Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

के के छन् जीवन घिमिरे चुनावी प्रतिवद्धता ?

उद्‌घोष संवाददाता
३ फागुन २०८२, आइतवार

विराटनगर । कृषि आधुनिकीकरण, स्वास्थ्य पूर्वाधार विस्तार, रोजगारी श्रृजना र बाढी नियन्त्रणलाई मुख्य प्राथमिकतामा राख्दै नेकपा एमाले मोरङ क्षेत्र नं. ४ का उम्मेदवार जीवन घिमिरेले आफ्नो ३३ बुँदे चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् ।

मोरङमा एमालेका ६ उम्मेदवारमध्ये प्रतिबद्धता पत्र सार्वजनिक गर्ने घिमिरे पहिलो उम्मेदवार हुन् । उनले शुक्रबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतिबद्धता पत्र घोषणा गरेका हुन् । 

घिमिरेले कटहरी, ग्रामथान र बेलबारीलाई तरकारी पकेट क्षेत्र घोषणा गरी बजार व्यवस्थापन गर्ने, झोराहाटमा कोल्ड स्टोर स्थापना गर्ने तथा आवश्यक स्थानमा डीप बोरिङमार्फत सिँचाइको प्रबन्ध गर्ने योजना अघि सारेका छन् । आफ्नो निर्वाचन क्षेत्रको अधिकांश क्षेत्र कृषि पेशामा संलग्न रहेको भन्दै उनले किसानलाई समयमै बीउबिजन र मलखाद उपलब्ध गराउन आवश्यक पहल गर्ने प्रतिबद्धता समेत उल्लेख गरेका छन् ।

उनले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिंदै बेलबारी, ग्रामथान र कटहरीमा १०० बेडका अस्पताल स्थापना गर्न पहल गर्ने, प्रदेश र संघीय सरकारसँग समन्वय गरी कोशी कोभिड अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने योजना पनि अघि बढाएका छन् । साथै स्वास्थ्य बीमा सुविधालाई पुनः एक लाख कायम गराउन पहल गर्ने पनि घिमिरेले प्रतिबद्धता जनाएका छन् ।

युवालाई लक्षित गर्दै विराटनगरमा आईटी हब स्थापना, रोजगार बैंक अवधारणा कार्यान्वयन तथा श्रम बजारको आवश्यकता अनुसार प्राविधिक सीपमूलक तालिम सञ्चालन गरिने उनको प्रतिवद्धता पत्रमा समावेश छ ।

त्यस्तै बाढी र डुबान समस्या समाधानका लागि सिंघिया, लोहन्द्रा र चिसाङ खोलामा तटबन्ध निर्माण, डुबान क्षेत्रहरूमा बाढी निकासको उचित प्रबन्ध तथा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई समेत चुनावी प्राथमिकतामा उनले राखेका छन् ।

पूर्वाधारतर्फ अधुरो विराटनगर रिङरोड सम्पन्न गर्ने, विभिन्न ग्रामीण सडक कालोपत्रे गर्ने, झोलुङ्गे पुल निर्माण गर्ने तथा तमोर–चिसाङ डाइभर्सन परियोजना अघि बढाउने जस्ता केही ठुला योजना समेत उनले आफ्नो प्रतिवद्धतामा समावेश गरेका छन् ।

क्षेत्र नम्बर ४ को भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण, जनता आवास कार्यक्रममार्फत घर निर्माण र ज्येष्ठ नागरिक ग्राम निर्माणलाई अघि बढाउने प्रतिबद्धता पनि उनले गरेका छन् । 

यसैगरी पर्यटन प्रवद्र्धन, सामाजिक सुरक्षा सुदृढीकरण, स्वदेशी उद्योग–व्यवसाय प्रवद्र्धन, वैदेशिक लगानी भित्र्याउने तथा सामुदायिक र संस्थागत विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि नीतिगत पहल गर्ने विषय पनि प्रतिबद्धता पत्रमा समावेश छन् ।

उनले प्रदेश सरकारले समेत निर्माणमा सहयोग गरेको विराटनगर–१९ स्थित बैजनाथपुर क्रिकेट रंगशालालाई स्तरोन्नति गर्ने घोषणा गरेका छन् ।

२०७४ प्रदेशसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ४ (ख) बाट प्रदेश सांसद निर्वाचित भएपछि प्रदेश सरकारको संस्थापक सामाजिक विकास मन्त्री रहेर साढे तीन वर्ष काम गरेका घिमिरेले आफूले गरेका कामको फेहरिस्त समेत सुनाएका थिए । उनले आफू विकासप्रेमी नेताका रुपमा जनताको सेवा गरेको दाबी गरेका छन् ।

View : 151

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved