Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

दशैंको मुखमा घर छाड्न ग्रामथानका अध्यक्षको चेतावनी, स्थानीय आन्दोलित बनेपछि निर्णय फिर्ता

उद्‌घोष संवाददाता
१२ असोज २०८२, आइतवार

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले सार्वजनिक जग्गा अतिक्रमण गरेर बसेको निहुँमा चाडपर्वको मुखमा स्थानीयलाई घर छाड्न चेतावनी दिएपछि स्थानीय आन्दोलित बनेका छन् । 

शुक्रबार दिनभर गाउँपालिकाको कार्यालय अगाडि चर्किएको आन्दोलनका कारण अध्यक्ष माझी कार्यालयभित्रै थुनिएपछि अन्तिममा उनी आफ्नो निर्णय फिर्ता लिन बाध्य भएका छन् ।

अध्यक्ष माझीले गत बुधबार ‘घरटहरा हटाउने अत्यन्त जरुरी सूचना’ भन्दै एउटा सूचना आफैंले हस्ताक्षर गरेर निकाले । उक्त सूचनामा गाउँसभाको निर्णयानुसार भन्दै माझीले गाउँपालिका क्षेत्रभित्र सार्वजनिक जग्गा अतिक्रमण गरी घरटहरा वा सवै संरचना हटाउन सुचित गर्ने निर्णय भएको उल्लेख गरे । 

उक्त सूचना अनुसार घरटहरा नहटेको भन्दै निर्णय कार्यान्वयनका लागि भनेर उनले बुधबार पुनः १५ दिनभित्र घरटहरा हटाउन र नहटाई अटेर गरेको खण्डमा प्रचलित कानून बमोजिम भई जाने भन्दै दशैंको मुखमा उनले गाउँवासीलाई आतंकित पारेका थिए । 

उनले गाउँपालिकाको कार्यालय अगाडि र विराटचोक–घिनाघाट सडक खण्डको पूर्व पश्चिममा सार्वजनिक जग्गा अतिक्रमण गरी बसेको सरोकारवाला तथा व्यक्तिहरूलाई घरटहरा हटाउन भनेका थिए ।

निर्वाचित भएयता अनेकौं विवादित काममा मुछिएका अध्यक्ष माझीले बर्षौंदेखि बसोबास गरिरहेका सुकुम्बासी परिवारलाई अर्को स्थानमा बस्ने कुनै योजना नै नबनाई घर छाडिहाल्न दवाव दिएका हुन् ।

उक्त कदमविरुद्ध सडकमा उत्रिएका सयौं स्थानीयले गाउँपालिका अगाडि अध्यक्ष माझीविरुद्ध नाराबाजी गर्दै टायर बालेर विरोध जनाए । उनीहरूले अहिलेसम्म गाउँसभा समेत गर्न नसकेका अध्यक्ष माझीले जथाभावी रुपमा निर्णय गरेर दशैंको मुखमा स्थानीयको उठिबास लगाउन खोजेको बताए । 

जग्गा खाली गर्ने सूचनापछि गाउँपालिकामा छलफलका लागि गएका स्थानीयलाई अध्यक्ष माझीले प्रहरी लगाएर पक्राउ गर्ने र थुन्ने भन्दै धम्की दिएपछि स्थानीय आन्दोलन बनेका हुन् ।

‘प्रहरी चौकी चैं नम्बरीमा बनाउन सकिंदैन, यही ऐलानीमा प्रहरी राख्ने अनि हामी जनतालाई चैं आजै छाडिहाल भन्ने यस्तो अध्यक्ष हामीलाई चाहिंदैन’ पीडित मीना विश्वकर्माले भनिन्– ‘हामी जनता भागेर कहाँ जाने ?, हामी जाउँला पनि तर हामीलाई बस्ने ठाउँ दिनुपर्यो नि, तर अध्यक्षले हामीलाई जतिखेर पनि तनाव दिन्छन्, अब हामी हट्ने होइन, अध्यक्षले चैं हट्नुपर्छ ।’

अध्यक्ष माझीले स्थानीय जनतालाई टर्चर दिने गरेको अर्का पीडितले बताए । अभिभावक भएर जनताका समस्या समाधान गर्नुको साटो उल्टै छलफलमा जाँदा धाकधम्की दिने गरेको उनले बताए ।

हामीले बिहीबारदेखि अध्यक्षलाई भेट्न भनेर गाउँपालिकामा धायौं तर समय नै दिनुभएन, आज (शुक्रबार) भेट्दा हामीलाई हप्काउनु भयो, केको भेट्नु भन्दै झर्केर बोल्नुभयो’ स्थानीय राजकुमार विश्वासले भने, ‘यस्तो नोकरशाही शासकजस्तो उहाँ कसरी हुनुभयो ?, हामी पनि उहाँभन्दा पढेलेखेको मान्छे छौं होला, आज यस्तै शासक भएपछि जेनजीले आन्दोलन गर्नु परेको हो । यति कुरा पनि उहाँले बुझ्ने अवस्था छैन । हामी जनतासँग अमर्यादित रुपमा व्यवहार भयो ।’

आक्रोसित स्थानीयले प्रतिनिधि सभाका निवर्तमान सांसद एवं माओवादी नेता अमनलाल मोदीको निर्देशनमा अध्यक्ष माझीले गाउँपालिकालाई अनेकौं विवादमा पुर्याएको आरोप लगाए । उनीहरूले गरिब दुखीलाई अप्ठेरो पर्ने गरी एकल रुपमा निर्णय गरेर हटाउन खोजेको भन्दै अध्यक्ष माझीको राजिनामा माग गरेका थिए ।

अध्यक्ष माझीले स्थानीयको समस्या सुन्नुको साटो गालीगलौच गरेका थिए । 

त्यसको विरोधमा झन आक्रोसित बनेका स्थानीयले गाउँपालिकाको गेट भत्काएर भित्र पस्न खोजेपछि अध्यक्ष माझीले बाध्य भएर निर्णय फिर्ता लिएका थिए । 

माझीले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनपछि सर्वपक्षीय सरोकारवालासँग छलफल र वार्ता गरी निकास खोज्ने बताए ।

View : 615

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved