विराटनगर । नेकपा एमाले मोरङको १० औं अधिवेशन नजिकै आइरहेको थियो । संस्थापन पक्षका बहुसंख्यक नेताहरू जिल्ला अध्यक्ष सर्वसम्मत चयन गर्नुपर्ने भन्दै दौडधुपमा थिए ।
त्यही क्रममा प्रदेश इञ्चार्जसमेत रहेका पूर्वमुख्यमन्त्री शेरधन राई र संस्थापन इतर पक्षका नेता विनोद ढकालबीच केही चरणमा छलफल भएको थियो । एमाले नेताहरूले दिएको जानकारीअनुसार केन्द्रका अरु नेताहरू ढकालसँग कुरा गर्ने पक्षमा नभए पनि राई भने यो मामिलामा खुला नै देखिन्थे । त्यसैले ढकालले शेरधनसँग सम्वाद अघि बढाए । अनि, प्रस्ताव गरे ‘जिल्लामा सर्वसम्मत गरौं, पार्टीलाई बलियो बनाऔं ।’
‘ठीक छ गरौं, कसलाई गरौं त ?’, यो प्रश्न शेरधनले ढकाललाई सोधेका थिए । शेरधनले प्रश्न मात्रै सोधेनन्, तत्कालै एउटा प्रस्ताव पनि अगाडि सारे । त्यो प्रस्ताव के थियो भने, ‘दुवै जना काठमाडौं जाने, पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने, र ओलीले जसलाई मोरङको अध्यक्ष भन्छन् उसैलाई सर्वसम्मत मानेर जाने ।’
शेरधनको यो प्रस्तावमा भने ढकालले असहमति जनाए । पहिल्यै विभिन्न कुरा लगाएर ओलीको कान भरिसकेको भेउ पाइसकेका ढकालले शेरधनको यो प्रस्ताव स्वीकार्ने अवस्था नै थिएन । उनले सर्वसम्मतका लागि जिल्लामा अजम्बर राईबाहेक अरुको विकल्प नभएको प्रष्ट पारिदिए ।
ढकालसँग कुराकानी भएपछि शेरधन धेरैपटक काठमाडौं पुगे । महासचिव शंकर पोखरेल, भानुभक्त ढकालसहितका नेताहरूलाई उनले ढकालको सन्देश सुनाए । महासचिव पोखरेलले दिएको पहिलो प्रतिक्रिया नै बेग्लै थियो । ‘विनोद ढकालको हैसियत के हो र, मोरङको नेतृत्वबारे उनीसँग कुरा गर्नुपर्ने ? उनीसँग कुराकानी हुँदैन ।’
महासचिवले यति भनिसकेपछि शेरधनले ढकालको प्रस्ताव ओलीसम्म पुर्याउने खासै लन्ठा गरेनन् । त्यसो त महासचिव पोखरेलसँग ढकालले जरा अभियानका क्रममा विराटनगरमै भेटेर कुराकानी गरिसकेका थिए ।
त्यसक्रममा ढकालले मोरङको पार्टी यसरी नचल्ने गुनासो राख्दा शंकर पोखरेलले कुनै प्रतिक्रिया दिएका थिएनन् । त्यतिखेर पोखरेलले उनको कुरा सुनेजस्तो गरेर कुनै प्रतिक्रिया नदिई ढकाललाई नियोजित रुपमा वेवास्ता गरेका थिए ।
केन्द्रको सन्देश शेधरनबाट पाउने आशामा रहेका ढकालले केही दिन कुनै खबर पाएनन् । उनी आफै अध्यक्ष ओलीलाई भेट्ने तारतम्य मिलाउन जुटेका थिए ।
‘अध्यक्ष ओलीले उहाँलाई भेट दिनै चाहनु भएन’, संस्थापन पक्षकै एक नेताले दिएको जानकारीअनुसार ‘ओलीका स्वकीय सचिवले सुरुमा हुन्छ भनेका थिए, पछि फोनसमेत उठाउन छाडे ।’
यसरी अध्यक्ष र महासचिवले ‘हैसियतविहीन’ ठानेर निरन्तर उपेक्षा गरिरहेका उनै विनोद ढकालले मोरङ एमालेमा आफ्नो शक्ति प्रदर्शन गरिदिएका छन् । यसपटक एमाले मोरङको १० औं अधिवेशनको चुनावी होड रोचक बन्नुको एउटा मुख्य कारण थियो, जिल्लामा देखिएको ध्रुवीकरण ।
मोरङमा चुनावी प्रतिष्पर्धा हुँदा केन्द्रका बहुसंख्यक ‘हेभिवेट’ नेताहरू एकातिर अनि विनोद ढकाल नेतृत्वको समूह अर्कोतिरको अवस्था थियो ।
मञ्चमा गुटबन्दीको विरोध गर्ने ठूला नेताहरू नै गुटबन्दी गरेर चुनाव नगरी आफूले चाहेको व्यक्तिलाई नेतृत्वमा ल्याउने प्रयासमा लागेका थिए । सबै नेताका आ–आफ्ना स्वार्थका निकट व्यक्ति मोरङ नेतृत्वमा सारिएका थिए ।
अन्तिम समयमा भने अजम्बर राई नेतृत्वको प्यानललाई मोरङका नेता ढकालले साथ दिएका थिए भने राजकुमार ओझा नेतृत्वको प्यानललाई सिंगो पार्टी र ठूला नेताहरूको साथ थियो ।
यसरी प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र उनको समूहका सबै प्रभावशाली नेताहरूले समर्थन गरेको समूहलाई हराउँदै ढकाल समूहले मोरङ एमालेमा ठूलो जीत हात पारेको छ ।
अध्यक्ष अजम्बर राईसहित पाँचै जना पदाधिकारीहरूमा ढकाल पक्षले एकपक्षीय जीत निकाल्दा संस्थापन पक्षका उम्मेदवारहरू हार खेप्न बाध्य भएका छन् । सदस्यहरूमा पनि ढकाल पक्षकै धेरैले जितेका छन् ।
मोरङमा ढकाल समूहले हात पारेको जीतलाई कार्यकर्ताहरूले विद्रोहको जीत र नेतृत्वको गालामा झापड भनेका छन् । निर्वाचन परिणाम आएपछि एमाले कार्यकर्ता अमिस बरालले फेसबुकमा लेखेका छन्, ‘विद्रोह स्वभिमानीले गर्ने क्रान्ति हो सबैमा यो क्षमता कहाँ हुन्छ र ? आजको मत परिणामले नेतृत्वको गालामा राम्रो झापड हानेको छ । तिनको पजनी गरेमात्र पद पाइन्छ भन्ने कुरा अब स्विकार्य छैन भन्ने देखियो ।’
बुधबार भएको निर्वाचनको मतगणनाको अन्तिम परिणाम शनिबार सार्वजनिक भएको थियो ।
पदाधिकारीहरूको मतगणनाको परिणाम शुक्रबार साँझ सार्वजनिक भएको थियो । अध्यक्षमा निर्वाचित राईले ४४६ मत पाउँदै जित हासिल गरेका थिए । उनले संस्थापन पक्षका राजकुमार ओझालाई पराजित गरेका हुन् । ओझाले ४०७ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा ढकाल पक्षकै सागर थापा निर्वाचित भएका छन् । सागरले ४२२ मत पाउ“दा संस्थापन समूहकी शान्ति लिम्बूले ३९१ मत पाएकी छन् । सचिवमा ढकाल पक्षकै सोमराज थापा विजयी भए । उनले ४६२ मत पाउँदा संस्थापनका रविन थापाले ३६८ मत पाएका छन् । दुई उपसचिव पनि ढकाल पक्षकै उम्मेदवारको जीत भएको छ ।
सन्तोष वान्तवा र उषा झा उपसचिवमा निर्वाचित हुँदा उनीहरूले क्रमशः ४९० र ४१८ मत प्राप्त गरेका छन् । संस्थापनका इर्जालाल राजवंशीले ३११ र शिल्पा निराला कार्कीले ४०५ मत पाएका थिए ।
अध्यक्ष केपी शर्मा ओली र उनका समूहका सबैजसो नेता र विनोद ढकाल समूहबीचको प्रतिस्पर्धामा परिणत भएको निर्वाचनले मोरङ एमालेमा ढकाललाई फेरि शक्तिमा फर्काएको मात्रै छैन, संस्थापन पक्षसँग मोरङ एमालेमा ठूलो आक्रोश रहेको पनि देखाएको छ । ‘मोरङको पार्टीलाई केही व्यक्तिले प्राइभेट कम्पनी जस्तो बनाएका थिए, कार्यकर्ताहरूले अहिले देखाइदिए’, निर्वाचन परिणामबारे एमाले मोरङका धेरै कार्यकर्ताको टिप्पणी एकै छ ‘नयाँ नेतृत्वका लागि पनि यो शिक्षा बन्नुपर्छ ।’
कुनै बेला ओलीका विश्वास पात्र मानिने विनोद ढकाल पार्र्टी संगठनमा माधव नेपालको जगजगी हुँदा पूर्वमा ओली पक्षका एक मात्रै स्तम्भजस्तो मानिन्थे । मोरङ एमालेभित्र शक्तिशाली मानिने उनलाई विगतमा आपराधिक समूहका सदस्यलाई संरक्षण दिएको आरोप लागिरह्यो । समयक्रममा उनै ढकाल ओली र उनको टिमका नेताहरूबाट टाढिए ।
विगतमा उनीसँग निकट मानिएकाहरू पनि टाढिदै गए । मोरङ अधिवेशनसम्म आइपुग्दा ढकाल र उनको समूह मोरङमा पार्टी र राज्यसत्तामा प्रभाव जमाइरहेका नेताहरूसँग एक्लै भिड्ने अवस्थामा आइपुगे । अन्ततः ढकाल पक्षले चाहे जस्तै नतिजा मोरङका कार्यकर्ताले दिएका छन् ।
संस्थापन समूहबाट ढकाल समूहको एक्लिने क्रमको सुरूआत २०८० असोजमा भएको प्रदेश अधिवेशनबाट भएको थियो । त्यसबेला ढकाल केन्द्रीय सदस्य थिए । तर उनले प्रदेश अध्यक्ष दाबी गरे । ओली टिममा रहेका कोशीका नेताहरू गुरू बराल, शेरधन राई, भानुभक्त ढकाल, हिक्मत कार्की, जीवन घिमिरे लगायतले घनश्याम खतिवडालाई अघि सारिसकेका थिए ।
२०७४ सालमा शेरधन राई मुख्यमन्त्री बनेपछि एकै टिममा भएर पनि ढकालको राई र कार्कीहरूसँग सम्बन्ध चिसिन पुगेको थियो । सोही कारण नेताहरूले कुनै बेला माधव नेपाल निकट रहेका खतिवडालाई च्यापेका थिए ।
आफ्नो टिमका नेताहरूले साथ दिएका खतिवडालाई अध्यक्ष ओलीले पनि समर्थन गरे । प्रदेशमा ढकाल हारे, खतिवडाले जिते । त्यही बेलादेखि ओली र उनको टिमसँग एक्लै भिडिरहेका ढकाल जिल्ला अधिवेशनमा आइपुग्दा पनि भिड्ने योजनासहित अलग टिम लिएर मैदानमा थिए ।
एमाले उपाध्यक्ष गुरू बराल, प्रदेश इञ्चार्ज शेरधन राई, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, मुख्यमन्त्री हिक्मत कार्की, जिल्ला इञ्चार्ज जीवन घिमिरे, सांसद् ऋषिकेश पोखरेल लगायतका नेताहरू प्रष्टतः राजुकमार ओझाको पक्षमा उभिएका थिए ।
पार्टी अध्यक्ष ओलीले राजकुमार ओझालाई अध्यक्ष बनाउन भन्नुभएको छ भन्दै कार्यकर्ता फकाउने क्रममा उनीहरूले जिल्लामा प्रतिनिधि बनेर आएकाहरूलाई विभिन्न पदको आश्वासन दिएका थिए ।
प्रदेश अधिवेशनको मुखैमा मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद विस्तार गरेर ढकाल पक्षमा जान लागेकाहरूलाई रोके जस्तै गरी जिल्लामा पनि संस्थापन पक्षले कसैलाई वडाध्यक्ष, कसैलाई मेयर पद बाँडेको आरोप ढकाल पक्षले लगाउँदै आएको छ ।
कोशीका प्रभावशाली नेताहरूले यसो गरिरहेका बेला अधिवेशन उद्घाटनका क्रममा केन्द्रबाट आएका नेताहरूले पनि ओझाका पक्षमा लविइङ गरेका थिए ।
उद्घाटन कार्यक्रममा अध्यक्ष ओलीको सन्देश भन्दै उपाध्यक्ष रामबहादुर थापा बादलले उद्घाटन सत्रमा ‘गुटबन्दी सह्य नहुने’ चेतावनी दिंदै चुनावी प्रतिष्पर्धा नगर्न र सहमतिमा नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । त्यसअघि नै कोशीका नेताहरूसँगको छलफलमा बादलले ओझालाई सहमतिमा अध्यक्ष बनाउन भनेका थिए । नेताहरूले आफूहरू त्यही प्रयासमा रहेको बताएका थिए ।
यद्यपि ढकाल पक्षले ओझालाई अध्यक्ष मान्न इन्कार गरेपछि सहमतिमा नेतृत्व चयन गर्ने सम्भावना टर्यो । चुनावी प्रतिष्पर्धा निश्चित भयो । तैपनि चुनाव समयमा भएन ।
संस्थापन पक्षले कार्यकर्ता फकाउन समयमा निर्वाचन नगरेको आरोप ढकाल पक्षले लगायो । मनोनित प्रतिनिधिको विवाद कायमै राखेर निर्वाचन भएको एमालेमा अन्ततः ढकाल पक्षलाई कार्यकर्ताहरूले जिताइदिए ।
‘सरकार र पार्टी सत्ताको शक्तिको आडमा कार्यकर्तामाथि आफ्नो निर्णय लाद्ने योजनामा नेताहरू फेल भएका छन्’, एमाले कार्यकर्ता सन्तोष घिमिरेले भने ‘मोरङका कार्यकर्ताहरूले आफ्नो शक्तिको परिचय दिएका छन् । कार्यकर्ताको यो निर्देशन सबैले पालना गरेर पार्टी बलियो बनाउन लाग्नुको विकल्प छैन ।’
View : 989
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved