विराटनगर । लगानी खोज्ने र लगानी गर्न चाहनेबीच व्यवसायिक सम्बन्ध स्थापित गर्न विराटनगरमा ‘एन्जल इन्भेष्टर्स नेटवर्क (वेन)’ नामक नेटवर्क स्थापना गरिएको छ ।
उद्योग संगठन मोरङको नेतृत्वमा सम्भावित लगानीकर्ताहरू र लगानीको आवश्यकता खोजिरहेका नवप्रवद्र्धक उद्यमीबीच समन्वय गर्न भन्दै यस्तो नेटवर्क स्थापना गरिएको हो ।
नेटवर्कको औपचारिक शुभारम्भ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले गरेका छन् ।
नवप्रवर्तनमा आधारित उद्यम व्यवसायमा लगानी साझेदार गर्ने मुख्य उद्देश्यले ‘आइडिया टु इम्प्याक्ट’ भन्ने नाराका साथ विराटनगरमा नेटवर्क कम्पनी स्थापना भएको जनाइएको छ ।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले भर्खरै लगानी सम्मेलन आयोजना गरी लगानीकर्ताहरूलाई आह्वान गरिरहेको पृष्ठभूमिमा लगानीसम्बन्धी नै कम्पनी स्थापना हुनु राम्रो काम भएको बताए । उनले कोशी प्रदेश लगानीका लागि प्रचूर सम्भावनाको क्षेत्र भएको पुनः पुष्टि भएको बताए ।
नवप्रवर्तनमा स्टार्टअप उद्यमीहरूलाई खोजी गर्ने, लगानीका लागि योग्य बनाउने र लगानीकर्तामाझ प्रस्तुत गर्नेसम्मको विस्तृत प्रक्रियामा संगठनको स्टार्टअप एण्ड इन्क्यूवेशन कार्यक्रमलाई कोशी प्रदेश सरकारले समेत अपनत्व ग्रहण गर्दै सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उक्त अवसरमा विभिन्न नौवटा स्टार्टअप कम्पनीहरूले आफ्नो परियोजनाबारे प्रस्तुतिकरण गरेका थिए । ती परियोजनासँग समेत प्रदेश सरकारले आवश्यक सहकार्य गर्ने मुख्यमन्त्री कार्कीले बताए ।
संगठनका अध्यक्ष नन्दकिशोर राठीले पाँच वर्षदेखि स्टार्टअपसँग काम गर्दा सबैभन्दा ठूलो चुनौती वित्तीय स्रोतको अभाव रहेको पाइएको बताए ।
नेटवर्कले प्रदेशमा लगानीयोग्य परियोजनाहरू छनोट गरी लगानीकर्ता समक्ष प्रस्तुत गर्नुका साथै लगानीको खोजीमा रहेका स्टार्टअपहरूलाई लगानीका अवसर प्रदान गरी वित्तीय पहुँचको अवसर प्रदान गर्ने बताए ।
संगठनका पूर्व अध्यक्ष एवं वेनका संयोजक सुयश प्याकुरेलले पाँच वर्षअघि उद्योग संगठनमा स्टार्टअप कार्यक्रम प्रारम्भ गर्दा यसको भविष्यप्रति चिन्ता भएको स्मरण गर्दै अहिले उक्त कार्यक्रममा सहयोगी हातहरू बढ्दै गएको बताए । उनले छोटो समयमै एक सय स्टार्टअप आइडिया सफलतापूर्वक ‘इन्क्युवेट’ भएको बताए ।
प्याकुरेलले केही लगानीकर्ताहरू मिलेर पहिलो चरणमा दुई करोड रुपैयाँ बराबरको लगानीको पुल बनाएको जानकारी दिंदै इच्छुक लगानीकर्ताहरूलाई वेनमा आवद्ध हुन आह्वान गरे ।
उक्त अवसरमा ट्रयाकअन नेपाल, साइवर अलर्ट नेपाल, सिसा, सोल्भी, आरा टेक्नोलोजी, कुखुरी काँ, आरती फ्लावर, अपेक्स वायोटेक एण्ड एग्रोफोरेष्ट्री रिसर्च सेन्टर प्रालि र सुसन बिष्ट इन्स्टिच्यूट अफ फ्लाइट एण्ड ड्रोन गरी नौवटा स्टार्टअपले आ–आफनो स्टार्टअपको प्रस्तुतिकरण गरेका थिए ।
यी स्टार्टअपका लागि एन्जल इन्भेष्टर्सहरूमा महेश जाजू, सुयश प्याकुरेल, राकेश सुराना, भोलेश्वर दुलाल, सुरेन्द्र गोल्छा, प्रत्युष राउत, सुजित झा, किरण ब्यास रहेका थिए ।
पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. विजु थपलियाले विश्वविद्यालयले यस कार्यक्रमलाई थप प्रोत्साहन गर्न विश्वविद्यालय सहकार्य गर्न तयार रहेको बताए । उनले नवउद्यमीको विकास गर्नु विश्वविद्यालयको समेत जिम्मेवारी भएको बताए ।
स्विस कन्ट्याक्ट एवं सहज परियोजनाका म्यानेजर ब्रजेश मल्लले नवप्रवर्तनको संस्कृति निर्माण गर्ने अभियानमा सदैव सहयोग रहने बताए । उनले युवालाई प्रदेशमै अवसर प्रदान गर्न यस प्रकारको कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
लगानी साझेदारको प्रतिवद्धता र लगानीकर्ताहरूको रुचि रहेको परियोजनामा प्रतिवद्धता व्यक्त गर्ने लगानीकर्ताहरूका लागि एन्जल इन्भेष्टर्स कम्पनीमार्फत सम्बन्धित स्टार्टअप उद्यमीहरूको विस्तृत अध्ययन सम्झौता गरेर लगानीको प्रक्रिया अगाडि बढाइने संगठनका उद्यमशीलता तथा स्टार्टअप कार्यक्रमका संयोजक प्रतिक राउतले बताए ।
संगठनले स्टार्टअप उद्यमशीलता प्रवद्र्धनका लागि दीगो प्रणाली निर्माण र सुदृढिकरण गर्ने उद्देश्यले स्टार्टअप एण्ड इनोभेशन कार्यक्रम सञ्चालन गर्दै आएको जनाइएको छ ।
View : 372
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved