Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

कोशीमा एमालेसँग सहकार्य तोड्न कांग्रेसमा तीव्र दबाब

‘कोशी प्रदेशकै बहुमत कांग्रेस सांसद प्रदेशमा एमालेसँग सत्ता सहकार्य तोडौं भन्ने पक्षमा रहेको देखिएको छ’ कांग्रेस कोशीका एक सांसदले भने ‘यो कुरा केन्द्रीय समितिको बैठकमा पनि प्रकट भएको छ । बैठकले महाधिवेशनबारे निर्णय लिनासाथ कोशी प्रदेशमा एमालेसँगको सहयात्रा अन्त्य हुनेछ ।’
उद्‌घोष संवाददाता
५ मंसिर २०८२, शुक्रवार

विराटनगर । केन्द्रमा फेरिएको प्राथमिकता, मधेस प्रदेशमा बढेको तिक्तता र दुई दलप्रति देशव्यापी रूपमा बढेको दबाबले नेपाली कांग्रेस र नेकपा एमालेबीच कोशी प्रदेशमा कायम सत्ता गठबन्धनलाई गम्भीर संसयमा पारेको छ ।

खासगरी अहिले पार्टीभित्र  सुधारको माग राखेर अभियानमा रहेको कांग्रेसको संस्थापन इतर पक्ष कोशीमा एमालेसित सत्ता सहकार्य तत्काल तोड्नु पर्ने पक्षमा उभिएको छ ।

भदौ २३ र २४ को जेनजी आन्दोलनपछि एमालेले उक्त विद्रोहलाई प्रतिक्रान्ति दाबी गर्दै आएको छ भने कांग्रेसले सो आन्दोलनको मर्मप्रति असहमति जनाएको छैन । 

बरू कांग्रेस कार्यकर्ताको बहुमत पङ्ती त्यही आन्दोलनको मर्म अनुसार पार्टी रूपान्तरण हुनुपर्ने बताइरहेको छ । 

जेनजी आन्दोलनमा ज्यान गुमाएका ७६ जनाको हत्याको जिम्मासमेत नलिने भन्ने तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइले उनको अहंकार देखाएको भन्दै कांग्रेस केन्द्रीय बैठकमै कुरा उठिसकेको छ ।

‘एमालेले मुलुकमा उत्तेजना मात्रै फैलाउने हो, संकट समाधान कांग्रेसले गर्ने हो’ भनेर महामन्त्री गगन थापाले बैठकमै बोलेका थिए । एमालेसँगको सत्ता सहयात्रा गलत भएको उनको ठहर थियो । 

अर्का महामन्त्री विश्वप्रकाश शर्मा, इतर पक्षका अर्का नेता डा शेखर कोइरालासहितका नेताहरू एमालेसँग सहकार्य प्रदेशमा कायम राख्न नहुने टुङ्गोमा पुगिसकेको नेताहरू बताउँछन् ।

‘कोशी प्रदेशकै बहुमत कांग्रेस सांसद प्रदेशमा एमालेसँग सत्ता सहकार्य तोडौं भन्ने पक्षमा रहेको देखिएको छ’ कांग्रेस कोशीका एक सांसदले भने ‘यो कुरा केन्द्रीय समितिको बैठकमा पनि प्रकट भएको छ । बैठकले महाधिवेशनबारे निर्णय लिनासाथ कोशी प्रदेशमा एमालेसँगको सहयात्रा अन्त्य हुनेछ ।’

कांग्रेस केन्द्रका एक पदाधिकारीका अनुसार पार्टी महाधिवेशनको विषयले बढी प्राथमिकता पाएकाले प्रदेशको सरकारबारे धेरै तयारी गर्न पाइएको छैन । 

‘महाधिवेशन अहिले मुल एजेन्डा भएकाले यस्तो भएको हो, यसबारे निर्णयमा पुग्नासाथ कोशीसहित प्रदेशहरूबारे निर्णय हुन्छ । कोशीमा एमालेसँग सहकार्य तोड्नुपर्छ भन्ने आवाज प्रदेशमा बलियो भएको अवस्था छ । अब एमालेसित सहकार्य लामो जाँदैन ।’

त्यसो त कांग्रेस कोशी संसदीय दलका नेता उद्धव थापा गएको भदौ २२ सम्म आफू मुख्यमन्त्री बन्ने मिति औंला भाँचेर गनिरहेका थिए । मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग जतिसुकै असहमति भए पनि उनी मुख्यमन्त्री कार्कीका सबैभन्दा ठूला सहयोगी थिए । 

कांग्रेस सांसदहरू थापा कांग्रेसका नेता हुन् कि एमालेका कार्यकर्ता भन्ने भेद नरहेको बताइरहेका थिए । यस्तो अवस्थाका बीच जेनजी आन्दोलन र त्यसपछि बढेको दुरीले कोशीमा कांग्रेस र एमालेलाई टाढा बनाउने सम्भावना बढाएको हो ।

कोशीको सत्तारूढ दल एमालेका नेताहरू प्रदेशमा कांग्रेस एमालेबीच समस्या नरहेको दाबी गर्छन् । 

‘यहाँ एकदमै सौहाद्र्ध अवस्था छ’, सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिलामन्त्री रेवतीरमण भण्डारी भन्छन् ‘सरकार गतिशील रूपमा चलिरहेको छ ।’

मुख्यमन्त्री कार्कीले पनि सार्वजनिक मञ्चहरूमा यस्तै आसयका अभिव्यक्ति बारम्बार दिइरहेका छन् । तर, कांग्रेस नेताहरूको भनाइ भने फरक छ ।

‘मुख्यमन्त्रीको कार्यशैलीसँग हामी पहिलेदेखि नै सन्तुष्ट थिएनौ, छैनौं ‘कांग्रेस कोशी संसदीय दलका एक पदाधिकारीले भने ‘अहिले जेनजी आन्दोलनपछि पनि उहाँको शैली फेरिएको छैन । आफूखुसी गर्ने, मुख्यमन्त्री बन्ने लोभमा रहेका हाम्रो दल नेता चुप लाग्ने अवस्था थियो, छ । तर, अब यो अवस्था लामो जाँदैन । महाधिवेशनको मुद्दा टुङोमा पुगेको केही दिनमै कोशीमा एमालेसँग सत्ता यात्रा टुङ्गिन्छ ।’

कांंग्रेस नेताहरूका अनुसार पछिल्ला साताहरूमा देखिएका गतिविधिले केन्द्रमा कांग्रेस र एमालेबीच बढेको राजनीतिक दूरी केवल त्यहाँमात्रै  सीमित छैन । त्यसको तानाबाना अब प्रदेशहरू—विशेषतः मधेश र कोशीसम्म फैलिने अवस्थामा पुगेको छ । मधेशमा उत्पन्न तिक्तता र केन्द्रमा फरक–फरक लाइनले कोशीमा सत्ता साझेदारी गरिरहेका दुवै दलबीच अविश्वास गहिरिएको छ ।

कांग्रेस र एमाले केन्द्रमा अनेकौँ विषयमा सहमति–असहमतिको उतारचढावमा छन् । विघटित प्रतिनिधिसभाको प्रसंगमा कांग्रेसले ‘चुनाव नै निर्णायक उपाय’ भन्ने अडान कडा बनाएको छ । 

पार्टी नेतृत्वलाई जनमतबाट पुनःपहिचान खोज्नुपर्ने दबाब देखिन्छ, जसले कांग्रेसलाई चुनावतिर अघि बढाएको छ । त्यस विपरित एमाले भने संसद पुनस्र्थापनाको पक्षमा उभिएको छ । 

संविधानको निरन्तरता र प्रक्रियागत शुद्धताको नाममा एमाले नेतृत्वले चुनावतिर अग्रसर बन्न नहुने तर्क अघि सारिरहेको छ । यी फरक प्राथमिकताले सत्ता साझेदार दुई ठूला दलबीच केन्द्रमै अविश्वासको अवस्था बनाएको छ ।

यही अविश्वासको तातो असर सबैभन्दा पहिले मधेशमा देखियो । एमाले  मधेशमा लामो समयदेखि संगठनात्मक रूपमा कमजोर मानिंदै आएको प्रदेश हो । यस्तै अवस्थामा प्रदेश प्रमुख गुमाएको एमालेले त्यसपछि सभामुख समेत जोगाउन नसक्दा दलभित्र निराशा बढेको छ ।

मधेशको राजनीतिक वातावरण  एमालेका लागि जति प्रतिकूल बन्दै गइरहेको छ, त्यति कांग्रेस र मधेशवादी दलहरूको सहकार्य मजबुत बन्ने अवस्था भएको छ ।

अहिलेसम्म कोशीमा प्रदेश सरकार गठनदेखि कार्यविभाजनसम्म कांग्रेस र एमाले मिलेर अघि बढिरहेका छन् । यति हुँदाहुँदै पनि केन्द्रमा बढेको दूरी र मधेशमा देखिएको कडाइले कोशीमा दुवै दलबीच ‘सहयात्रा कहिलेसम्म’ भन्ने प्रश्न जन्माएको नेताहरू बताउँछन् ।

मधेशमा भएको समीकरणको अवस्था यहाँ पनि दोहोरिन सक्छ भन्ने अनुमान एमालेभित्र बलियो भैसकेको र त्यसले मुख्यमन्त्रीलाई त्रसित पारेको कांग्रेस नेताहरू बताउँछन् ।’ 

ओलीलाई गलत भन्ने तर कोशीमा भने उनै ओलीका अनुयायी कार्कीलाई सत्तामा राखिरहने गल्ती लामो जान हुँदैन, जाँदैन’ कांग्रेस केन्द्रका एक उच्च नेताले भने, ‘अबको केही दिनमा महाधिवेशनबारे विवाद निरूपण हुन्छ । लगत्तै प्रदेशमा जारी एमालेसँगको सहकार्यबारे निर्णय हुनेछ ।’

ती नेताका अनुसार  संसद पुनस्र्थापनामा अडिएर केन्द्रीय राजनीतिक वातावरणलाई अस्थिर बनाउनतिर एमाले अग्रसर छ । 

‘यस्तो अवस्थामा कांग्रेस एमालेको साथमा लामो समय उभिन सक्दैन’ ती नेताले थपे ‘एमाले  प्रदेशमा अहिलेसम्म सहकर्मी हो तर केन्द्रमा अवरोधक । त्यसैले अब लामो नजाल ।’

कोशी प्रदेशसभामा एमालेको ४० सिट, कांग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, एकीकृत समाजवादीको ४ र जसपाको १ सिट छ ।

View : 339

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved