन्द्रित ः दलहरू सत्ता र शक्तिमा मात्र नभई देशको आर्थिक विकास र जनताको जीवनस्तर सुधारमा केन्द्रित हुनुपर्छ ।
संविधानको कार्यान्वयन : संघीयताको सफल कार्यान्वयन, समावेशी समाजको निर्माण र संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख अर्थतन्त्रको विकास दलहरूको मुख्य दायित्व हो ।
युवा र महिला सहभागिता : दलहरूले युवा र महिलाहरूको राजनीतिमा सक्रिय सहभागिता लाई प्रोत्साहन गर्नुपर्छ, जसले नेतृत्व विकासमा सहयोग पुग्छ ।
अन्त्यमा, नेपालका राजनीतिक दलहरूले विगतमा लोकतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । अब उनीहरूले आफूलाई थप परिष्कृत गर्दै सुशासन, विकास र समृद्धिको दिशामा अग्रसर हुनुपर्ने चुनौती छ । यसले मात्रै जनताको विश्वास पुनः प्राप्त गर्न सकिन्छ र लोकतान्त्रिक प्रणालीलाई दीर्घकालीन रूपमा सफल बनाउन सकिन्छ ।
View : 1020
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved