३८ औं विराट गोल्डकप सुरु
विराटनगर । ३८औं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको शनिबार भव्य उद्घाटन गरिएको छ । विराटनगरको सहिद मैदानमा प्रतियोगिताको उद्घाटनसँगै त्रिभुवन आर्मी क्लव र झापा–११ बीच खेल भएको छ ।
कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले प्रतियोगिताको उद्घाटन गरेका छन् । मन्त्री पराजुलीले विराट गोल्डकपले हरेक वर्ष नयाँ आयाम दिंदै आएको बताए । उनले गोल्डकपलाई सफल बनाउन सवैको सहयोग आवश्यक रहेको बताए ।
विगतमा सहिद मैदानको रंगशालामै साफ महिला च्याम्पियनसीप आयोजना भएको स्मरण गर्दै मन्त्री पराजुलीले आगामी दिनमा राष्ट्रियस्तरको ठूलो प्रतियोगिता आयोजना गर्न प्रदेश सरकारको तर्फबाट आफूले आवश्यक पहल गर्ने प्रतिवद्धता जनाए । ‘त्यसका लागि म प्रदेश सरकारबाट आगामी आर्थिक बर्षका लागि बजेट विनियोजनका लागि पहल गर्नेछु’ उनले भने ।
यसपटक विराट गोल्डकप ट्रष्ट आफैंले प्रतियोगिताको सवै तयारी गरेको हो । विराट गोल्डकप नेपालकै पुरानो र प्रतिष्ठित फुटबल प्रतियोगिताहरूमध्ये एक हो ।
२०१८ सालमा महेन्द्र गोल्डकपको नाममा सुरु भएको प्रतियोगिताले ६४ वर्षको इतिहास बोकिसकेको छ ।
यो प्रतियोगिताका लागि २०७४ सालमा सहिद रंगशालामा बा“सको टावर बनाएर फ्लडलाइट जडान गरी पहिलो रात्रिकालिन प्रतियोगिता गरेको इतिहास छ ।
त्यसपछि कोशी प्रदेश सरकार, विराटनगर महानगरपालिका लगायतको सहयोगमा स्थायी फ्लडलाइट जडान भएर लगातार रात्रिकालिन प्रतियोगिता हुने गरेको छ ।
ट्रष्टका अध्यक्ष शाहीले कठिन परिस्थितिका वावजुद प्रतियोगिताको सवै तयारी सन्तोषजनक रुपमा गरिएको र मौसमले समेत साथ दिएको बताए ।
उनले प्रतियोगिताको उद्घाटन भव्य रुपमा भैसकेकोले समापनसम्म अझ भव्य हुने बताए । उनले दर्शकको सहजताका लागि एक सय रुपैयाँ टिकट दरमा खेल हेर्न सकिने जानकारी दिए ।
प्रतियोगिताको उद्घाटनका क्रममा बेलुन उडाएर उल्लास मनाइएको थियो । त्यस्तै विराटनगरका वरिष्ठ गायक रामा मण्डलले आफ्ना चर्चित गीत गाएर उद्घाटन खेल हेर्न मैदान पुगेका दर्शकहरूलाई मनोरञ्जन गराएका थिए ।
यो सिजनको प्रतियोगितामा विभागीय तीन टोलीसहित सातवटा नेपालका फुटबल क्लव र अल झारखण्ड बिर्सा मुण्डा फुटबल एकेडेमी, भारतको आमन्त्रित क्लबसहित कुल ८ वटा टोली सहभागी छन् ।
विभागीय टोलीमा नेपाल पुलिस क्लब, नेपाल एपीएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लब छन् ।
यसका साथै मच्छिन्द्र फुटबल क्लब, चर्च ब्वाइज फुटबल क्लब, झापा–११ फुटबल क्लब र विराटनगरकै सम्राट स्पोर्टिङ क्लव खेल्दैछन् ।
विजेता टोलीले नगद ११ लाख रूपैयाँसहित विराट गोल्डकपको ट्रफी उचाल्ने छ । उपविजेताले ५ लाख रूपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई ५१ हजार, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही १५ हजार रूपैयाँ प्रदान गरिनेछ ।
प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई ११ हजार रूपैयाँसहित उत्कृष्ट खेलाडी पनि घोषित गरिनेछ ।
View : 200
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved