कोशीको बजेटमा मन्त्रीको मनपरी
विराटनगर । सदनमा बोल्दा ठट्यौलो शैलीमा कडा कुरा राख्ने नेताको छवि बनाएका कोशीका पूर्वमुख्यमन्त्री राजेन्द्र राई सोमबार बजेटबारेको छलफलमा सहभागी हुँदै थिए ।
सभामुख अम्बरबहादुर विष्टले समय दिएपछि रोष्ट्रममा पुगेका एकीकृत समाजवादीका नेता राईले सुरुमै सरकारलाई व्यंग्य गरे ।
‘आज म आकाशतिर हेरेर बोल्दैछु’, पूर्व मुख्यमन्त्री राईले कारण खोले ‘सरकारतिर, मुख्यमन्त्री र मन्त्रीलाई हेरेर बोलेर यहाँ केही हुँदैन । यो प्रमाणित भइसकेको कुरा हो । किनभने, यसपटक न्याय–अन्याय, नैतिकता, नीति नियम, लाजशरम, आचारसंहिता सबै भुलेर बजेट विनियोजन भएको छ । म यस्तै त हो नि ब्रो भने जसरी ल्याइएको यो बजेट इतिहासकै सर्वाधिक झुरेस्ट विनियोजन हो ।’
त्यसका लागि उनले आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रहरी भवन बनाउन छुट्याएको बजेटलाई उदाहरणका रुपमा प्रस्तुत गरे ।
‘यसपटक प्रदेश सरकारले प्रहरी भवन जम्मा १० वटा बनाउन भनेर बजेट छुट्याएको रहेछ ।
त्यसमध्ये ५ वटा भवन खोटाङमा र ४ वटा भवन झापामा बनाउने गरी बजेट विनियोजन भएको रहेछ’, राईले थप व्यंग्य गर्दै भने ‘मन्त्रीहरूले प्रहरी त्यहाँ मात्रै चाहिन्छ भन्ने कसरी सोच्नुभयो होला ? कि प्रहरी चाहिने मान्छे जति ती दुई जिल्लामा मात्रै छन् भन्न खोजेको ? विनियोजन हेर्दा त त्यस्तै देखिन्छ । तर, असल खराब मान्छे सबैतिर हुन्छन् ।
ती दुई जिल्लामा मात्रै प्रहरी चाहिन्छ जस्तो गरेर सरकारले जिल्लाबासीको अपमान गरेको छ ।’
पूर्वमुख्यमन्त्री राईले यसो भनिरहँदा मुख्यमन्त्री हिक्मतकुमार कार्की मुस्कुराइरहेका थिए । राईले निशाना साँध्न खोजेकै मुख्यमन्त्री कार्की र भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राईतिर थियो ।
मुख्यमन्त्री कार्की र मन्त्री राई यतिबेला आफ्नो क्षेत्र र जिल्लामा मात्रै बजेट खन्याएको भनेर आ–आफ्ना दलभित्रैबाट आलोचनाको केन्द्रमा परिरहेका छन् । विपक्षीहरूले गरिरहेको शब्दका वाण त उनीहरू लगातार झेलिरहेकै छन् ।
हुन पनि मुख्यमन्त्री कार्की र उनका मन्त्रीहरूले सकेसम्म आफ्नो क्षेत्र र जिल्लामा योजना र बजेटको बाढी लगाएको भन्दै सर्वत्र आलोचना भइरहेको छ ।
कोशी प्रदेशसभाको जारी अधिवेशनमा बजेटमाथिको छलफल चलिरहँदा विपक्षी मात्रै होइन, सत्तारुढ सांसदहरूले नै कोशीको बजेट मुख्यमन्त्री र मन्त्रीको क्षेत्रमा केन्द्रीत बनेको बताइरहेका छन् ।
मन्त्रीहरूले बजेटमा मनपरी गरिरहेको एउटा उदाहरण खोटाङमा एउटै मन्त्रालयबाट मात्रै भएको विनियोजनले प्रष्ट पार्छ ।
अहिलेको सरकारका भौतिक पूर्वाधार मन्त्रीसमेत रहेका कांग्रेस कोशीका महामन्त्री भूपेन्द्र राई र सामाजिक विकास मन्त्री पाँचकर्ण राई दुवै खोटाङका हुन् ।
यसपटक भौतिक पूर्वाधार मन्त्रालयबाट मात्रै खोटाङमा १५५ वटा योजनाका लागि १ अर्ब १४ करोडभन्दा बढी रकम विनियोजन भएको छ ।
आर्थिक वर्ष २०८२–८३ का लागि कोशी सरकारले कूल ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । त्यसमध्ये भौतिक पूर्वाधारमा १० अर्ब ५७ करोड ५१ लाख रुपैयाँ विनियोजन भएको छ ।
त्यही रकममध्ये झण्डै एक अर्बभन्दा बढी रकम खोटाङका लागि मात्रै छुट्याइएको हो । खोटाङका लागि निश्चित गरिएका १५५ आयोजना र १ अर्बभन्दा बढी रकम भौतिक पूर्वाधार मन्त्रालयबाट मात्रै हो ।
सामाजिक विकास, पर्यटन, खानेपानी तथा सिँचाइ, कृषि तथा उद्योग मन्त्रालयहरूबाट विनियोजन भएको योजना र रकम अलग्गै छ ।
खोटाङकै बासिन्दाहरू पनि यसपटक भूपेन्द्र राई र पाँचकर्ण राईले जिल्लामा प्रदेशबाट पर्याप्त बजेट भित्र्याएको बताइरहेका छन् । त्यसमध्ये पनि भूपेन्द्रले सबैभन्दा धेरै बजेट भित्र्याएको खोटाङमा चर्चाको विषय छ ।
यसअघि दिप्रुङ चुइचुम्मा गाउँपालिकाको अध्यक्ष भइसकेका भूपेन्द्र राई २०७९ मा खोटाङ प्रदेशसभाको क्षेत्र नम्बर २ बाट कांग्रेसबाट र यसअघि संविधानसभा सदस्य भइसकेका पा“चकर्ण राई एमालेबाट प्रदेश क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।
कांग्रेसमा कृष्णप्रसाद सिटौला समूहका भूपेन्द्र २०८४ मा संघीय चुनावको टिकट लिने दाउमा छन् । यसरी ८४ मा संघको टिकट लिने दाउमा रहेका उनले आफ्नो मन्त्रालयको बहुसंख्यक आयोजना आफ्नै जिल्लामा पारेका हुन् ।
कोशीमा १४ जिल्ला छन् । जसमा २८ वटा प्रतिनिधिसभा क्षेत्र र ५६ प्रदेशसभा क्षेत्र छन् । त्यसमध्ये सबैभन्दा धेरै बजेट मन्त्री राईले आफ्नो क्षेत्रमा पारेका छन् । यसैको सर्वत्र विरोध भइरहेको छ ।
सोमबारको प्रदेशसभा बैठकमा बोल्दै पूर्व मुख्यमन्त्री राजेन्द्र राईले यसरी आफ्नै क्षेत्रमा मात्रै बजेट खन्याउने मन्त्रीहरूको कदम संघीयताको मर्मविपरीत भएको बताएका थिए ।
‘संघीयताको अर्थ पहिचान हो, तल्लो तहको सशक्तिकरण हो । र, सबैभन्दा ठूलो कुरा क्षेत्रीय असन्तुलन हटाउने कुरा संघीयताको मुख्य लक्ष्य हो’, उनले भने ‘यसरी मन्त्रीहरूले आफ्नो जिल्ला र क्षेत्रमा मात्रै बजेट खन्याउँदा संघीयताको मर्म मरेको छ । पहिले जसरी स्रोतको अति केन्द्रीकरण हुन्थ्यो, अहिले पनि त्यस्तै भएको छ । यसले क्षेत्रीय असन्तुलन पैदा गर्छ । क्षेत्रीय असन्तुलन संघीयताको मर्मविपरीतको कुरा हो ।’ त्यसो त मन्त्री राईले जिल्लामा बजेट धेरै पारेको विषयमा कांग्रेसभित्रै पनि तीव्र विरोध र असन्तोषको अवस्था छ ।
View : 851
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved