सुनसरी । उद्योग वाणिज्य संघ इटहरीको नेतृत्व पहिलो पटक महिलाको हातमा पुगेको छ । गायत्री कटवाल भण्डारी १५ मतको झिनो अन्तरले अध्यक्षमा निर्वाचित भएसँगै संघको १६ बर्षे इतिहासमा पुरुष नेतृत्वको निरन्तरता टुटेको हो ।
कुल २ हजार १ सय ८३ मतदातामध्ये १ हजार ५ सय ४३ मत खसेको निर्वाचनमा कटवालले ७ सय ५८ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिस्पर्धी नवराज काफ्लेले ७ सय ४३ मत पाए ।
दुई उम्मेदवारबीचको मतान्तर केवल १५ मतमा सीमित रहनुले अन्तिमसम्म प्रतिस्पर्धा कडा रहेको देखाएको छ ।
कटवालको विजयसँगै इटहरीको निजी क्षेत्रले महिला नेतृत्व स्वीकारेको सन्देश गएको छ । अध्यक्षमा कटवाल निर्वाचित भए पनि कार्यसमितिका अधिकांश खुला सदस्यमा भने काफ्ले समूहको वर्चस्व कायम रह्यो ।
सर्वाधिक ९ सय ८९ मतसहित जीवन न्यौपाने निर्वाचित भए भने सञ्जीव खड्का, बलराम बस्नेत, सिनेट रिजाल, सञ्जय शाह, बलबहादुर न्यौपाने, सन्नी चौधरी, दिनेशप्रसाद धमला र महेश थापासमेत काफ्ले समूहबाट विजयी भए ।
एसोसिएट सदस्यमा विनोद पौडेल र वस्तुगत सदस्यमा सञ्जोग पराजुली यसअघि नै सर्वसम्मत भइसकेका थिए । महिला सदस्यमा भने काफ्ले समूहकी मीना ढकाल र कटवाल समूहकी सुमित्रा भट्टराई निर्वाचित भए ।
कटवाल लामो समयदेखि व्यावसायिक संस्थामा सक्रिय छिन् । उनी उद्योग वाणिज्य संघ इटहरीकी पूर्व कोषाध्यक्ष तथा रेडिमेड व्यवसायी संघ इटहरीकी संस्थापक अध्यक्ष हुन् ।
निर्वाचन अभियानका क्रममा उनले संघमा पारदर्शिता, संस्थागत सुधार, व्यवसायीमैत्री सेवा र महिला नेतृत्वको सशक्त सहभागितालाई प्राथमिक एजेन्डा बनाएकी थिइन् ।
View : 57
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved